Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामका दर्शन गुरुङ सहित विकास र एरिक सिनियर टिमबाट डेब्यु

इलामका दर्शन गुरुङ सहित विकास र एरिक सिनियर टिमबाट डेब्यु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक २८ २०७७


इलामका दर्शन गुरुङ सहित विकास र एरिक सिनियर टिमबाट डेब्यु

इलाम । इलामका दर्शन गुरुङ सहित नेपाली राष्ट्रिय फुटबल टोलीमा उमेर समुहका ३ जना युवा खेलाडीले डेब्यु गरेका छन् । दर्शनसंगै एन्फा एकाडेमीका उत्पादन विकाश खवास र एरिक विष्टले सिनियर टिमबाट डेब्यु गरेका हुन् । विकासले सुरुवाती ११ मा डेब्यु गर्दा दर्शन र एरिक बेञ्चबाट मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट पहिलो खेलमा सहभागि भए । तीनै जना खेलाडीले पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।

इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका दर्शन बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेलको ६८ औं मिनेटमा रवि पासवानको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । उनी राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमै डेब्यु गर्न सफल भए । न्युरोड टिम एनआरटीबाट गत बर्षको शहिद स्मारक लिग खेलेका दर्शन उदियमान खेलाडी समेत घोषित भएका थिए । एनआरटीमा आवद्ध हुनुपुर्व उनले श्री भगवती क्लबबाट बी डिभिजन लिग खेलेका थिए । दर्शनले नेपालको उमेर समुहको टोलीमा फरवार्डको रुपमा खेलिसकेका छन् ।

मोरङको सुन्दर हरैचा–१ का बासिन्दा विकास त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् । २०७५ सालको रेलिगेस बिनाको लिगमा उदियमान खेलाडी घोषित भएका थिए । विकास गत मंसिरमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण विजेता नेपाली टिमको मुख्य सदस्य समेत रहिसकेका छन् । उनी आर्मीको यू–१८ टोली हुँदै आर्मीको सिनियर टोलीसम्म पुगेका हुन् । उनले यू–१२ उमेर समूहदेखि नै एन्फा एकेडेमीबाट खेलेका हुन् ।

न्यरोड टिमबाटै गत बर्षको लिग खेलेका एरिक बिष्टले खेलको ४२ औ मिनेटमा विक्रम लामालाई प्रतिस्थापन गर्दै सिनियर टोलीमा डेब्यु गरे । विक्रम घाइते भएपछि उनी मिडफिल्ड सम्हालन मैदान प्रवेश गरेका थिए । एन्फा एकाडेमी यु–१६ मा परेको एरिकले एउटा पनि अन्तराष्ट्रिय प्रतियोगिता नखेली एकेडेमी छाडेका थिए । यू–१६ टोलीमा नपरे पनि सन् २०१७ मा यू–१८ टोलीसँग साफ च्याम्पियनसिप उपाधि जित्न भने सफल रहे ।

बाँसबारी क्लबको उत्पादन एरिकले आर्मीकै यू–१८ टोलीबाट लगातार दुई पटक ललिर स्मृति यू–१८ लिग जितेका थिए । उनले न्युरोड टिम भन्दा अघि एक सिजन आर्मीको सिनियर टोलीमा समेत बिताएका थिए । पहिलो पटक राष्ट्रिय टोलीमा समवेश भएपछि केहि महिनाअघि मात्र एरिकलाई कोरोना संक्रमण भएको थियो । संक्रमणबाट मुक्त भएपछि राष्ट्रिय टोलीमा पुनः समावेश हुँदै डेब्यु गर्ने अवसर समेत उनले पाए ।

इलामबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका ३ खेलाडी मध्ये छिरिङ गुरुले मात्र बंगलादेश विरुद्धको खेलमा मैदान उत्र्न पाएनन् । प्रशिक्षक बालगोपाल महर्जनले इलामकै नवयुग श्रेष्ठलाई सुरुवाती ११ मा स्ट्राइकरको रुपमा उतारेका थिए । छिरिङले हालसम्म सिनियर टोलीबाट खेल्ने अवसर पाएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार