फिक्कल । फिक्कलका होटल व्यवसायी केशव प्रधान आजकाल विहान दैनिक फुटसल मैदानमा भेटिन्छन् । उनी जस्ता ३० बर्ष हाराहारी उमेर कटेकाहरुको विहानी समय आजकाल फुटसल मैदान नै हो । भौगोलिक विकटता भएपनि पुर्वी पहाडी जिल्ला इलाममा पछिल्लो समय फुटसलको क्रेज दिनप्रतिदिन बढ्दो क्रममा छ । जिल्लाका मुख्य बजारमा फुटसल मैदान निर्माण भएपछि अहिले बालबालिका देखि युवा पुस्ताहरु आर्कषित बन्दै गएका हुन् ।
युवा पुस्ताको लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने भेट्रानहरुको लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ फुटसल मैदान । फुटबलबाट चिनिएको इलामबासीले फुटसल खेललाई समेत रुचाएका छन् । जिल्लामा हाल २ वटा फुटसल मैदान रहेका छन् । कोरोना कहरका बाबजुद पनि फुटसल खेल्नेको कमी छैन् इलाममा । नयाँ खेलको रुपमा इलाममा भित्रिएपछि फुटसल सिक्नेदेखि शारीरिकरुपमा तन्दुरुस्त रहन चाहनेको आर्कषण हुन थालेको छ । खुला ठाउँको अभावले गर्दा शारीरिक व्यायाम गर्नबाट वञ्चित बनेका बालबालिका देखि युवापुस्ताका लागि फुटसल खेल अभ्यास उपयुक्त विकल्प बनेको हो ।
फुटबलको मिनि संस्करणको रुपमा चिनिएको फुटसल नेपाल प्रवेश गरेको एक दशक पनि पुगेको छैन । तर फुटसल खेल्न धाउनेको संख्या निरन्तर बढ्दो क्रममा छ । इलाममा फुटसल खेल चिनाउने रोशन राई हुन् । उनले डेढ बर्ष अघि इलाम नगरपालिका–९ मा इलाम स्र्पोटस सेन्टरको नाममा पहिलो पटक फुटसल खेल संचालनमा ल्याएका थिए । त्यस समय नौलो मान्ने इलामेहरु आजकाल कुनै विशेष समारोहमा मैत्रीपुर्ण फुटसल खेल आयोजना गर्छन् ।
संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा शिक्षक, कर्मचारी, जनप्रतिनिधीहरु मैदान उत्रिए । नगर प्रमुख रणबहादुर राईको नेतृत्वको टिम निजी विद्यालयहरुको छाता संगठन प्याब्सन संग फाइनल नै खेल्यो । नगरका जनप्रतिनिधि र कर्मचारीमा छुट्टी हुन साथ फुटसल मैदान पुग्छन् ।
‘सानो लगानीमा फुटसल हुने थिएन । त्यसैले साथीभाइलाई सल्लाह माग्दा बौलाहा भइस् कि क्या हो सम्म भने ।’ इलाम स्र्पोटस सेन्टरका संचालक राई भन्छन् ‘ तर हिम्मत नहारी आफनो लक्ष्यमा लाग्दै इलाममा फुटसल चिनाउन सफल भए । यसमा एकदमै खुशी लागेको छ ।’ रोशनले फुटसल संगै अहिले कम्प्युटर गेम, चेसलाई समेत समावेश गरेका छन् ।
विश्व फुटबल महासंघ फिफाले मान्यता दिएपछि फुटसलका विभिन्न प्रतियोगिता हुँदै आएका छन् । नेपालमा पनि फुटसलप्रति आकर्षण बढ्दो छ । जसका कारण देशभर ३ सयभन्दा बढी फुटसल खुलेका छन् । फुटसलमा फुटबलमा भन्दा कम खेलाडी हुन्छन् । धेरैजसो कुरा फुटबलसँग मिल्ने यस खेललाई फुटसल मैदान र फुटसल बलबाट खेल्ने गरिन्छ, साथै यस खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भन्ने गरेको पाइएको छ ।
पुरुषहरु मात्र हैन महिलाको आर्कषण पनि फुटसल खेलमा बढ्दो रहेको पाइन्छ । फिक्कलमा खुलेको फुटसलमा विहान ८ देखि ९ बजेको समयमा महिला खेलाडीहरु प्रशिक्षण गर्दै आएका छन् । ‘फुटबल पहिलाबाटै खेल्दै आएको हो । तर फुटसल खुलेपछि हामी दैनिक विहान विहान सिक्न आउँछौ । निक्कै रमाइलो भइरहेको छ ।’ १४ बर्षिया प्रविशा प्रधान भन्छिन् ‘ बाबाले फुटबल खेलेर नाम कमाउनु भयो म चाहि फुटसल सिकेर केही गर्ने सोच छ ।’
विश्वजगतमा केही समय पहिलेदेखि यसको लोकप्रियता बढ्दै गए पनि नेपालमा यो खेल भित्रिएको त्यति धेरै समय भएको छैन । यद्यपि छोटो समयमा नै युवा पुस्ताहरुबीच यसको लोकप्रियता दिनप्रतिदिन चुलिँदो छ । कुलतमा फस्दै गरेको युवा पुस्तालाई खेलकुदको माध्यमबाट सहि मार्गमा ल्याउन राजेश सुनुवारसँगको सहकार्यमा रुपेन गुरुङले १ करोड भन्दा बढिको लागतमा फुटसल मैदान संचालनमा ल्याएका हुन् । साथै ६ रोपनी क्षेत्रफलमा व्याडमिन्टन कोर्ट र जुम्बा क्लासको लागि भवन निर्माण कार्य धमाधम भइरहेको संचालक गुरुङ बताउँछन् ।
‘ फुटसल मैदानको लागि मात्रै पनि करिब ६० लाख रुपैया खर्च भएको छ । ब्याडमिन्टन कोर्ट र जुम्बा क्लास पनि संचालन गर्ने भनेर धमाधम निर्माण गरिरहेका छौ ।’ गुरुङले भने ‘ फिक्कलको मौसम सधै चिसो र हुस्सुले ढाकिरहने भएकाले दैनिक जसो खुल्ला मैदानमा फुटबल खेल्न असहज देखेपछि फुटसलमा जोखिम मोलेर लगानी गरेको हुँ ।’ निकै छिटो फैलिएको र लगानी पनि एकाएक केन्द्रित भएको यो क्षेत्रले राम्रोसँग खुट्टा टेक्न नपाउँदै कोरोना महामारी र लकडाउनकाको धक्का बेहोर्नुपरेको छ । अहिले फुटसल संचालकहरुले चिनेजानेको बाहेकलाई मैदानमा खेल्ने अनुमति दिन सक्ने वातावरण बन्न सकेको छैन् ।
के फरक छ फुटबल र फुटसलमा
फुटसल र फुटबल एकै प्रकृतिका खेल भए पनि यसको नियम र खेल्न तरिका फरक छन्। फुटबलमा ११ खेलाडी उत्रन्छन्। फुटसलमा ५ खेलाडी भिड्छन् । फुटबल खेलिने मैदान १०५ गुणा ६८ मिटरको हुन्छ भने फुटसल मैदान ४० गुणा २० मिटरको हुन्छ। फुटबल खुला घाँसे मैदानमा खेलिन्छ। फुटसल कडा सतहमा खेलिने इन्डोर गेम हो। फुटबल खेल ४५–४५ मिनेटको दुई हाफमा विभाजन गरी ९० मिनेट खेलाइन्छ । फुटसल २०–२० मिनेट गरी दुई हाफमा ४० मिनेट खेलिन्छ ।
फुटसल बल कम उफ्रन्छ र आकार पनि सानो हुन्छ । फुटबलको प्रत्येक खेलमा सामान्यतया तीन खेलाडी मात्र परिवर्तन गर्न पाइन्छ तर फुटसलमा खेलाडी परिवर्तन गर्न छेकबार छैन । फुटबलमा मैदानबाहिर बल जाँदा हातले बल थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले किक हानिन्छ । फुटबलमा खेलाडीले रातो कार्ड पाएमा उक्त खेलाडीको स्थानमा अर्को खेलाडी ल्याउन पाइन्न । तर, फुटसलमा रातो कार्ड पाएको २ मिनेटपछि अर्को खेलाडी ल्याउन पाइन्छ । दुई मिनेट नबित्दै कम खेलाडी भएको टोलीले गोल खाएमा नयाँ खेलाडी आउन सक्छ । टाइम र स्पेस कम हुने भएकाले फुटसल खेलाडी टेक्निकल रूपमा चनाखो र फिट हुनुपर्छ ।




