इलाम । पुर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ मा पर्ने स्थानीय तहमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) को बजेट बिनियोजना गरिएको छ । ६ वटा स्थानीय तहका ३९ वडा रहेको निर्वाचन क्षेत्रमा यस बर्ष ४ करोड रुपैया बजेट निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम बाट बाडफाड गरिएको छ । सबैभन्दा बढि १४ वटा वडा भएको सूर्योदय नगरपालिकामा १ करोड ३५ लाख रुपैया बिनियोजना गरिएको छ ।
सूर्योदय नगरपालिकाको लाम पधेरी-फाजिगाउँ-सिद्धिखोला सडक स्तरोन्नतीमा १० लाख, पञ्चे चौतारो-डब्बुगाउँ सडक स्तरोन्नती १० लाख, बरभञ्ज्याङ चिया फ्याक्ट्री-शान्तिबजार सडक स्तरोन्नती २५ लाख, सिद्धिखोला-सल्लेरी सडक स्तरोन्नती १० लाख, पशुपतिनगर भेटेरीनरी– सिद्धार्थ टोल–सृजना टोल–प्रगति टोल–सिद्धिखोला सडक स्तरोन्नती १० लाख रुपैया रहेको छ ।
त्यसैगरी पान्दुले–जिल–लुङ्गाचोक हुँदै रुङसुङ मेहेलबोटे सडक स्तरोन्नती २० लाख, कालापानी–माघे–सिस्ने सडक स्तरोन्नती १० लाख, सामुदायिक विद्यालय मर्मत सम्भार तारजाली तथा रंगरोगनलाई २० लाख, कालापानी पेमाजुने गुम्बा बुद्धमार्ग सडक स्तरोन्नती १० लाख र बरबोटे विपासना केन्द्र जाने बाटो स्तरोन्नतीमा १० लाख रुपैया बिनियोजना गरिएको छ । खनालको निर्वाचन क्षेत्रमा पर्ने इलाम नगरपालिकाको १० नं वडा गोदकको घट्टा कृषि बजार पूर्वाधार विकासमा १० लाख रुपैया बजेट रहेको छ ।
इलामको कान्छो नगरपालिका माईमा ६८ लाख रुपैया बजेट बिनियोजना गरिएको छ । जसबाट मस्तेफुयल चौतारी देखि चेप्टी सिमले सम्मको सडक स्तरोन्नतीमा ३४ लाख र अर्ने खोल्सी देखि कट्टेलटार गंगटे सुखानी मुल सडक हुँदै दोकान लाइनसम्मको सडक स्तरोन्नतीमा ३४ लाख बजेट रहेको छ ।
‘रोङ गाउँपालिकामा ४ वटा योजनाको लागि ६० लाख रुपैया बजेट छुट्याइएको छ । जसबाट कुटिडाँडामा कर्भडहल निर्माण ३० लाख, धजे वडा कार्यालय सडक स्तरोन्नती १० लाख, वडा नं ५ मा पर्यटन पुर्वाधार विकास १० लाख, वडा नं ४ मा स्वास्थ्य चौकी भवनको पहिरो व्यवस्थापनमा १० लाख रुपैया बजेट छ ।
पर्यटकीय गाउँपालिका सन्दकपुरमा ४ वटा योजनमा ६७ लाख रुपैया बजेट राखिएको छ । सापकोटा डाँडा इङला जौवारी सडक स्तरोन्नती २० लाख, श्रीहाङ्जी कालपोखरी सन्दकपुर सडक स्तरोन्नती २० लाख, धाप पोखरी पुर्वाधार निर्माण १५ लाख र देउराली गैरीगाउँ सडक स्तरोन्नती १२ लाख बजेट रहेको छ ।
माईजोगमाईमा ६ वटा योजनाका लागि १० लाखको दरले ६० लाख रुपैया बिनियोजना गरिएको छ । प्याङ सडकबाट मझुवा हुँदै सोयाङ ताङ्खे जोडने सडक स्तरोन्नती, माईजोगमाई वडा नं २ को महिला भवन निर्माण, गुप्ती बलढयाङ्ग्रे चार वरपिपल सडक स्तरोन्नती, वनपाल झिल निर्माण, खड्का गोलाई थरी गाउँ हुँदै मादेन गाउँ देखि साठीमुरे गोलाई सडक र माइखोल रुलुक प्याङ मावि पञ्चमी गुम्वा डाँडा सडकको आरुगोलाईबाट पञ्चमी खण्डसम्म स्तरोन्नतीका लागि खनालको विकास कोषबाट बजेट छुट्याइएको छ ।
कार्यक्रम परामर्श समिति संयोजक तथा प्रतिनिधिसभा सदस्य झलनाथ खनालको जुम भिडियाेबाट संयोजन गरेकाे छलफलले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली २०७७ ले आयोजना व्यवस्थापन खर्चका लागि निर्दिष्ट गरेको ०.९ प्रतिशतबाट हुन आउने र जिल्ला समन्वय समितिको कार्यलयले पाउने रकम कटाएर मात्र आयोजना बापतको रकम भुक्तानी गर्ने गराउने निर्णय गरेको छ ।
छलफलमा परामर्श समितिका सदस्यहरु जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राई, माई नगर प्रमुख दिपक कुमार थेबे, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, रोङ गाउँपालिका अध्यक्ष शम्सेर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई र परार्मश समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी हरिबहादुर दाहालको उपस्थिती रहेको थियो ।
पुर्वाधार विकास कार्यक्रमबाट प्राप्त बजेट कार्यान्वयनको शिलशिलामा सूर्योदय नगरपालिकाको एउटा आयोजना ५० लाख भन्दा माथिको भई ठेक्का प्रक्रियाबाट संचालनका लागि टेन्डर प्रक्रियासम्म पुग्दा कोभिड–१९ का कारण निर्माण व्यवसायीबाट काम हुन नसकेपछि बजेट फिर्ता भएको थियो । सूर्योदयका अन्य योजना सम्पन्न भएका र कोभिडको जोखिमको समयमा समेत बजेट कार्यान्वयन गरी आयोनजना सफल बनाएको धन्यवाद दिने निर्णय गरेको छ ।