इलाम । इलाममा सूर्योदयको दृश्य देखिने ठाउँ धेरै छन् । अधिकांश अग्ला डाँडाबाट सूर्योदय देखिन्छ । तर सन्दकपुर मात्र यस्तो ठाउँ हो जहाँबाट सूर्योदय र सूर्यास्त मात्र होइन ३ देशका हिमाल १ सय ८० डिग्रीको सोझो सतहमा देखिन्छ । पाँचथर, इलाम र भारतको पश्चिम बङ्गाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुरबाट नेपाल, भारत र भुटानका गरी ५ हजार मिटरमाथीका ६० भन्दा बढी हिमचुचुरा नाङ्गो आँखाले देख्न सकिन्छ ।

भारतको सिंहलीला नेसनल पार्कसँग जोडिएको सन्दकपुरबाट दोश्रो अग्लो पाकिस्तानको माउन्ट केटु (अष्टिन गड्विन) बाहेक विश्वका ५ उच्च हिमाल मध्ये ४ वटा सहजै देख्न सकिन्छ । पश्चिम उत्तरतिर ल्होत्से, मकालु, कुम्भकर्ण, सगरमाथा हिमाल नजिकै देखिन्छन् ।

सन्दकपुरबाट उत्तरतिर फर्किंदा सिक्किमका पाहुन्द्री, सिनोल्चु, लाथोङ र जोङसङ हिमाल झन् नजिक लाग्छन् । पूर्व हेर्दा भुटानका कुलाकाङ्ग्री र जोमलरीसहित एक दर्जन हिमचुचुरा देखिन्छन् । मौसम खुलेका बेला सगरमाथादेखि कुलाकाङ्ग्री सम्मका हिमचुचुरा एउटै रेञ्जमा देख्न पाउँदा सन्दकपुर आउने पर्यटक रमाउँछन् ।

विहानीको झिस्मिसेको पहिलो घामको किरण सेताम्मे हिमालमा पाइला राख्दा देखिने सुनौलो दृश्य आहा ! वर्णन गरिसाध्य छैन् । एकै ठाउँबाट ४ देशका हिमाल देखिने सन्दकपुर एक मात्र अनुपम गन्तव्य हो । हिमाली दृश्यसंगै भौगोलिक विविधता चिहाउन चाहनेहरुको लागि पुर्वी नेपालको उत्तम गन्तव्य सन्दकपुर हो भन्नेमा दुई मत नहोला ।
