इलाम । इलामको देउमाइ नगरपालिका स्थित मंगलबारेमा जारी टंकमाया गौतम स्मृति प्रदेश नं १ स्तरीय बुद्धिचाल प्रतियोगितामा तीन खेलाडीले अग्रता लिएका छन् । बुधवार तीन राउण्डका खेल सम्पन्न हुदा सम्म पुर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) , हिमाल राई र सुमन श्रेष्ठ अपराजित रहदै समान तीन अंकका साथ अग्र स्थानमा रहेका छन् ।
पहिलो राउण्ड देखी नै पहिलो बोर्डमा खेलेका निरौलाले तेस्रो राउण्डमा हरि सुब्बालाई पराजित गरेका हुन भने राईले राजन सुबेदीलाई तथा श्रेष्ठले सुरेन्द्र कुमार राईलाई पराजित गरेका हुन् । त्यस्तै प्रतियोगितामा पुर्वाञ्चल च्याम्पियन प्रकाश नेपाल र एमेच्योर च्याम्पियन मणीराज डाँगीले भने आशातित प्रदर्शन गर्न सकेनन् ।

नेपालले दोस्रो राउण्डमा हिमाल राईसँग तथा डाँगीले सुरेन्द्र कुमार राईसँग चित खाएका थिए । डाँगीको दुई अंक रहेको छ । दोस्रो राउण्डमा बराबरी खेलेका सुमन राईले तेस्रो राउण्डमा चुडामणी कुलुङ्ग राईलाई पराजित गरेसँगै उपाधी होडमा कायमै रहेका छन् । उनको २.५ अंक रहेको छ । त्यस्तै संजय राइको पनि समान २.५ अंक रहेको छ । प्रतियोगितामा बिहिवार थप तीन राउण्डका खेलहरु हुने चिफ आरविटर विदुर गौतमले जानकारी दिए ।
बिहिवारको पहिलो राउण्ड विहान आठ बजेबाट शुरु हुनेछ । प्रतियोगिताको विजेताले नगद २५ हजार प्राप्त गर्नेछन भने दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले नगद १० हजार सहित ट्रफि तथा मेडल प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कष्ट दश सहित विभिन्न विधाका गरि १७ खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् । ६ गते सम्म संचालन हुने सो प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख रहेको छ ।