इलाम । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) का लागि सहभागि भएका ५ जना इलामेली फुटबलर मध्ये ४ जना मात्र खेलमा देखा पर्नेछन् । आज भएको अक्सनमा क्याटागोरी ए मा रहदै सहभागी भएका छिरिङ गुरुङलाई कुनै पनि टोलीले अक्सन मार्फत खरिद गरेनन् । राष्ट्रिय टोलीको क्लोज क्याम्पमा रहेको आधारमा उनलाई ए क्याटागोरीमा राखेर अक्सनमा सहभागि गराइएको थियो ।
विभागीय टोली त्रिभुवन आर्मीबाट व्यवसायिक फुटबल खेल्दै आएका देउमाई नगरपालिकाका नवयुग श्रेष्ठलाई पोखरा थन्र्डसले मार्की प्लेयरको रुपमा अक्सन अघि नै अनुबन्ध गरिसकेको थियो । अक्सनबाट इलाम नगरपालिकाका मनिष थापा र विवेक बस्नेत तथा सन्दकपुर गाउँपालिकाका दर्शन गुरुङ फ्रेन्चाईज लिगमा विक्री भए । ए क्याटागाेरीमा रहेका दर्शनलाई धनगढीले १ लाख रुपैयामा अनुबन्ध गरेकाे छ । दर्शन गत बर्ष सम्पन्न शहिद स्मारक लिगमा न्यरोड टिमबाट खेल्दै उदियमान खेलाडी समेत घोषित भएका थिए । सी क्याटागोरीमा रहेका यु–१९ राष्ट्रिय टोलीका मनिषलाई एफसी चितवनले ७५ हजारमा खरिद गरेको छ ।
उनका लागि विराटनगर र पोखराले समेत बोली लगाएका थिए । एक भन्दा बढी क्लबले एउटा खेलाडीका लागि अधिकत्तम बोली लगाएको खण्डमा गोलाप्रथाका आधारमा टोलीले खेलाडी प्राप्त गर्ने प्रावधान अनुसार चितवनले मनिषलाई टिममा भित्र्याउन सफल रहयो । उनले गत बर्षको शहिद स्मारक लिगमा सरस्वती क्लबबाट उत्कृष्ट प्रर्दशन गरेका थिए ।
विभागीय टोली आर्मीबाट नै व्यवसायीक फुटबल खेल्दै आएका विवेक बस्नेत धनगढी एफसीमा १ लाख २० हजारमा अनुबन्धन भए । क्याटागोरी बी मा रहेका विवेकका लागि पोखरा र बुटबलले समेत बोली लगाएका थिए । लक्की ड्र मार्फत धनगढीले उनलाई आफ्नो टिममा भित्र्यायो । आगामी बैशाख ११ गतेबाट संचालन हुने नेपाल सुपर लिगमा अक्सन मार्फत एउटा टोलीले ए श्रेणीका ३ तथा बी र सीबाट ११ जना खेलाडी खरिद गर्न सक्नेछन् ।
*दर्शन भर्खरै मात्र धनगढीमा अनुबन्धन भएकाले सच्याइएकाे छ