Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङ ६ का वडाअध्यक्ष साङपाङको पद खुस्कियो !

माङसेबुङ ६ का वडाअध्यक्ष साङपाङको पद खुस्कियो !

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १४ २०७७


माङसेबुङ ६ का वडाअध्यक्ष साङपाङको पद खुस्कियो !

इलाम । पार्टी परिवर्तन गरेका कारण इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप साङपाङको पद खुस्किएको छ । आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका साङपाङको पद खुस्किएको निर्वाचन आयोग नेपालले पुष्टि गरेको हो । आयोगको गत ७ माघको बैठकको निर्णयअनुसार भन्दै ९ माघमा गोरखापत्रमा ‘दल त्याग तथा रिक्त सम्बन्धी सूचना’ प्रकाशित गरि सोही दिनदेखि साङपाङ निर्वचित भएको पद स्वतस् रिक्त भएको आयोगले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को दफा २२ बमोजिम दल त्याग गरेको व्यहोरा नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयसहित आयोगलाई जानकारी आएकाले साङपाङको पद रिक्त भएको सूचनामा उल्लेख छ । सो सूचनामा साङपाङसहित सिरहा औरही गाउँपालिका २ का दलित महिला सदस्य भालसैरदेवी सदा, सोही गाउँपालिकाका कार्यपालिका सदस्य रामप्रताप राम र सुनसरीको इनरुवा नगरपालिका २ का वडा सदस्य लक्ष्मी मेहताको पद समेत रिक्त भएको उल्लेख छ ।

गोरखापत्र दैनिकमा प्रकाशित सूचना

गोरखापत्र दैनिकमा प्रकाशित सूचना

२०७४ सालको स्थानीय तहको निर्वाचनमा साङपाङले तत्कालिन नेपाली कांग्रेसबाट अत्याधिक मतका साथ वडा अध्यक्षमा विजयी भएका थिए । साङपाङले पूर्व बाँझो गाउँ विकास समितिका अध्यक्ष समेत रहेका तत्कालिन नेकपा एमालेका उम्मेद्वार किरण राईलाई पराजित गर्दै वक्षा अध्यक्षमा विजयी बनेका थिए । वडाका ४ जना सदस्य नेकपा एमालेबाट निर्वाचित हुँदा उनी एक्लै कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचत भएका थिए । तर साङपाङ २१ चैत २०७४ मा माङसेबुङ गाउँपालिका ३ चतुरेमा आयोजित कार्यक्रममा तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए ।

तत्कालिन एमाले प्रवेशपछि बाँयाबाट तेस्रोमा साङपाङ ।

तत्कालिन जिल्ला पार्टी अध्यक्ष एवम् प्रदेश सभा सांसद रामबहादुर मगर (राम राना), प्रदेश कमिटी सदस्य जयप्रकाश राई, जिल्ला कमिटी कार्यालय सचिव नवराज शंकर, सचिवालय सदस्य किरण राई, सदस्य हेमन्त राई, जिल्ला सल्लाहकार कमिटी उपाध्यक्ष पूर्ण बस्नेत, अनेरास्ववियु जिल्ला उपाध्यक्ष प्रवेश पराजुली लगायतको उपस्तिथिमा एमाले प्रवेश गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयलाई पद रिक्त भएको पत्र
यसैबीच निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय इलामलाई माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको पद रिक्त भएको जानकारी पत्र पठाएको छ । निर्वाचन आयोगबाट माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको पद रिक्त भएको जानकारी पत्र कार्यालयलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय इलामका सुचना अधिकारी कृष्ण लिम्बूले पुष्टी गरे ।
यस्तो छ, राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीमा व्यवस्था
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुने सम्बन्धी व्यवस्थाको उपदफा (१) मा ‘दफा ३० मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन’ भन्ने उल्लेख छ । सोही दफाको (२) मा ‘उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ’ उल्लेख छ ।

त्यस्तै दफा ३२ मा दल त्याग गरेको मानिने व्यवस्थाको उपदफा (१) मा (क) निजले सम्बन्धित दलको सदस्यबाट लिखित रुपमा राजिनामा दिएमा, ९ख० निजले अर्को दलको सदस्यता लिएमा, वा (ग) निज आफैले वा निज समेत संलग्न भई अर्को दल गठन गरेमा सदस्यले दल त्याग गरेको मानिनेछ भन्ने व्यवस्था उल्लेख छ ।

त्यस्तै राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को दफा २२ मा दल त्याग गरेको जानकारी गराउनु पर्ने व्यवस्थाको उपदफा (१) मा ‘कुनै दलको तर्फबाट स्थानीय तहको कुनै पदमा उम्मेदवार भई निर्वाचित भएको सदस्यले ऐनको दफा ३२ को उपदफा ९१० बमोजिम दल त्याग हुने कार्य गरेमा सो दलको केन्द्रीय समितिले निर्णय गरी निजले दल त्याग गरेको व्यहोराको जानकारी आयोगलाई गराउनु पर्नेछ ।

यसरी जानकारी गराउँदा केन्द्रीय समितिको निर्णयको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ’ उल्लेख छ । त्यस्तै ‘उपदफा (२) उपनियम (२) बमोजिमको जानकारी प्राप्त गरे पछि पन्ध्र दिन भित्र आयोगले राष्ट्रियस्तरको दैनिक पत्रिकामा सोको सूचना प्रकाशन गर्नेछ र उपदफा (३) उपनियम (२) बमोजिमको सूचना प्रकाशन भए पछि स्थानीय तहको त्यस्तो सदस्यको पद स्वतः रिक्त भएको मानिनेछ’ उल्लेख छ । नयाँ बुलन्दबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार