माई । प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको उपाधि माई –४ र ७ ले हात पारेकाे छ। युवा संघ नेपाल माई नगर कमिटीको आयोजनामा खेलाडी छनौटको उद्देश्य सहित माई–४ को शुक्रबारे खेल मैदानमा शनिबार सम्पन्न पुरुष फुटवल खेलमा वडा नम्बर–४ ले वडा नम्बर–९ लाई टाईब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै उपाधि चुमेकाे हाे ।
उपाधिसंगै टिमले नगद ५० हजार प्राप्त गर्याे । उपविजेताले ३० हजार प्राप्त गर्न सफल रहयाे । निर्धारित समयमा दुवै टाेलीबाट २-२ गाेल भएकाे थियाे । माई–४ का हरी मगर र बिशाल खवासले गोल गरेका थिए । माई–९ का तर्फबाट विमल साउदेन र दिपेश मगर गोल गरे ।
महिला फुटवल प्रतियोगितामा भने माई–७ ले माई–१ लाई टाईब्रेकरमा ४-३ ले हराउँदै उपाधि जित्यो । विजेता र उपविजेताले क्रमश २५ हजार र १५ हजार प्राप्त गर्याे । सुखानी शहीदको सम्झनामा गत २१ गतेदेखि शुरु भएको वडा स्तरीय प्रतियोगितामा १० वटा वडाका महिला र पुरूष टिमकाे सहभागीता थियाे।
संबिधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न फाईनल खेलमा पुरुष तर्फ माई–४ का बेष्ट गोलकिपर विमल लिम्बु, बेष्ट मिल्डफिल्डर हरी मगर, बेष्ट डिफेन्डर आयुष बुढाथोकी, मेन अफ दि टुनामेन्ट विशाल खवास भएका थिए । हाईस्कोरर माई–८ का शेषुहाङ्ग चेम्जोङ भएका थिए ।
त्यस्तै महिला तर्फको प्रतियोगितामा माई–७ का खेलाडीहरु बेष्ट गोलकिपर सबिता लिम्बु, बेष्ट मिल्डफिल्डर रोजिना राई, बेष्ट डिफेन्डर सोनी लिम्बु, भएकी थिईन । माई–१ की निशा लिम्बु प्लेयर अफ दि टुर्नामेन्ट घाेषित भईन् । विजेता तथा उपविजेतालाई युवा संघ नेपालका केन्द्रिय महासचिव रमेश आचार्य, प्रदेश नम्बर–१ का भुमि व्यवस्था, कृर्षि तथा सहकारी राज्य मन्त्री राम राना, नगर प्रमुख दिपक कुमार थेबे, उपप्रमुख बिष्णुमाया आचार्य, युवा संघ नेपाल इलाम अध्यक्ष अरुण बराल, नेकपा एमालेका नेता बुद्धि खनाल, रत्न वहादुर अधिकारी, प्रकाश अधिकारी, मुखराज आङ्गदम्बे लगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
युवाहरुको वौद्धिक तथा शारिरिक विकासका लागि सुखानीका शहीदहरुको सम्झनामा प्रतियोगिता सञ्चालन गरिएको हो । २०२९ साल फागुन २१ गते सुखानीमा तत्कालिन शासकहरुले हत्या गरिएका रामनाथ दहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, बीरेन राजबंशी र नारायण श्रेष्ठको ४६ औ स्मृति दिबशमा फुटवल आयोजना भएकाे हाे ।