इलाम । सरकारले शुक्रबारसम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० खर्च हुने गरेको भन्दै हालसम्म ५ लाख ७९ हजार ८९९ टेस्ट हुँदा सो रकम खर्च भएको जानकारी दिए ।
उनका अनुसार यसमा पीपीई, मास्कलगायतको खर्च जोडिएको छैन । गौतमले ३ अर्ब १८ करोड बढी खर्च गरेर हालसम्म ३० हजार ४सय ८३ जनामा पोजेटिभ केस पाइएको भन्दै यस हिसावले एक जना संक्रमित भेट्टाउन सरकारको १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको पनि जानकारी दिए । यसबाहेक संक्रमित पुष्टि भएपछि पनि उपचारमा ठूलो धनराशी खर्च हुने भन्दै कोरोनाबाट बच्न सरकारले बनाएको मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरे ।
‘एउटा केस भेट्दाखेरी हाम्रो राज्यको १ लाख ४ हजार रुपैयाँ खर्च हुन्छ । त्यसपछिको उपचारमा पनि खर्च हुन्छ । एकजना व्यक्तिलाई आईसीयूमा ३० दिन राख्नु पर्यो भने ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसरी कोरोनाको जाँच गर्ने, जाँचबाट पोजेटिभ पत्ता लगाउने, उपचार गर्न बहुत खर्चिलो छ’, प्रवक्ता गौतमले भने, ‘यसैले जरुरी काम नपरी घरबाट ननिस्कन अनुरोध छ।’