दुई दिनदेखि परेको अविरल बर्षाका कारण बिहीबार राति गएको पहिरोले फालेलुङ गाउपालिकामा व्यापक क्षति पुर्याएको छ ।
सदरमुकाम फिदिमदेखि सु्दुर उत्तरमा पर्ने फालेलुङ गाउँपालिका–३ मेमेङका ताङलेपा, खोलाघर, फालेलुङ –४ एकतीनको चुक्पादेन लगायत आसपासको क्षेत्रमा गएको पहिरोले घरसहित बगाएर एक जनाको मृत्यु र एकैघरका तीन जना वेपत्ता भएका छन् । पँ‘चथरको फालेलुङ गाउँपालिका ३ मेमेङ ताङ्लेपामा ५५ वर्षीय विष्णुभक्त राई, छोरी १२ वर्षीया गंगा राई र ११ वर्षीया नातिनी प्रिया राई पहिरोले घरसहित वेपत्ता भएका छन् । अर्का एकतीनस्थित चुक्पादेनका ७५ वर्षीय त्रिलोचन विश्वकर्मालाई घरसहित बगाएको छ । उनको शव पहिरोमा भेटिएको छ । वेपत्ताको शव स्थानीयबासीद्धारा खोजी कार्य जारी छ ।

मेमेङको ताङलेपामा दश वटा घर पूर्ण रुपमा क्षति भएका छन् । घर क्षति भएपनि त्याँहाका बासिन्दाहरु राति भागेर ज्यान जोगाएको स्थानीयबासीले जनाएका छन् । सोही गाउँमा घर पूर्णरुपमा क्षति भएकोले थप वीस वटा घरपरिवार विस्थापित छन् । सदरमुकामदेखि प्रहरी प्रमूख डिएसपी नकुल पोखरेलको नेतृत्वको टोली घटनास्थलर्फ गएपनि अझै पुग्न सकेको छैन । जताततै पहिरोले अवरोध पुर्याएकाले स्थानीय प्रहरी चौकी एकतीन र मेमेङबाट गएको प्रहरी समेत घटनास्थल पुग्न नसकेको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बताए । स्थानीयबासी रबिन केरुङका अनुसार एमाले नेता कमलप्रशाद जवेगूको फालेलुङ गाउपालिकास्थित मेमेङस्थित पूख्र्यौली घर समेत पहिरोले बगाएको छ ।बर्षाको कारण गएको पहिरोले स्थानीय निवुखोलाबाट उत्पादित १३ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना समेत बगाएको छ । जलविद्युत आयोजना बगाएपछि त्यसक्षेत्रमा अन्धकार भएको छ भने नियमित बर्षादको कारण हिंडडुल गर्न निकै कठिन भएको छ । स्थानीयबासीका अनुसार माङ्लेबुङमा पनि पहिरोले दश घरपरिवारलाई क्षती पुर्याएको छ ।
चारैतिरबाट बाढी पहिरोले कटान गर्दै आएपछि जोखिममा परेका मानिसहरुलाई भाग्ने ठाउँ र बाहिरबाट उद्धार गर्न जानसक्ने अवस्था पनि नरहेकोले त्यसक्षेत्रका बासिन्दाहरु त्रासदीपूर्ण अवस्थामा रहेको स्थानीयबासी सुरेन्द्र अभिकारीले टेलिफोनबाट जानकारी गएका छन् । फालेलुङ क्षेत्रमा व्यापक बाढी पहिरो गएकाले क्षतिको विवरण बढन सक्ने बताइएको छ । बाढी पहिरोले मानवीय क्षति र प्राकृतिक र भौतिक क्षति विवरण बृद्धि हुनसक्ने स्थानीयबासीले जनाएका छन् ।
पहिरोले जोखिममा परेको घर छाडेर सुरक्षितस्थानतर्फ गएपनि गोठमा रहेका गाइवस्तु, रागाभैसी, भेंडाबाख्रा, कुखुराचल्ला पशुपंक्षि हजारौंको संख्यामा क्षति भएको समेत त्याहाका बासिन्दाले जनाएका छन् । जिल्लाको सबै गाउ वडा टोलसम्म सडक यातायातको पहुँच विस्तार भइसकेको भएपनि बाढी पहिरोले क्षति पुगेकोले सवारी जान सक्ने अवस्था नरहेकोले प्रहरी र संचारकर्मीको टोली पैदल यात्रा गरिरहेको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बताए ।