Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपालका २३ जिल्लामा लोपोन्मुख रेडपाण्डा

नेपालका २३ जिल्लामा लोपोन्मुख रेडपाण्डा

  • सुजन तिमल्सिना/ नमीन ढकाल
  • सोमबार, साउन २३ २०७४


नेपालका २३ जिल्लामा लोपोन्मुख रेडपाण्डा

इलाम,  सरकारको पछिल्लो सर्वेक्षणले लोपोन्मुख रेडपाण्डा नेपालको २३ जिल्लामा पाइने पुष्टि गरेको छ । रेडपाण्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा रेडपाण्डा (हाब्रे)को बढी बासस्थान रहेको समेत पहिचान गरेको हो ।

सर्वेक्षणको नेतृत्व गरेको ‘रेडपाण्डा नेटवर्क’ का संरक्षण व्यवस्थापक डम्बर विष्टले रेडपाण्डाको उपस्थिती, तिनको वासस्थान र आहारप्रजातिबारे नयाँ तथ्य पत्ता लागेको बताए । ‘यसअघि गफकै आधारमा हाब्रेबारे व्याख्या गरिन्थ्यो,’ विष्टले भने, ‘अहिलेको अध्ययनले हाब्रे कहाँ कहाँ पाइन्छ भन्ने पुष्टि भएको छ ।’ विष्टसहित ४० जना जीवशास्त्रीहरु संलग्न भएर गरेको सर्वेक्षणले २३ जिल्लाका साविकका ६४ गाविसमा यो वन्यजन्तु पाइने पत्ता लगाएको छ ।

वन मन्त्रालयले ‘हरियो वन कार्यक्रम’ को सहयोगमा पहिलो पटक रेडपाण्डाको सर्वेक्षण गरेको हो । सर्वेक्षणले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटमा रेडपाण्डाको उपस्थिती रहेको देखाएको छ ।

डोल्पा, लमजुङ र भोजपुरमा यसअघि नदेखिएको ठाउँमा पनि रेडपाण्डा भेटिए । दार्चुला, डोटी, बझाङ, अछाम, बाजुरा, मनाङ र गोरखामा यसअघि पाइएका ठाउँमा यसपटक रेडपाण्डा नभेटिएको विष्टले उल्लेख गरे । २ हजार मिटरभन्दा बढी उचाईँमा पाइने रेडपाण्डा निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो । साइटिसको अनूसूची १ र आइयुसिएनको रातो किताबमा अति संकटापन्न सूचीमा सुचीकृत छ ।

मुलुकभर १६ हजार ३ सय १६ वर्गकिलोमिटर क्षेत्रमा रेडपाण्डाको वासस्थान रहेको पनि पत्ता लागेकोा छ । त्यसमध्ये सबभन्दा बढी ४६ प्रतिशत पश्चिम, २८ प्रतिशत पूर्व र २६ प्रतिशत मध्य क्षेत्रमा रेडपाण्डाको वासस्थान रहेको पाइएको छ । विष्टका अनुसार यसअघि मध्य भागमा बढी रेडपाण्डा रहेको बताइन्थ्यो

यो सर्वेक्षणले रेडपाण्डाको ७५ प्रतिशत वासस्थान निकुञ्ज÷आरक्ष वा संरक्षित क्षेत्र बाहिर र २५ प्रतिशत संरक्षित क्षेत्रभित्र रहेको देखाएको छ । ‘सर्वेक्षणले संरक्षण क्षेत्रभित्र भन्दा बाहिरी क्षेत्रमा यो जन्तुको संरक्षणमा जोड दिनुपर्ने देखाएको छ,’ उनले भने । अध्ययनकर्ता विष्टले १७ प्रकारका बाँस र निगालो प्रजाति रेडपाण्डाको मुख्य आहार भएको पनि पुष्टि भएको बताए ।

रेडपाण्डाको संख्या पत्ता लगाउन अनुसन्धानकर्ताहरुले रेडपाण्डा पाइने विभिन्न जिल्लाबाट ३५० वटा दिसाको नमुना काठमाडौं लगेर परिक्षण गरेको थियो । यसअघि नेपालमा २ सय ६१ देखि १ हजारसम्म हाब्रे पाइने अनुमान गरिएको थियो ।

हेर्दै आर्कैषक देखिने र लजालु स्वभावको यो जन्तु सोझो तथा हलुका रातो, सेतो र कालो रंगको हुन्छ । विकास निर्माण,परम्परागत पशु प्रणाली,वासस्थान विनास,कुकुरको आक्रमण, आहाराकको विनास अन्य जनावरका लागि थापिने पासो, अबैध व्यापार जस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको विन्नि अध्ययनमा उल्लेख छ । रुखको खबटामा बस्न चाहने पाण्डाको आहारा मालिङ्गोको पात र टुसा हो । सन् १९९६ मा डा. प्रल्हाद योञ्जनले तीन सयको संंख्यामा रेड पाण्डा भएको अध्ययनमा देखाएका थिए ।

रेड पाण्डा संरक्षणमा जुटेका डब्लु डब्लु एफ नेपाल र स्थानीय संस्थाहरुले छिटपुट रुपमा संरक्षणका क्रियाकलाप गर्दै आएका छन् । गैह्र सरकारी संस्थाको पहल पछि नेपाल सरकार पनि यसमा सहभागी हुन थालेको रेडपाण्डा नेटवर्कका डम्बर बिष्टले बताए । रेडपाण्डा इलामका जोगमाई, जमुना, माईपोखरी, मावु, माईमझुवा पाँचथरका सिदिन, प्राङ्गबुङ्ग, मेमेङ्ग च्याङ्गथापु, फलैचा र लुङ्गरुपामा पाइने रेडपाण्डा नेटवर्कको अध्ययनमा उल्लेख छ । ‘नेपालमा पाइने रेडपाण्डा भारतको दार्जीलिङ्ग, सिक्किम, अरुणाचल प्रदेश, भुटान, चीन र म्यानमारमा समेत पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार