Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा थप पाँचवटा सिचाई आयोजना संचालन हुने

सूर्योदय नगरपालिकामा थप पाँचवटा सिचाई आयोजना संचालन हुने

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ ७ २०७७


सूर्योदय नगरपालिकामा थप पाँचवटा सिचाई आयोजना संचालन हुने

फिक्कल । इलामको सूर्योदय नगरपालिका र कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाता (पीएमआईएससी) बीच दोस्रो चरणको साना सिचाई कार्यक्रम कार्यान्वयनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नगरका प्रतिनिधि र आयोजनाका प्रतिनिधि बिच चालु आर्थिक बर्षका लागि थप पाँचवटा सिंचाई आयोजनाका काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पहिलो चरणको तीनवटा कार्यक्रमहरु टाङटिङ खोला , पिपलडाँडा सिचाई योजना , साउने सिचाई योजना र कन्याम फाजीगाँउ सिंचाई आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यी काम अन्तिम चरणमा पुग्दै गर्दा नयाँ पाँचबाट आयोजनाका लागि सम्झौता भएको नगरपालिकाले जानकारी दिएको छ ।

दोस्रो चरणमा नगर क्षेत्रमा थप पाँच वटा आयोजनाको काम हुने छ । कट्याङ खोला सिचाई योजना,अम्वीटार सिरुवानी सिचाई योजना,दशगते फेदी सिचाई योजना,माघेटार सिचाई योजना र रामेखोला मेहलबोटे सिचाई योजना संचालनका लागि नगर संग सम्झौता पत्रमा हस्ताक्षर भएको आयोजनाका कलष्टर संयोजक केशब लामाले जानकारी दिए ।

उक्त कार्यक्रम संचालनका लागि स्वीस सरकारबाट ३० प्रतिशत, सघीय सरकारबाट २० प्रतिशत, प्रदेश सरकारबाट २० प्रतिशत, स्थानीय सरकारबाट २० प्रतिशत र उपभोक्ताबाट १० प्रतिशत लागत साझेदारी रहने छ । नगर प्रमुख रण बहादुर राईले आयोजनाको काम सम्पन्न भई संचालनमा आएपछि कृषकहरुको कृषि आय, उत्पादकत्वमा वृद्धि गर्दै दिगो कृषि विकासमा महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।

नगर क्षेत्रमा ४८ वटा आयोजनाको सर्भे भइसकेको संयोजक लामाले बताए । प्राथमिकता हेरी नगरले अन्य कार्यक्रम समेत थप गर्न सक्ने जनाईएको छ । समझदारी साढे ४ बर्षका लागि गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार