माई । कोरोना संक्रमितहरु बढ्दै जान थालेपछि इलामको दक्षिणी क्षेत्र माई नगरपालिकामा नियमित रुपमा लाग्दै आएको हाटबजार बन्द गरिएको छ । संक्रमितको संख्या २३ जना पुगिसकेको अवस्थामा समुदाय स्तरमा हुने जोखिमलाई न्युनिकरणका लागि बुधबार बसेको विपद व्यवस्थापन समितीको बैठकले विभिन्न निर्णय गरेको हो ।
नगरपालिका क्षेत्रको शुक्रबारे–सितली, बिहिबारे, सोमबारे, मंगलबारे लगायत स्थानमा नियमित रुपमा लाग्दै आएको साप्ताहिक हाटबजार तथा टुक्रेबजार अर्को सुचना नभएसम्म पुर्ण रुपमा बन्द गरिएको छ । हाटबजारका दिन पसल पुर्ण रुपमा बन्द गर्नुका साथै राँगा, सुंगुर, खसी कुखुरा र सो दिनको मासु विक्रि वितरण नगर्न अनुरोध गरेको छ ।
नगर क्षेत्रभित्र र क्षेत्र भएर अन्य पालिका वा जिल्लामा पैदल तथा यातायातको साधनबाट ओहोरदोहोर गर्ने यात्रु तथा स्थानीय व्यक्तिहरुले अनिवार्य मास्क र सेनिटाइजर प्रयोगका साथै सुरक्षाका विधि अवलम्वन नगरे संक्रमक रोग ऐन २०२० अनुसार कानुनी कारवाही गर्ने भएको छ । नगरले लक्षण सहितको बिरामी देखापरेमा हटलाइन नम्बर ९८२०७०१७०४ र ९८१५०७१७१२ मा जानकारी गराउन अनुरोध गरेको छ ।
नगर क्षेत्रभित्र खेलकुद तथा मनोरञ्जन लगायतका भिडभाड हुने खालको गतिविधि संचालनलाई पुर्ण रुपमा बन्देज गरिएको छ । औषधि उपचारको लागि नगर बाहिर तथा अन्य जिल्लामा रहेको अस्पतालमा जाँदा र आउँदा कोरोना भाइरस भित्र्ने सम्भावना देखिएकाले उपचार गरेर फर्किएका बिरामी र कुरुवाको बारेमा हटलाइन नम्बरमा जानकारी गराउन आग्रह गरेको छ ।