फिक्कल । पञ्चकन्या बहुदेश्य सहकारीको २६ औ बार्षिक साधारणसभा फिक्कलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवीप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १० का सदस्य विमल कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । प्रभाकर प्रधान, मणी कर्मचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाका अध्यक्ष उप्रेतीले प्रस्तुत गरेका छन् ।
संस्थाले गत आर्थिक बर्षमा ३९ लाख ५९ हजार ७३४ रुपैया आम्दानी गरेकोमा खर्च ३० लाख ८५ हजार ५१२ रुपैया गर्दै खुद नाफा ८ लाख ७४ हजार २ सय २२ रुपैया कमाएको छ । सहकारीले चालु आर्थिक बर्षमा ४० लाख ६७ हजार रुपैया खर्च हुने अनुमान गरेको छ ।
संस्थाले गत आर्थिक बर्षमा ३ करोड ३१ लाख ४१ हजार ७१२ रुपैया ऋण लगानी गरेकोमा ५४ लाख ४ हजार १९१ रुपैया भाखा नाघ्न गएको छ । जुन अघिल्लो बर्ष ३३ लाख २३ हजार ९०९ रुपैया रहेको थियो । गत बर्ष १२ प्रतिशत रकमको भाखा नाघ्न गएकोमा यस बर्ष २० लाख ८० हजार २८२ रुपैयाले बढ्न गई कुल लगानीको १६ प्रतिशत भाखा नाघेको हो ।

संस्थाले अघिल्लो आर्थिक बर्षमा ३२ लाख ७० हजार ८२९ रुपैया ब्याज प्राप्त गर्नुपर्नेमा यस बर्ष बढेर ४६ लाख ८४ हजार ११५ रुपैया पुगेको छ । संस्थाले लगानी गरेको ऋणको १४ प्रतिशत ब्याज उठ्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । ऋण लिने शेयर सदस्यहरुले समयमा ब्याज र सावा भुक्तान नगर्दा आम्दानी बाध्न समस्या देखिएको बताइएको छ ।
संस्थामा हालसम्म जम्मा भएको ब्याज र अन्य आम्दानीबाट विभिन्न कोष कट्टा गरी १ लाख ५८ हजार २२९ रुपैया नाफा गरेको छ । नाफाको रकमबाट आयकर व्यवस्था गरी हुन आउने ८८ हजार ४११ रुपैयाको ४० प्रतिशतको रकम ३५ हजार ३६४ रुपैयामा गत सालसम्म व्यवस्था गरिएको ८९ हजार ४ सय, संरक्षक पुँजी कोषको ३ लाख ३३ हजार ९४३ र भुक्तानी दिनुपर्ने १ लाख ७१ हजार ६३ रुपैया गरी जम्मा ६ लाख २९ हजार ७७० रुपैयाबाट बोनस बाड्न प्रस्ताव गरिएको छ ।
संस्थाले १ करोड १० लाख रुपैया ऋण लगानी गर्ने लक्ष्य लिएकोमा ८५ प्रतिशत हासिल गर्दै ९३ लाख ३० हजार लगानी गरेको छ । सहकारीले ९० लाख रुपैया ऋण असुली गर्ने लक्ष्य राखेकोमा ७७ प्रतिशत हासिल गर्दै ६८ लाख ९४ हजार १०४ मात्र संकलन गरेको छ । संस्थाले यस बर्ष ५ लाख ८८ हजार २ सय रुपैया शेयर पुँजी थप्दै ६२ लाख ९७ हजार ७ सय पु¥याएको छ । जुन अघिल्लो बर्षको तुलनामा ४ लाख ५३ हजारले बढि हो ।

संस्थाबाट १ लाख ३४ हजार ५ सय रुपैयाको शेयर फिर्ता गरिएको छ । संस्थामा आर्थिक बर्षको अन्तमा निक्षेप तर्फ २ करोड १८ लाख २७५ रुपैया रहेको छ । जुन अघिल्लो बर्षको तुलनामा ५ लाख ९१ हजार ६८३ रुपैयाले बृद्धि भएको हो । संस्थाले आगामी बर्ष १ करोड १० लाख लगानी गरेर ९० लाख रुपैया साँवा र ४ लाख ५० हजार ब्याज संकलन गर्ने लक्ष्य राखेको छ ।
४६ लाख ६० हजार आम्दानी गर्दै ४० लाख ६७ हजार खर्च हुने प्रक्षेपण गरेको सहकारीले नाफा ५ लाख ९३ हजार संकलन गर्ने लक्ष्य राखेकोछ । संस्थाले मासिक रुपमा समयमा नै व्याज तथा साँवा रकम बुझाउने ऋणीहरु मध्ये निरुपा नेम्बाङ र संगित राईलाई प्रशंसापत्र र नगद १५ सय सहित पुरस्कृत गरिएको छ ।
संस्थाले २०५५ साल देखि हालसम्मको अवधिमा कार्य समिति, लेखा समिति, ऋण समितिमा रहेर काम गरेका निवर्तमान समितिका पदाधिकारीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको छ ।