इलाम । नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व सदस्य जुमानु राई, भोला सिलवाल र सुमन सुवेदी नगदसहित सम्मानित भएका छन् । हरिवन युवा क्लब सर्लाहीले शनिबार नेपाल पुलिसमा आवद्ध तीनै जनालाई नगद १० हजार र कदरपत्रले सम्मान गरेको हो । जुमानु हरिवन क्लबकै उत्पादन हुन् । अन्य २ जना सर्लाही बाहिरको भएपनि नेपाली फुटबललाई उचाईमा पु¥याउन खेलेको भुमिकालाई कदर गर्दै सम्मान गरिएको क्लबका सदस्य युवराज बुढाथोकीले बताए ।
नेपाली राष्ट्रिय टिमबाट सन २००५ देखि २०१५ बिचमा ५२ क्याप जितेका पुलिसका कप्तान जुमानु ११ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनी भन्दा अघि हरि खड्का र निराजन रायमाझी १३/१३ गोल गरेका छन् । जुमानु २०५९ सालबाट पुलिस क्लबमा खेल्दै आएका छन् ।
राष्ट्रिय टोलीकै सदस्य सुमन सुनसरीका बासिन्दा हुन् । २०६१ सालबाट नेपाल पुलिसमा आवद्ध उनले राष्ट्रिय टोलीबाट सन २००५ देखि २०११ सम्म ११ क्याप जितेका छन् । बिराटनगरका बासिन्दा भोला २०६२ सालबाट पुलिसमा खेल्दै आएका छन् । सन २००८ देखि २०१६ का बिचमा राष्ट्रिय टोलीमा रहँदा उनले ३९ क्याप जित्दै २ गोल गरेका थिए ।
पुलिसले २०६३ देखि लगातार तीन पटक सहिद स्मारक ए डिभिजन लिग र २०६८ मा राष्ट्रिय लिग जित्दा तीनै जना टोलीका महत्वपूर्ण सदस्य रहेका थिए । सम्मान कार्यक्रममा तीनै खेलाडीले स्थानीय खेलाडीसँग मिलेर मैत्रीपूर्ण खेल समेत खेलेका थिए ।