फिक्कल । सूर्योदय नगरपालिकाले गत आर्थिक बर्षमा कोभिड–१९ रोकथामका लागि भएको खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले कोभिड–१९ व्यवस्थापनका लागि बनाएको कोषमा ८७ लाख ९ हजार २७ रुपैया जम्मा भएकोमा ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ विपद व्यवस्थापनको कोषमा रहेको १४ लाख ३४ हजार १ सय ९८ रुपैया ३६ पैसा मौजदात रहेका थियो । नगरको कोषमा ७२ लाख ७४ हजार ८ सय २९ रुपैया सहयोग प्राप्त भएको छ ।
कोषका लागि संघीय सरकारबाट १० लाख, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट ५ लाख, आन्तरिक मामिला मन्त्रालयबाट २० लाख, जिल्ला प्रशासन कार्यालयबाट ७ लाख र नगरपालिकाको १० लाख, पदाधिकारीहरुबाट ७ लाख ७ सय १०, युके समाजबाट २ लाख ४५ हजार ५ सय ९०, नेकपा सूर्योदय कमिटिबाट २ लाख १ हजार, वडा नं १४ बाट १ लाख ४० हजार र अन्य दाताहरुबाट १६ लाख ८७ हजार २९ रुपैया आम्दानी भएको आन्तरिक लेखा परिक्षण अधिकृत प्रदिप चापागाईले आफनो प्रस्तुती दिँदै बताए ।
नगरपालिकाले पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउन लगायतका कामका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार ६ सय ८५ रुपैया, स्वास्थ्य सामाग्री खरिद १२ लाख ८३ हजार ९ सय ९९, राहत वितरण २५ लाख २३ हजार ४ सय ३४ रुपैया र क्वारेन्टाइनमा खाना र खाजाको लागि १६ लाख ६८ हजार ७ सय २० रुपैया रहेको छ । नगरले क्वारेन्टाइनमा बस्नेहरुको लागि दैनिक ३८० रुपैयाको दरले खर्च भएको जनाएको छ ।
सूर्योदयले नगर क्षेत्रको ५ स्थानमा क्वारेन्टाइन र होल्डिङ सेन्टर बनाएको छ । पशुपतीनगर क्वारेन्टाइनमा ३ लाख ६४ हजार ९ सय २७ रुपैया, ५० बेडको सार्वजनिक आधारभुत विद्यालयको क्वारेन्टाइनमा २ लाख ४६ हजार ९ सय ५, बौद्धधाम माविको क्वारेन्टाइनमा २ लाख ७ हजार २ सय ५५ रुपैया खर्च भएको नगरपालिकाको जिन्सी शाखाले जनाएको छ । त्यसैगरी करफोक र कन्याम क्वारेन्टाइनमा ११ लाख ८९ हजार ७ सय ४२ रुपैया खर्च भएको जिन्सी शाखा प्रमुख निरज तामाङले बताए ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस सूर्योदय नगरपालिकामा पहिलो पटक जेठ २७ गते भारतको चेन्नाईबाट आएका वडा नं ५ का २६ बर्षिय पुरुषमा देखिएको थियो । त्यसैगरी नगरमा पछिल्लो भारतको गोवाबाट आएका वडा नं १४ का २८ बर्षिय पुरुषमा देखिएको स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन बिपुल अधिकारीले बताए ।
नगरले गत माघ २ गते स्वास्थ्य कार्यालयको सहयोगमा पशुपतीनगरमा कोरोना भाइरसको बारेमा पहिलो पटक जनचेतनामुलक कार्यक्रम गरेको थियो । सरकारले लकडाउन लगाउनुपुर्व नै नगरले नेपाल–भारत सिमाको पशुपतीनगरमा हेल्थ डेक्स स्थापना गरेको अधिकारीले बताए । सूर्योदयमा हालसम्म २ सय ८५ पुरुष र ८१ महिला गरी ३ सय ६६ जनाको ¥यापिड टेस्ट गरिएको छ ।
६ सय ४० पुरुष र ३ सय १६ महिला गरी ९ सय ५६ जनाको पिसिआर गरिएको छ । जसमा ४३ जनाको रिर्पोट आउन बाँकी रहेको छ । नगर क्षेत्रमा १५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकोमा उनीहरु हाल उपचार पछि फर्किसकेका छन् । ५ स्थानमा गरेर ४ सय बेडको क्वारेन्टाइन संचालन रहेकोमा विभिन्न समयमा गरेर ६ सय ८२ जनालाई राखिसकिएको छ । संक्रमण देखिएका व्यक्तिहरुसंग सम्र्पकमा आएका १ सय ९६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर पिसिआर गरिएको छ ।
नगरपालिकालाई उद्योग वाणिज्य संघ, औषधी व्यवसायी संघ, वन पैदावार व्यवसायी, करुणा फाउन्डेसन, निजामती कर्मचारी संगठन, रेडक्रस, नगरपालिका संघ, स्वास्थ्य कार्यालय, छिमेकी लद्युवित्त, रत्नबम प्रतिष्ठान, अमन फर्मा लगायतबाट स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको थियो । पुर्व प्रधानमन्त्री झलनाथ खनालबाट ८ सय थान पिपिई र १ हजार ५ सय थान गगल्स प्राप्त भएका जनाइएको छ । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता, जिसस उपप्रमुख चित्रकला बराइली, नगर उपप्रमुख दुर्गादेवी भट्टराई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले सूर्योदय नगरपालिकाले कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक गरेर उत्कृष्ट काम गरेको बताउदै अन्य पालिकाले पनि सिको गर्नु पर्ने बताए । जिसस प्रमुख बरालले भने ‘ कोरोनाकै बिचमा पनि अव सुरक्षा अपनाएर बिकास काम थाल्नु पर्छ ।’ उनले जिल्लामा ३ वटा भेन्टिलेटर मेसिन उपलव्ध हुने भएपनि संचालनमा कठिन रहेको बताए । उनले जनताको माग र आवश्यकतालाई ध्यानमा राखेर पुर्वी पहाडका जनतालाई स्वास्थ्य सेवा दिनेकुरामा सदैव तयार रहेको धारणा राखे ।
नेपाली काग्रेसका प्रतिनिधि मिलन क्षेत्रीले सूर्योदय नगरपालिकाले कोरोना नियन्त्रणमा गरेको कामको प्रशंसा गर्दै उद्योग , ब्यवसाय र बिद्यालय संचालनको वातावरण बनाउन आग्रह गरे । स्वागत मन्तव्य राख्दै वडा नं १० का अध्यक्ष तथा कोरोना रोकथाम तथा नियन्त्रण समितिका प्रवक्ता पेमा उगेन लामाले कोरोना नियन्त्रण तथा रोकथामका काममा नगरपालिकालाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि कोरोना रोकथामका क्षेत्रमा सहकार्य गरेर काम गर्न आग्रह गरे ।
सूर्योदय नगरपालिकामा कोरोना कोरोना रोकथाम तथा नियन्त्रणमा भएका गतिविधि र खर्चको बिवरण अव साप्ताहिक रुपमा सार्वजनिक गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल बताए। आम्दानी खर्च सार्वजनिक कार्यक्रमको समापन गर्दै नगर प्रमुख रणबहादुर राईले पूर्वको ढोकाको रुपमा रहेको पशुपतिनगरमा राम्रो ब्यवस्थापन गरेका कारण इलाम सहितका जिल्लालाई सुरक्षित राख्न सफल भएको बताए ।
नगर प्रमुख राईले कोरोनाको महामारीका बिच पनि नगरका नियमित काम र बिकास निर्माणका काम अगाडी बढाईएको जानकारी दिए । उनले भने ‘नाकामा सुरक्षा गार्ड भएर बसेर भए पनि धेरै क्षेत्र सुरक्षित राख्न सकियो ।’ नगर प्रमुख राईले संघ , प्रदेश र स्थानीय सरकार बिचको समन्वयका कारण पनि कोरोना नियन्त्रणमा सफलता मिलेको बताए । चियाको राजधानी मानिएको नगर क्षेत्रमा कोरोनाकै महामारीका बिच पनि मापदण्ड बनाएर चिया टिप्ने र उद्योग संचालनको काम सराहनिय भएको राईले बताए । कार्यक्रममा वडाध्यक्ष, बिभिन्न संघ संस्थाका प्रतिनिधि , संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।


