चुलाचुली । झापासंग सिमाना जोडिएको इलामको चुलाचुली गाउँपालिकाको क्वारेन्टाइन खाली हुँदै गएको छ । स्वाब संकलनको दायरा बढाउनुका साथै क्वारेन्टाइनमा बस्नेको संख्या घटेपछि चुलाचुली गाउँपालिका– २ बाह्रगोठेमा रहेको क्वारेन्टाइन खाली हूँदै गएको हो । हाल सो क्वारेन्टाइनमा हाल २ जना मात्र रहेका छन् । मंगलबार क्वारेन्टाइनमा रहेका १० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बस्नेका संख्या २ जना मात्र रहेको स्वास्थ्य शाखा प्रमुख दुष्यन्त दाहालले बताए ।
उनीहरु ४ दिन अघि भारतबाट क्वारेन्टाइनमा बसेका छन् । झापासंग सिमा जोडिएपनि चुलाचुलीमा कोरोनाको संक्रमण देखिएको छैन् । गाउँपालिकाले हालसम्म क्वारेन्टाइनमा बसेका १२२ जना र क्वारेन्टाइन बाहिरका ५० जनाको पिसिआर परिक्षण गरिसकेको छ । ‘ विभिन्न देशबाट आएर क्वारेन्टाइन बसेका अतिरिक्त प्रत्येक वडाबाट बाहिर हिडिरहने काम परेका व्यवसायी, जनप्रतिनिधिहरुको स्वाब लिइएको हो । ’ दाहालले भने ‘झापाको दमकसंग सिमाना जोडिएपनि कोरोनाको जोखिम भने कम नै छ ।’
कोरोना नियन्त्रणमा इलामको चुलाचुली गाउँपालिकाकाे ७ काम
गाउँपालिकामा खाडी मुलुक कतार, साउदी, दुवई, मलेसिया, भारत लगायतका देशबाट आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बस्नेको चाप घटेसंगै गाउँपालिकाले वडा नं १ कमलमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइन हटाएको छ । जनता माध्यमिक बिद्यालय बाह्रगाेठेमा मात्र बाहिरी मुलुकबाट आएकालाई राखिएको छ ।
‘१ महिना भयो जनता मावि कमलको क्वारेन्टाइन हटाएको ।’ दाहालले भने ‘एका तर्फ क्वारेन्टाइनमा बस्नेको चाप गाउँपालिकामा कम भयो एउटै क्ववारेन्टाइनमा बस्न पुग्ने भयाे । अर्को तर्फ स्वास्थ्यकर्मीहरुको लागि पनि टाढा भयो । निरन्तर निगरानी गर्न गार्हाे हुने भएपछि बाह्रगाेठेमा मात्र राखिएकाे छ । ’ केन्द्रिय सरकारले विदेशबाट आउनेको पिसिआर काठमाण्डौमा गर्ने व्यवस्था मिलाए गाउँपालिकाको क्वारेन्टाइन खाली रहने दाहालले जानकारी दिए ।