फिक्कल : सूर्योदय नगरपालिकाले गत साउन २२ गतेबाट नगर क्षेत्रमा लगाएका लकडाउन र आइतबारे बजार सिल खुल्ला गरेको छ । नगर कार्यपालिकाको ९५ औ आकस्मिक बैठकबाट निर्णय भएको लकडाउन र सिल खुल्ला भएको हो । सम्भावित बढ्दो संक्रमण जोखिमको प्रभावकारी रोकथाम र नियन्त्रण गर्ने सन्दर्भमा अत्यावश्य सेवा बाहेक नगर क्षेत्र भित्रका विभिन्न सरकारी, गैर सरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघ संस्थाबाट प्रदान गरिने सेवा बन्द गरेको थियो ।
कोरोना संक्रमित व्यक्तिहरुसंग सम्र्पकमा आएका समुदाय स्तरका व्यक्तिहरुको पिसिआर टेस्ट गर्दा संक्रमण नदेखिएपछि लकडाउन खुल्ला गरिएको नगरपालिकाले जनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्ने जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड, जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसी) को साउन २३ गतेको निर्णयबाट पालना गर्नुपर्ने मापदण्ड पालना गर्नुपर्ने जनाएकाे छ ।
त्यसैगरी नगरको साउन २४ गतेको बैठकबाट अनिवार्य पालना गर्नुपर्ने मापदण्ड पालना गराउने गरी होटल, रेष्टुरेन्टमा हुने सामुहिक भोज, पार्टी, सेमिनार र सामुहिक भेला, टोल समाजमा भिडभाड हुने खालका कुनै पनि धार्मिक सामाजिक क्रियाकलापहरु नगराउने गरी आज अपराहन्न १२ बजेबाट खुल्ला भएको प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलद्धारा जारी गरेको सुचनामा उल्लेख छ ।
आइतबारेको सिल खोलियो
सूर्योदय नगरपालिका–११ आइतबारेका ३३ बर्षिय शसस्त्र प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि सिल गरिएको बजार आजबाट खोलिएको छ । संक्रमित व्यक्तिसंग सम्र्पकमा आएकाहरुको पिसिआर रिर्पोट नेगेटिभ आएपछि सिल गरिएको चार किल्ला आजबाट खुल्ला गरिएको हो ।
कोभिड–१९ समुदाय स्तरमा फैलन नदिन नगर कार्यपालिकाको बैठकले बजारको दक्षिणपुर्व मेची राजमार्गको एपिएफ पोष्ट, दक्षिण पश्चिम मेची राजमार्गबाट आइतबारे बजार छिर्ने मुख, उत्तर आइतबारे पुरानो धारा, पुर्व उत्तर पूणे डाँडा पानी ट्याङकी क्षेत्र सिल गरेको थियो ।