Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोजगारका लागि दार्जिलिङ गएका हजारौँ नेपाली संकटमा

रोजगारका लागि दार्जिलिङ गएका हजारौँ नेपाली संकटमा

  • सुजन तिमल्सिना
  • मंगलबार, असोज १० २०७४


रोजगारका लागि दार्जिलिङ गएका हजारौँ नेपाली संकटमा

 दार्जिलिङ । पुस्तौंदेखि नेपालका ग्रामीण बस्तिबाट भारतको पश्चिम बंगालमा  भारी बोक्ने काम गर्दै आएका झण्डै ५० हजार बढी नेपाली अहिले समस्यामा छन् । वेरोजगारीका कारण भारतको पश्चिम बंगालमा शारीरिक श्रम गर्दै आएका हजारौ नेपाली १०० दिन बढी बन्दका कारण भोकभोकै छन् । गोर्खाल्याण्ड आन्दोलन १०० दिन कट्दै गर्दा दार्जिलिङ बन्द भइरहेकाले पैसा कमाउनुको साटो दुई छाक टार्ने समस्याले नेपालीहरु ग्रसित छन् ।

छुट्टै राज्य गोर्खाल्याण्ड हुनुपर्ने माग राख्दै पछिल्लो १० अघिदेखि असान्त रहेको पश्चिम बंगालको पहाडी क्षेत्रमा भइरहेको आन्दोलन उत्कर्षमा पुग्दा नेपाली श्रमिकहरु कामविहीन छन् । अनिश्चितकालीन बन्दले बजार, शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना सबै ठप्प हुँदा उनीहरु त्यसै बस्नु परेको छ ।  काम नपाएपछि पहिले कमाएको र ऋण काढेको पैसाले दिनको छाक टार्दै आएका छन् । कहिलेदेखि ढुक्कले बन्द खुल्ला र काम गर्न पाइएला भन्ने चिन्ताले अहिले नेपाली श्रमिकलाई  सताएको छ । पहिले कमाएको अलिअलि पैसा खाँदाखाँदै सिद्धिने अवस्था भएको दोलखाका पहलमान थामीले बताए ।

७ बर्षदेखि ग्याँसको सिलिण्डर बोक्ने काम गर्दै आएका उनी भारत सरकारले एक सय ४४ धार प्रयोग गरेपछि डेराबाट बाहिर निस्कन सकेका छैनन् । घर फर्कने मन भएपनि हिडडुलमै समस्या आएपछि उनीसँग न रोजगार नै छ नत घरजाने सहज अवस्था नै । दैनिक तीन सय भारतीय रुपैयाँ देखि पाँच सय रुपैयाँ आम्दानी गर्दै आएका नेपाली श्रमिकले पैसा गोजीमा नहालेको १०० दिन बेतेको छ । नेपालका चाडपर्व सकेर रोजगारका लागि दार्जिलिङ गएर पैसा जोहो गरेर उनीहरु फरि दशैमा घर फर्कने गरेका छन् ।

नेपालको इलाम, पाँचथर, ताप्लेजुङ्ग, दोलखा, रामेछापका युवा युवतीहरु गोर्खाल्याण्ड आन्दोलनले गर्दा कतिपय झापाको काकरभिट्टानाकाबाट रित्तो हात घर फर्किए भने धेरैजसो रोजगारीको आसमा बसेका नेपाली कफ्युले गुम्सिएका छन् ।

आन्दोलन सुरु नहुदै बन्द लम्बिने सुईंको पाएपछि पाँच हजार बढी  धेरै नेपाली  श्रमीकहरुले दार्जिलिङ र त्यस आसपासका स्थान छोडेर घर फर्किएपनि अन्य बन्द खुल्ने र अलिअलि कमाएर घर फर्कने आसामा बसेका थिए ।   मासिक १५ हजार सम्म भारतीय रुपैयाँ कमाउने नेपाली भरियाहरु  पश्चिम बंगालका पहाडी क्षेत्रहरुमा ग्याँस, पानी, खाद्यान्न, निर्माण सामग्री, मोटरपार्टस, लत्ताकपडा आदि ढुवानी गर्ने काममा छन् । राम्रो कमाउने र बचाउन सक्ने कतिपयले त दार्जिलिङतिरै घरजग्गासमेत जोडिसकेका छन् ।

एकै घरबाट तीन जनासम्म आएर भरिया काम गर्ने नेपालीहरु दार्जिलिङका अतिरिक्त, कालेम्पोङ, खरसाङ, मिरिक, रिम्बिक, मानेभञ्ज्याङ, पोखे्रवुङ, डुवर्स, घूम, जोरबंगालो र सिक्किममा पनि उत्तिकै भेटिन्छन् ।  मेहेनत र इमान्दारीपनले स्थानीयसँग मज्जाले घुलमिल भएका उनीहरु पशुपतिनगर र सिलिगुडी नाका हुँदै नेपाल आउजाउ गर्छन् । तर आन्दोलन चर्किएसँगै उनीहरु बन्दिजस्तै भएका छन् । न घर जान पाएका छन् न त राम्ररी रोजगारी गरेर खान पाएका छन् ।

खुल्ला सीमा चुनौती 

दार्जिलिङ क्षेत्रमा चलेको आन्दोलनका कारण नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ । नेपाली सुरक्षा अधिकारीका अनुसार खुल्ला सीमाना निगरानी गर्ने पर्याप्त सुरक्षा बल नहुँदा समस्या भएको हो ।

खुल्ला सीमाना छ, सबै क्षेत्रमा हाम्रो सुरक्षा पोष्ट छैन, भारतीय प्रहरीहरु दाजिलिङ्गको आन्दोलनमा संलग्न नेपालमा यो लोकेसनमा बसेका छन् भनेर आउँछन्, एक सुरक्षा अधिकारीले भने । खुल्ला सीमाना भएपनि भारतपट्टि सुरक्षाफौजको बाक्लो उपस्थिति छ, नेपाली क्षेत्रमा सुरक्षा जनसक्ति कम छ । सीमा क्षेत्र हर्ने जिम्मा पाएको शसस्त्र प्रहरी बलको बेसक्याम्प इलामको सूर्योदय नगरपालिका स्थित आइतबारेमा छ ।

फर्किए हजारौँ विद्यार्थी 

गोर्खाल्याण्ड आन्दोलनका कारण शिक्षण संस्था बन्द भएपछि हजारौ नेपाली विद्यार्थी भने फर्किएका छन् । आन्दोलनका कारण एक महिनासम्म शिक्षण संस्था नचलेपछि विद्यार्थी फर्किएका हुन् ।

दार्जिलिङ्ग क्षेत्रका शिक्षण संस्थामा नेपाली विद्यार्थी १० हजार बढी अध्ययनरत थिए । आन्दोलन लामो हुने भएपछि विद्यार्थीका अभिभावकले पहिलेदेखिनै घर फर्काएकाले अहिले दार्जिलिङ्गमा घर फर्कन चाहाने नेपाली विद्यार्थी न्युन मात्रै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार