झापा । रोलिङ क्लब धुलाबारीको आयोजनामा यही चैत ७ देखि १४ गतेसम्म चौँथो प्रदेश स्तरीय रोलिङ च्यालेन्ज नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।आयोजकले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर खेलको बारेमा जानकारी गराएको हो । क्लबका अध्यक्ष नोवेम्बर विक्रम नेम्वाङले खेलप्रेमीहरुको प्रोत्साहनका लागि यस किसिमको प्रतियोगिता आयोजना गरिएको बताए ।
झापा, मोरङ, सुनसरी र इलामका ८ वटा टिमले खेलमा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । खेलमा विजेता टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख नगदसहित ट्रफि प्रदान गरिने नेम्वाङले बताए । खेल सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताउँदै उनले सवैसँग सहयोगको समेत अपेक्षा गरेका छन् ।
खेलको मुख्य प्रायोजक मेचीनगर-१० नम्बर वडा कार्यालय रहेको आयोजकले जनाएको छ भने प्रायोजकले प्रथम र दोस्रो पुरस्कारको राशि उपलब्ध गराउने भएको छ ।कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले मेचीनगरमा खेल क्षेत्रमा लामो इतिहास बोकेको धुलाबारी रोलिङ क्ल्बलाई क्रियाशील बनाएर युवा नेतृत्वले खेल प्रेमीहरुलाई उत्साह थपेको बताए ।
‘मेचीनगरका खेलप्रेमीहरुको लागि कुनै समय राम्रो प्लेट फर्मको रुपमा स्थापित रोलिङ क्लब केही वर्ष यता सुतेको अवस्थामा थियो’, उनले भने, ‘तर अव नया युवा साथीहरु लाग्नु भएको छ । यसले प्रदेशका सम्पूर्ण खेलाडीहरुको लागि प्लेटफर्म बन्नेछ ।’
कार्यक्रमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेले मेचीनगर खेलप्रेमीहरुको लागि हवको रुपमा विकास हुँदै गएको बताए । उनले स्वास्थ्यका लागि पनि पछिल्लो समय फुटबलप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताए । १० नम्बर वडाका वडाध्यक्ष सुदय पनेरुले मेचीनगरको पुरानो इतिहास बोकेको रोलिङ फुटबल क्लबलाई आगामी दिनमा सकृय बनाउँदै लगिने बताए ।
क्लबका सचिव महेश खड्काका अनुसार प्रतियोगितामा आयोजक रोलिङ क्लब, एपिएफ झुम्का, रेडहर्स एफसी इलाम, न्यू स्टार एफसी सुनसरी, चारआली–धाइजन एफसी मेचीनगर, पथरी एफसी मोरङ, कर्णसिंह सोनाम एफसी ताप्लेजुङ र शिवसताक्षी एफसी झापाको टोलीले सहभागिता जनाउनेछन् । खेल धुलाबारी माविको खेल मैदानमा हुनेछ ।