इलामः इलाम नगरपालिका–९ सुकिलुम्बामा निर्माणाधीन फाल्गुनन्द विमानस्थल निर्माण कार्य ढिलो हुँदा केउरेनी गाउँकी रनमया तामाङलाई घरमाथिको पहाड बगेर घरवास उडाउने हो कि भन्ने चिन्ताले सताउँछ।
उनीमात्र होइन निर्माणाधीन विमानस्थल नजिकका अन्य बासिन्दा ४ वर्षदेखि ढुक्कले निदाउन पाएका छैनन्। निर्माण शुरु भएको चार वर्ष बित्दा पनि पानीको भल व्यवस्थापनको कामले पूर्णता नपाउँदा निर्माणधीन विमानस्थल मुनि बस्ने स्थानीय त्रासमा दिन काट्न बाध्य छन्।
‘यो वर्ष खासै ठूलो पानी परेको छैन तर पानी पर्न शुरु गरेपछि राति जागा बस्नुको विकल्प छैन’ रनमायाले सुनाइन्, घर नै बगाउँछ कि भनेझैं गरी भेल आउँछ। नाली व्यवस्थापनको लागि धेरैलाई आग्रह गर्दा कसैले वास्ता नगरेको उनले बताइन्। ‘ठेकेदारले असोजपछि काम थाल्ने बताएका छन्। धेरैको घर जोखिममा छ’, उनले भनिन्, ‘इञ्जिनियर, नेता, पत्रकार सबैले घर मुनिको पहिरो हेरेर फर्के तर घर जोगाउने उपाय कसैले ल्याएनन्।’ उनको घरमाथि जमिन धाँजा फाटेको एक वर्ष भयो। उनले गुनासो सुनाइन्, ‘एयरर्पोट बनाउन थालेकाले पानीको स्रोत समेत सुकेको छ, टाढाबाट बोकेर ल्याउनुपर्छ।’

उनको जस्तै समस्या भोगिरहेकी छन्, विमानस्थल निर्माणस्थलमुनिका कयौं परिवार। निर्माणधीन विमानस्थलमुनि दुई रोपनी जमिन भएका लालबहादुर तामाङलाई पनि घरैबाट हवाइजहाज उडेको हेर्ने रहर थियो। तर अहिले हवाइ जहाज होइन उनको एक रोपनी जमिन पानीको भलले बगाइदिएको छ। विमानस्थलको एक छेउमा बाख्रा चराउँदै गर्दा तामाङले सुनाए ‘सबैको जग्गा भेलले खाइदियो। बन्दै गरेको विमानस्थलमुनि एक दर्जनको हाराहारीमा गल्छी बनेका छन्। पानी पर्न थालेपछि सबैको मनमा त्रासले डेरा जमाउन थाल्छ।’ निर्माणधीन विमानस्थलभन्दा केही माथि घर भएकी सरिता तामाङले पाँच वर्षमा काम सकिने सुनेकी थिइन्। लामो समयसम्म कामै नभएपछि अब नबन्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ, उनलाई।

सदरमुकामवाट पाँच किलोमिटर दक्षिणमा रहेको सुकिलुम्बामा विमानस्थल बनाउन लामो समयसम्मको जग्गा व्यवस्थापनको प्रयास भएको थियो। जग्गा खाली गरेपछि चार वर्ष अघि काम थालिएको हो। अहिले सम्म १५ परिवारको जग्गा बगाएको इलाम नगरपालिकाले जनाएको छ। यो वर्ष ८ करोड १६ लाखको लागतमा पहिरो रोकथाम र नाली बनाउने ठेक्का सदर भएको छ। आठ करोडको हाराहारीमा खर्च भइसकेको विमानस्थलको निर्माण कार्य भने सुस्त भएको स्थानीयले बताएका छन्।
अहिले हवाइ मैदानमा माटो फिलिङको काम भने सुरु भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले दश करोड रुपयाँ विनियोजन गरेको नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिए। यो पटकको बजेटले नाली व्यवस्थापन सहितका काम गर्ने उनले बताए। मेचीका पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ र सिक्किमका बासिन्दाका लागि पनि सहज हुने ठानिएको छ। विमानस्थलको कच्ची धावनमार्ग निर्माण गरिएको एक वर्षपछि मात्र नालीको काम सुरु भएको थियो।

गत आर्थिक वर्षमा एक करोड छुट्याइएको थियो। नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थललाई कालोपत्रेसहित सञ्चालनका लागि ४३ करोड बजेट लाग्ने छ। ‘ड्रेनाइज व्यवस्थापनमा १२ करोड, रन वे कालोपत्रे गर्न १७ करोड, टर्मिनल भवनलगायतमा ६ करोड रुपैयाँ हाराहारी बजेट आवश्यक पर्छ’ इन्जिनियर न्यौपानेले भने। १८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २८ रोपनी जग्गा साविकको जिल्ला विकास समिति, इलाम नगरपालिका, साविकका ४८ गाविस, दर्जनौं संघ संस्था र निजी स्तरबाट दुई करोड २६ लाख रकम संकलन गरी स्थानीयबाट अधिग्रहण गरिएको थियो। विमानस्थलमा ६० मिटर चौडा र सात सय ६० मिटर लम्बाइ भएको कच्ची धावनमार्ग निर्माण हुनेछ।

एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा विमानस्थलको शिलान्यास भएको थियो। शिलान्यासअघि नै यो विमानस्थाल बनाउन प्राविधिक रुपमा उपयुक्त नभएको विज्ञहरुले सुझाव दिएका थिए। उनीहरूले झापाको विमानस्थननजिक रहेको, सडकको सहज पहुँच भएको कारण देखाउँदै विमानस्थलका लागि उपयुक्त नभएको सुझाव दिएका थिए। टमिर्नल टावरका लागि भवन निर्माण, धावनमार्ग कालोपत्रे, नाली निमाण, विमान पाकिर्ङ र कार पार्किङ, भञ्ज्याङदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।