इलाम । इलाममा उत्पादन हुने ४० प्रकारका जडिबुडी प्रशोधन गर्न एक नम्बर प्रदेश सरकारले प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । उत्पादन भएको जडिबुृटी भारत र चिन निकासी हुने गरेपनि मुल्य अत्याधिक कम हुँदा किसान समस्यामा परेपछि प्रशोधन केन्द्र स्थापना गरिँदै आएको हो ।
किसानले उत्पादन गरेको जडिबुटीको प्रशोधन गर्न इलामको माईजोगमाई गाउँपालिका २ मा प्रदेश सरकारले जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने भएको सामाजिक विकास मन्त्रालयका योजना माहाशाखा प्रमुख अम्बिका चौलागाईले बताउनुभयो । उत्पादन भएको जडिबुटीको मुल्य ८० प्रतिशतसम्म कम भएपछि किसानले माग गरेपछि प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रस्तावमा प्रशोधन केन्द्र निमार्णको प्रारम्भिक काम शुरु भएको हो ।

माईजोगमाई गाउँपालिका २ स्थित छिपछिपेमा ५ रोपनी क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण गरिने भएको हो । प्रशोधन केन्द्र निर्माणका लागि माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले ५ रोपनी जग्गा दान दिनुभएको थियो । प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सासंद खिनु लङ्वा लिम्बु सहित सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले बिहिबार स्थलगत अध्ययन गरेको छ । अध्ययन टोलीले प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक पर्ने संरचना निर्माणबारे स्थानीय तहका जनप्रतिनिधि र जडिबुटी किसानहरुसँग छलफल गरेको थियो ।
प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ मा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयका आयुर्वेद विभाग प्रमुख सरोज बिशालले बताउनुभयो । विनियोजन भएको बजेट डिपिआर गर्ने र निर्माणको काम शुरु हुने बिशालले जानकारी दिनुभयो । ‘डिपिआर निर्माण भएपछि पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन गरिने छ, बिशालले भन्नुभयो–‘ प्रशोधन केन्द्र निर्माण भएपछि स्थानीय तह र जडिबुटी सहकारीको सहकार्यमा संचालन गर्ने योजना छ ।’
प्रशोधन केन्द्र स्थापना भएपछि खेर जाने जडिबुटीले बजार पाउनुका साथै किसानको आर्थिक अवस्था वृद्धि गर्न सहयोग पु¥याउने प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताउनुभयो । ‘प्रशोधन केन्द्र निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र जडिबुटी सहकारीको सहकार्यमा सम्पन्न गरिनेछ, सांसद लिम्बुले भन्नुभयो–‘ इलामको उच्च पहाडी क्षेत्रमा व्यवसायीक रुपमा किसानले जडिबुटी खेती गर्दै आएकाले उचित मुल्य समेत पाउनेछन् ।
इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा व्यवसायीक रुपमा किसानले जडिबुटी उत्पादन हुँदै आएको छ । जडिबुटी प्रशोधन केन्द्र स्थापना भएपछि किसानले स्थानीय स्तरमै उचित मुल्यमा बिक्रि गर्न सक्ने भएकाले किसानले फाइदा लिने गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताउनुभयो । ‘खेती गरिएको जडिबुटीबाट किसानले अहिले उचित मुल्य पाएका छैनन्–‘राईले भन्नुभयो–‘ लेकाली बारीमा खेर गएका जडिबुटी संकलन गरेर बिक्रि गर्न सकिने भएकाले किसानको आर्थिक क्षेत्रमा पनि सुधार हुने छ ।’
प्रशोधन केन्द्रको कामका लागि इलामको सूर्योदय नगरपालिमा रहेको मेची आयुर्वेद औषधालय मार्फत बजेट कार्यान्वयन हुने औषधलायका वरिष्ठ कविराज तिर्थ आचार्यले बताउनुभयो । प्रदेश सरकारले आगामि आर्थिक वर्षमा प्रशोधन केन्द्रको कामका लागि बजेट विनियोजन गरेकाले हामी साउनको दोस्रो साता देखिनै कार्यान्वय चरणमा जान्छौँ–आचार्यले भन्नुभयो–‘हामी अख्तियारी आउनु बित्तिकै काम शुरु गर्ने तयारी अवस्थामा छौँ ।’
इलामका किसानले चिराइतो, सतुवा, लौठसल्ला, मजिटो, बिख्मा लगायत ४० प्रकारका जडिबुटी व्यवसायीक रुपमा खेती गर्दै आएका छन् । धेरै किसानले चिराइतो र लौठसल्लाले व्यवसायीक रुपमा खेती गर्दै आएको डिभिजन वन कार्यालय इलामका साहायक वन अधिकृत याम बहादूर रुम्बाले बताउनुभयो । इलाममा व्यवसायीक रुपमा जडिबुटी खेती गर्न डिभिजन वन कार्यालयले जडिबुटी विकास कार्यक्रम संचालन गर्दै आएको छ ।