इलाम । आज देखि इलामका १७ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइदैछ । इलाममा पहिलो चरणमा चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई खोप लगाइने स्वास्थ्य कार्यलय इलामले जनाएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार, खोप लगाउँदा १८ वर्ष देखि माथि उमेर समूहकालाई लगाईनेछ । जसमा गर्भवती महिला, रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएका र १८ वर्ष मुनिकालाई खोप नलगाउने उनले जानकारी दिए ।
एक व्यक्तिले खोपको डोज पूरा गर्न दुई पटक खोप लगाउनु पर्नेछ । पहिलो खोप लगाएको चार हप्ता पछि पुनः दोस्रो खोप लगाउनु पर्ने स्वास्थ्य कार्यलयको जनाएको छ । पहिलो चरणमा सर्वसाधारणमा खोप नलागाउने भए पनि दोस्रो चरणमा भने ९० प्रतिशत सर्वसाधारणलाई समेत खोप लगाउने सरकारको तयारी रहेको छ ।
कोरोना भाईरसको लक्षण देखा परेका र सक्रिय संक्रमितलाई यो खोप लगाईने छैन । निको भएका संक्रमितले एक महिनासम्म लगाउनु नपर्ने बताईएको छ । इलाममा जम्मा छ हजार नौ सय ११ जनाको श्वाब संकलन गरिएकोमा दुई सय ९६ जना संक्रमित रहेका थिए । हाल इलाममा सक्रिय संक्रमितको संख्या शुन्य रहेको कोभिड फोकल पर्सन विमल बरालले बताए ।
प्रदेश एकमा ३५ हजार ५७६ जनालाई पहिलो र दोस्रो डोज खोप कार्यक्रम
प्रदेश–१ मा पहिलो चरणमा ३५ हजार ५७६ जनालाई पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्डचेन निरीक्षक चन्द्रकान्त ठाकुर जानकारी दिए। ठाकुरका अनुसार पहिलो डोज लगाएका नागरिकलाई चार हप्तापछि दोस्रो डोज लगाइने छ।
‘१४ जिल्लाबाहेक प्रदेश २ का सिरहा–सप्तरीका ७ हजार ६८४ जनालाई खोप लगाउने कार्यक्रमका लागि सम्बन्धित केन्द्रमा भ्याक्सिन पुगिसकेको छ,’ उनले भने, ‘सिरहा र सप्तरीका लागि समेत विराटनगरबाटै खोप पठाइएको हो।’
कुनकुन जिल्लामा कुन बार खोप लगाउने
केन्द्र निर्धारण गरी स्वास्थ्यकर्मीहरुलाई मंगलबार तालिम दिने काम गरिएको प्रदेश निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। निर्देशनालयले पाँचथर, खोटाङ र ओखलढुंगामा बिहीबार र सोलुखुम्बु तथा संखुवासभामा शुक्रबार खोप लगाउने कार्यक्रम तय गरेको छ। ६ जिल्लाबाहेक प्रदेश १ का ८ जिल्लामा बुधबार खोप कार्यक्रमको शुभारम्भ गरिनेछ।
कुन जिल्लाको कुन अस्पतालमा खोप केन्द्र
झापाको मेची, दमक र बिर्तामोड अस्पताल, मोरङको कोशी, रंगेली, विराट मेडिकल कलेज र नोबेल अस्पताल, सुनसरीको बीपी, इनरुवा, इटहरी अस्पतालमा खोप लगाउने केन्द्र तोकेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सोमबार ९ हजार ६०० भायल खोप स्वास्थ्य मन्त्रालयले पठाएको थियो। त्यसको वितरणको काम सकिएको निरीक्षक ठाकुरले जानकारी दिए।’खोपका लागि कोल्ड बक्समा ‘आइसप्याक कन्डिसिन’ सुरक्षा अपनाएर पठाइएको छ,’ उनले भने, ‘एक भायलमा १० डोज खोप हुन्छ। त्यसका लागि आवश्यक पर्ने ‘एडिनालिन इन्जेक्सन र सिरिन्ज’समेत केन्द्रसम्म आएको थियो।’
प्रदेश १ का १४ जिल्लाका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८ सय ५१ जना र १४ वटै जिल्लाका ७ सय २५ सरसफाइ कर्मचारी गरी ३५ हजार ५ सय ७६ जनालाई खोप लगाइने भएको छ ।