चितवनः शिवनगरस्थित भीमसेन नगरमा जन्मिएकी रेणु दाहाल भरतपुर महानगर महानगरपालिकाको प्रमुख चुनिएकी छिन्। शिवनगर अहिले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा गाभिएको छ। रेणुको जन्म २०३३ साल असार २२ गते भएको थियो।
चितवनमै जन्मिएपनि रेणुका लागि चितवनको राजनीति नौलो हो। उनले यसअघि जिल्लाबाहिर बसेर राजनीति गरेकी थिइन्। उनी माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी माइली छोरी हुन्। तर माओवादीकै भोटले मात्र विजयी भएकी भने होइनन्। नेपाली कांग्रेसको प्रभाव रहेको महानगरमा कांग्रेसको समर्थन पाएपछि दाहाल विजयी भएकी हुन्।
भरतपुमा कांग्रेस र माओवादीले सहकार्य गर्दै प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा कांग्रेसकी पार्वती शाहलाई उम्मेदवार बनाएका थिए। अन्त्यमा दुबै विजयी भए। गठबन्धन सफल भयो।
०५१ सालदेखि राजनीतिमा
प्रचन्डको छोरी भएका कारण उनी राजनीतिक संस्कारमै हुर्किइन्। तर औपचारिक रुपमा उनको राजनीतिक यात्रा २०५१ सालमा माओवादीको सदस्यता लिएपछि मात्रै सुरु भयो। १८ वर्षको उमेरमा राजनीतिमा होमिएकी रेणु २०५२ सालमा माओवादी युद्ध सुरु भएपछि परिवारसँगै भूमिगत भएकी थिइन्।
प्रवासमा अखिल भारत नेपाली महिला संगठन केन्द्रीय समिति अध्यक्ष तथा जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सह–ईन्चार्जको भूमिका निर्वाह गरिसकेकी दाहाल अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव हुन्। दाहाल काठमाडौैकी जिल्ला सह–सचिव हुँदै हाल पार्टीको पोलिटब्यूरो सदस्य समेत छिन्। चितवनमै प्रवेशिकासम्मको अध्ययन गरेकी दाहाल पहिलो संविधान सभामा समानुपातिकबाट सभासद् थिइन्।
दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौैै क्षेत्र नं। १ मा उम्मेदवार बनेकी दाहाल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन्। दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो। उनका एक छोरा र एक छोरी छन्। उनी भरतपुर महानगरपालिका वडा नं १० मा बस्दै आएकी छिन्। बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउँछिन्। ( थाहा खबरबाट)