Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सरकारले आज एकै पटक ३९६ पालिकामा अस्पतालको शिलान्यास गर्ने

सरकारले आज एकै पटक ३९६ पालिकामा अस्पतालको शिलान्यास गर्ने

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १५ २०७७


सरकारले आज एकै पटक ३९६ पालिकामा अस्पतालको शिलान्यास गर्ने

इलाम । सरकारले आज ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दै छ। ​ पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ।

सोमबार पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामका सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नेछन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नेछन्।

यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नेछन्। सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताए।

सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो। अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ। पालिकामा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र पालिकाका प्रमुखले पनि शिलान्यास गर्नेछन्। यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो। प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ। पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार