इलाम । नेपाल क्रिकेट संघ (क्यान) ले पुर्व विकेटकिपर ब्याट्समेन मनोज कट्वाललाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । काँकडभिट्टाका स्थायी बासिन्दा कट्वाललाई आइतबार सहायक प्रशिक्षकमा नियुक्त गरेको गरेको क्यानले जनाएको छ। नेपाली टिमले जगत टमटाको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ। २००२ को एसीसी ट्रफीमा ओमान विरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
उनले सन २००२ देखि २००६ सम्म १३ एक दिवसिय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । मनोज क्यान प्रदेश एकका सचिव समेत हुन् । मनोज यसअघि पनि नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहिसकेका छन् । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो।
यस्तै क्यानले कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल बन्द प्रशिक्षणमा सामेल भएको समेत जनाएको छ। बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो। जसको कारण उनीहरु टिममा सामेल भएका थिएनन्। क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ।