इलाम । भारतसंग जोड्ने छब्बिसे–छिरुवा सडककाे छब्बिसे–मेचीबजार खण्ड कालोपत्रे कार्य सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना झापा अन्र्तगत ८ सय ७८ मिटर सडक कालोपत्रे सुरु भएको हो । सिएम/कृष्णलक्ष्मी/स्लेट जेभी काठमाण्डौले २ करोड ७८ लाख ५९ हजार ८८२ रुपैयामा सडकको कालोपत्रे काम सुरु गरेको हो ।

सो सडक आगामी १ बर्षभित्रमा सम्पन्न गर्ने गरी २०७६ साल असोज १२ गते ठेक्का सम्झौता गरिएको थियो । लकडाउनका कारण समयमा काम सम्पन्न गर्न नसकेपछि आगामी १ हप्ता भित्रमा काम सम्पन्न गर्ने लक्ष्य राखेको निर्माण व्यवसायीको भनाई छ ।

सडक खण्डमा ८ सय ७८ मिटर मध्ये २ सय ६४ मिटर आरसीसी पेभमेन्ट र अन्य संरचनाको काम यसअघि नै सम्पन्न भइसकेको छ । उक्त सडक निर्माण सम्पन्न भएपछि भारत लगायत तेश्रो मुलुकका पर्यटकहरुलाई सिमा नाका हुँदै नेपाल प्रवेशमा सहज हुने अपेक्षा राखिएको छ ।
