Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रंगिन खेलकुदको कालो रंगभेदी कथा

रंगिन खेलकुदको कालो रंगभेदी कथा

  • नमीन ढकाल
  • बिहिबार, जेष्ठ २९ २०७७


रंगिन खेलकुदको कालो रंगभेदी कथा

विश्व खेलकुदमा हरेक बर्ष रंगभेदी व्यवहारले चर्चा पाउँछ । अमेरिकामा अश्वेत जातिका जर्ज फ्लोइडलाई श्वेत पुलिस अधिकारीले घुँडाले किचेर मारेपछि विश्व खेलकुदमा रंगभेदको बहसले पुनः चर्चा पाएको छ । विशेष गरेर फुटबलमा हुने रंगभेदको व्यवहारले मिडियामा राम्रै स्थान पाउँछ । सोमवार जर्मन बुन्डेस लिगामा पार्डबोर्नमाथि जित निकालेसँगै डर्टमन्डका केही खेलाडीहरुले फ्लोइडको न्याय मिल्नुपर्ने भन्दै टिसर्टमा लेखेर प्रदर्शन गरेका थिए । त्यस्तै इङ्लिस क्लब लिभरपुलका खेलाडीले पनि फ्लोयडको हत्याविरुद्द एक्यवद्धता जनाएका छन् । सोमवार एनफिल्ड स्टेडियममा सेन्टरमा घुँडा टेकेर गोलो घेरा हाल्दै फ्लोयडको हत्या विरुद्ध एक्यवद्धता जनाएका हुन् । खेलाडीहरुले उक्त तस्बिर शेयर गर्दै ’ब्लाक लाइभ्स म्याटर्स’, ’युनिटी इज स्ट्रेन्थ’ लगायतका क्याप्सनहरु दिएका छन् ।

म्यानचेस्टर युनाइटेडका खेलाडी मार्कस रासफोर्डले फ्लोइडमाथि न्यायको माग गरेका छन् । म्यानेस्टरकै मिडफिल्डर पाउल पोग्बाले इन्स्टाग्राममा पोष्ट गर्दै लेखेका छन् ‘बितेका दिनहरूमा मैले मिनियापोलिसमा के भयो भन्ने बारेमा मेरो भावनाहरू कसरी व्यक्त गर्ने भन्ने बारेमा धेरै सोचेको छु । मैले रीस, दया, घृणा, क्रोध, पीडा, उदासी महसुस गरें । जर्ज र सबै कालो मानिसहरु को लागी दुख जो हरेक दिन जातिवाद बाट पीडित छ ! चाहे फुटबलमा, काममा, स्कूलमा, जे भए पनि ! यो रोक्नुपर्दछ, एक पटक र सबैको लागि ! भोली वा अर्को दिन होईन, आज समाप्त गर्नुपर्नेछ !’

पोग्बा आफै पनि रंगभेदी व्यवहारको सिकार भएका थिए । प्रिमियर लिग अन्र्तगत वुल्भ विरुद्ध बराबरी भएको खेलमा खेलमा पेनाल्टी सदुपयोग गर्न नसक्दा उनीमाथी रंगभेदी व्यवहार भएको थियो । त्यस बिषयमा पोग्बाले ट्विट गरेका थिए । जहाँ आफनो सन्तान सहितको फोटो राखिएको थियो । स्वर्गीय पिता फासु एन्टोनी र नागरिक अधिकारकका लागि लडेका मार्टिन लुथर किंग सँगै रहेको फोटोमा लेखेका छन्, ‘आफ्ना सन्तानहरु अहिले स्वतन्त्र हुन् भनेर मेरा अभिभावक र पूर्खाहरु लडेका थिए, हामीले काम गर्न सकौँ, हामी सजिलै बस चढ्न सकौँ, हामी फुटबल खेल्न सकौँ भनेर ।’

शालिन खेलको पहिचान बनाएको क्रिकेटमा पनि रंगभेदको व्यवहार उत्तिकै छ । जसको सिकार बनेका थिए वेष्ट–इन्डिजका पूर्व कप्तान डयारेन सामी । इन्डियन प्रिमियर लिग दौरान सनराइजर्स हैदराबादबाट खेल्दा आफु र श्रीलकन खेलाडी थिसारा परेरा माथी रंगभेग भएको सामीले आरोप लगाए । ‘प्रतियोगिताको क्रममा हामी दुबैलाई कालु भनेर धेरैपटक सम्बोधन भएको छ’, उनले भने, ‘आफु र परेरालाई कालू भनेर बोलाउदा जसको अर्थ बलिलो घोडा भनेर बुझिदिन्थ्यौँ । तर हैन रहेछ, हामीलाई रंगभेदको सिकार बनाईएको रहेछ, यसले त रंग जनाउदो रैछ । यसको अर्थ थाहा पाएर अहिले मलाई रिस उठिरहेको छ,’ उनले भनेका छन् ।

क्रिकेटमा युनिभर्सल बोसका रुपमा परिचित क्रिस गेलले क्रिकेटमा पनि रंगभेद हुने गरेको धारणा राखेका छन् । रंगभेदको बारेमा ट्विट गर्दै गेलले भनेका छन् ‘‘कालो मान्छेहरूको जीवन पनि अरूको जीवन जस्तो हुन्छ । ब्ल्याक लाईफ म्याटर्स,मैले सम्पूर्ण विश्व यात्रा गरेको छु र मेरो छाला कालो भएकै कारण जातिय कुरा सुनेको छु । रंग भेद बढ्ने क्रम जारी छ । जातिवाद फुटबलमा मात्र होईन, यो क्रिकेटमा पनि छ । र यो चारै तिर छ ।’

रंगभेदको सवैभन्दा बढि घटना फुटबल जगतमा पाइन्छ । फुटबल आफैँमा त्यसै चर्चित भएको होइन, यसलाई खेल्ने खेलाडीका कारण यो चर्चाको शिखरमा छ । तर, आलोचना र दुव्र्यवहारका कारण एउटा खेलाडीले आफ्नो खेल करिअर नै समाप्त पार्नु र त्यसैका आधारमा दर्शकहरुमा समेत नकारात्मक धारणा विकास हूँदै आएको छ । त्यही रंगभेदी व्यवहारका कारण जर्मनी फुटबलर मेसुट ओजिलले सन २०१८ को विश्वकप पछि राष्ट्रिय टोलीबाट ९ बर्षे करियर अन्त्य गरे । ओजिल त्यसबेला ३० बर्षको मात्र थिए ।

यो समय फुटबल करियरमा खेलाडीको उच्च फर्मको उमेर हो । तर फुटबल मैदान बाहिरको व्यवहार ओजिलका लागि राष्ट्रिय जर्सी लगाउनका लागि सहज भएन् । त्यसपछि अहिले प्रिमियर लिग क्लब आर्सनलको करियरलाई बिशेष ध्यान दिइरहेका छन् । मुस्लिम समुदायका ओजिलमाथी रंगभेदको कारणको रुपमा टर्किस राष्ट्रपति रेसेप टाइप एर्दोगोन सँग खिचाएको फोटो र रुस विश्वकपबाट डिफेन्डिङ च्याम्पियन लिग चरणबाटै बाहिरिनुलाई लिइएको थियो । सन २०१४ को ब्राजिल विश्वकपको उपाधि दिलाउन ओजिलले महत्वपुर्ण भुमिका खेलेका थिए । समर्थक र जर्मन फुटबल संघबाटै ओजिलविरुद्ध नश्लवादी आरोप आएपछि राष्ट्रिय टोलीबाट बाहिरिए ।
ओजिल तिनै खेलाडी हुन् जसलाई जर्मन फुटबल फ्यान्सहरुले ५ पटक बर्ष खेलाडी चुनेका थिए । ओजिल जर्मनीमै जन्मिए पनि उनी टर्किस मूलका मुस्लिम हुन् । तीन पुस्ताअघि ओजिलको परिवार उत्कृष्ट जीवनयापनका लागि जर्मनी गएको थियो ।

२ बर्ष अघि ओजिलले ट्वीटरमार्फत सार्वजनिक गरेको अपिलमा आप्रवासी भएका कारण आफूलाई सदैव विभेद हुँदै आएको खुलाएका थिए । त्यसैले पनि जर्मनी टिमबाट फुटबल खेल्न असमर्थ रहेको उनले स्पष्ट पारेका छन् । उनले लेखेका थिए म जर्मनमा हुर्किए मेरो परिवारको पृष्ठभुमीमा यसको दुई जरा टर्कीमा आधारित छ । त्यसैले मेरो दुई वटा हृदय छ एउटा जर्मनी अर्को टर्किस ।’ ओजिलको ट्विटलाई इङिगत गर्दै लेखिएको छ ‘जब म जित्छु, तब म जर्मन हुन्छु । र, जब म हार्छु, तब एक प्रवासी नागरिक हुन्छु ।’

भरखरै ओजिलको स्र्पोटस ब्रान्ड एडिडाससँग ७ बर्षे लामो सम्झौता नविकरण भएन् । यसको मुख्य कारण विश्व फुटबलबाट सन्यास र टर्किस राष्ट्रपतिसँगको विवादास्पद फोटो भएको चर्चा चल्यो । यदपी अन्तराष्ट्रिय संचारमाध्यमहरुले साझेदारी विस्तार नगर्ने निर्णय ओजिलले गरेको कुनै पनि विवादसँग नजोडिएको उल्लेख गरेका छन् । ओजिलसँगको २२ मिलियनको सम्झौता सन २०१३ मा भएको थियो । जुन समय उनी रियल मड्रिडबाट प्रति साता ३ लाख ५० हजार पाउन्ड आम्दानी ग¥र्थे । तर जर्मन राष्ट्रिय टोलीको स्र्पोटस किट पार्टनर एडिडाससँग ओजिलको सम्झौता १७.५ मिलियन पाउन्डसम्म मात्र जारी रहयो ।

फुटबलमा रंगभेदी र नश्लवादी आरोप भोग्ने ओजिल मात्र एक्ला हैनन् । यसको फेहरिस्ता लामै बन्छ । बार्सिलोनाका राइट व्याक डिफेन्डर ड्यानी अल्भेसले समेत रंगभेदको व्यवहार भोगे । सन २०१४ मा ला लिगा अन्र्तगत भिल्लारियलको मैदानमा कर्नर किक प्रहार गर्न लाग्दा दर्शकदीर्घाबाट केरा फालियो । उनले त्यो केराको एक टुक्रा खाए र कर्नर किक प्रहार गरे ।

स्पेनमा काला वर्णका खेलाडीलाई जिस्काउँदा र होच्याउँदा बाँदरको संज्ञा दिने गरिन्थ्यो । त्यो केरा त्यसैको प्रतीक थियो । केरा हान्ने भिल्लारियलका सर्मथकलाई पक्राउ गरिएपछि ब्राजिलियन अल्भेसले प्रतिक्रिया दिँदै भनेका थिए “मलाई आशा छ कि यो (अभियान) फुटबलबाट पूर्ण रूपमा यस किसिमको मनोवृत्तिमाथि प्रतिबन्ध लगाउन सर्तक हुन सक्छ । मलाई आशा छ कि नश्ल पूर्वाग्रहको बारेमा बहस हराउने छैन, स्थायी रुपमा रहनेछ र फुटबलमा मात्र सीमित रहनेछैन् ।’

स्पेनी फुटबल संघले भिल्लारियल घरेलु मैदानमा भएको घटनालाई लिएर क्लबलाई १५ हजार डलर जरिवाना तिराएको थियो । त्यसैरी सन २०१५ मा ला लिगाकै दौरान इस्पान्योलका सर्मथकले ब्राजिलको जोडी नेयमार र ड्यानी अल्भेसलाई बाँदरको संज्ञा दिएका थिए ।

सन २०१२ मा इङल्यान्ड टिमका पुर्व कप्तान जोन टेरीलाई रंगभेदी आरोप लागेको थियो । उनले इंग्ल्यान्ड फुटबल टिमका पूर्वकप्तान रियो फर्डिनान्डका भाइ क्विन्सपार्क रेन्जर्स (क्युपिआर) का एन्टोन फर्डिनान्डले रंगभेदको आरोप लगाए । प्रिमियर लिग दौरान चेल्सीका टेरीले रंगभेद गरेको भन्दै अदालतमा मुद्धा समेत परेको थियो । यदपी आरोप प्रमाणित भएन् । ४ दिनपछि उनले सफाइ पाएका थिए । त्यस लगतै टेरीले राष्ट्रिय टोलीबाट समेत सन्यास लिए ।
मिडियासँग स्टर्लिङको आक्रोस :  काला खेलाडीमाथि हुने रंगभेदी व्यवहार मिडियाले उकास्छन्
सन २०१८ को अन्त्यमा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङले फुटबलमा खेलाडीले भोग्नुपर्ने रंगभेदी व्यवहारवारे सार्वजनिक रुपमा आक्रोस पोखेपछि विश्व फुटबलमा यस्ता घटनाहरु धेरै बाहिर आउन थालेका छन् । स्टर्लिङले काला खेलाडीमाथि हुने रंगभेदी व्यवहारलाई सञ्चार माध्यमले झनै उकास्ने गरेको समेत गुनासो गरेका थिए । स्टर्लिंगले आफ्नो सामाजिक पोष्टमा म्यानचेस्टर सिटीका साथी तोसिन अदाराबियोले खरिद गरेको घरको बारेमा मेल अनलाइनमा लेखिएको समाचारको शिर्षक उल्लेख गरेका छन् ।

मेल अनलाइनले २० बर्षे डिफेन्डर अडाराबिओयो ( जो तत्कालिन समयमा वेस्टब्रोममा ऋणमा थिए हाल ब्ल्याक बर्नस रोबरमा छन् ) लाई औंल्याउँदै हेडलाइनले ‘प्रिमियर लिग खेल सुरु नगरे पनि सम्पत्तीमा उसले २.२ मिलियन डलर कसरी खर्च ग¥यो’ भन्दै आलोचना सहितको समाचार प्रकाशन गरेको थियो । त्यसैगरी १८ बर्षिय फिल फोडेनले आफनी आमाको लागि २ मिलियन पाउन्डमा खरिद गरेको घर र पछि भविष्यको बारेमा चर्चा सहितको समाचार छापेको थियो । नाइजेरियन मुलका अडराबिओयोले सन २०१२ देखी २०१५ बिचको अवधिमा इङल्यान्डको यु–१६ देखी यु–१९ राष्ट्रिय टोलीबाट खेलेका छन् । उनले १६ बर्षको उमेरमा इङल्यान्डको यु–१८ टिमको कप्तानी समेत गरेका थिए । यता फोडेनले सन २०१५ यता उमेर समुहबाट प्रतिनिधित्व गरिरहेका छन् ।

स्टर्लिङ आफै पनि बारम्बार रंगभेदको सिकार भएका छन् । सन २०१३ जनवरीमा एसी मिलानका मिडफिल्डर केभिन प्रिन्स बोएटिङले रंगभेदी नाराको सामना गर्न पुगे । दोश्रो श्रेणीको क्लब प्रो पेट्रिआ विरुद्धको मैत्रीपुर्ण खेलमा घानाका मिडफिल्डर विरुद्ध रंगभेदको नारा लाग्यो । त्यसपछि उनले मैदानको बीच भागबाटै बल विपक्षी समर्थकतिर प्रहार गरे । खेलको पहिलो हाफको २६ औ मिनटेमा लगाइएको रंगभेदी नारा कम नभएपछि बोएटिङ जर्सी खोल्दै मैदानबाट बाहिरिए । रेफ्रीले खेल रोके र सबै खेलाडी मैदानबाहिर आए ।

एक खेलाडीप्रति भएको दुव्र्यवहारविरुद्ध सारा टोली खडा भएको यो नै पहिलो घटना थियो । बोएटिङ हाल स्पेनिस क्लब बार्सिलोनाबाट खेल्छन् ।
त्यस लगतै बोएटिङले ट्विट गर्दै लेखे ‘लज्जित छ कि यी कुराहरू अझै हुन्छ …’ नश्लवादको विरुद्ध लड्न प्रेरित गरेको भन्दै बुन्डेसलिगा क्लब फ्रेन्कफर्टमा रहँदा उनलाई सन २०१७ मा डब्लुडिआर रेडियो वान लाइभ क्रोनमा विशेष विधाको अवार्ड दिइएको थियो । जुन पाउने उनी पहिलो फुटबलर समेत हुन् । उनले त्यो अवार्ड रंगभेद विरुद्ध लड्नेहरुका लागि सर्मपण गरेका छन् ।

गत विश्वकप दौरान रंगभेदी ब्यानरका कारण आयोजक रुसलाई अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० हजार स्विस फ्रयान्क जरिवाना लगाएको थियो । उरुग्वे विरुद्धको खेल चलिरहेका बेला रुसका प्रशंसकले रंगभेद झल्किने खालको ब्यानर प्रर्दशन गरेको फिफाले जनाएको छ । त्यस्तै सर्बियाले ब्राजिलसँगको खेलमा राजनीतिक तथा अपमानजनक शब्दसहितको ब्यानर प्रदर्शन गरेका कारण १५ हजार पाउण्ड जरिवाना लगाएको थियो ।
रंगभेदको बढि पिडित बालाटोली
बढि रंगभेदी व्यवहार भोग्नेमा इटालीयन फुटबल मारियो बालाटोली रहेका छन् । २९ बर्षिय बालाटोली करियरका अधिकाँश अवधिमा रंगभेदमा परिरहेका छन् । उनी इन्टर मिलानका लागि खेल्दा प्रतिद्धन्द्धी प्रशंसकले उनलाई ‘त्यहाँ कालो इटालियन छैनन’ भन्ने नारा लगाउँथे । र उनी एसी मिलानबाट एस रोमा विरुद्ध सन २०१३ मा खेल्दा सवैभन्दा बढि रंगभेदीको सिकार भएका थिए । सन २०२० को सुरुवातमा लाजियो विरुद्धको खेलमा समेत बालाटोली रंगभेदको सिकार बन्न पुगेका थिए । उनलाई कालो बाँदरको संज्ञा लाग्दै आएको छ ।

फ्रेन्च लिग वानको नाईस क्लबमा आबद्ध भएर खेल्दा उनलाई कालो बाँदर भन्दै दर्शकहरुले अभद्र व्यवहार देखाएको उनी बारम्बार गुनासो राख्दै आएका छन् । हाल सिरिए क्लब ब्रेसियमा रहँदा पनि उनीमाथी रंगभेदको व्यवहार उस्तै छ । सन २०१२ को युरो कपको दौरान स्पेनी फुटबल समर्थकहरूले इटालीका बालाटोलीलाई इंगित गर्दै बाँदरको स्वर निकालेका थिए । स्पेन र इटालीबीच १–१ को बराबरी खेलपछि समर्थकहरूले यस्तो व्यवहार गरेका हुन् । त्यसअघि सोही प्रतियोगितामा बालाटोली माथी क्रोएसियाली समर्थकले रंगभेदी व्यवहार गरेको आरोपमा कारवाही समेत गरिएको थियो ।
नेपाली फुटबल पनि छैन अछुतो
रंगभेदको व्यवहारबाट नेपाली फुटबल पनि अछुतो छैन् । ६० को दशक यता गेम चेन्जर बन्दै आएका अफ्रिकी मुलका खेलाडीहरु अभद्र व्यवहारको सिकार भएका छन् । गत बर्षको शहिद स्मारक लिगमा जावलाखेलमा फरवार्ड ड्याडी जुनियर वाम्बाले विभागीय टोली त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफु माथी रंगभेदी व्यवहार गरेको आरोप लगाए । नवौ चरणका खेल चलिरहको थियो । पहिलो हाफको इन्ज्युरी समयमा जावलाखेलले फ्रि–किक पाएको थियो र त्यो ‘डेड बल’ प्रहार गर्ने क्रममा रहेका आफ्नै साथीलाई रोक्दै वाम्बाले बल समाते अनि उनले आफूलाई भरतले ‘मंकी’ (बाँदर) भनेको भन्दै रेफ्री कविन व्यन्जनकारलाई सुनाए ।

रेफ्रीले खेलमा खासै वास्ता गरेनन्, खेल सुचारु गर्न लगाए । दाफिन्स नामको क्लब बनाएर क्यामरुनी खेलाडीहरु नेपाल आएका थिए । वाम्बाले ‘प्लेयर बक्स’ मै पुगेर पनि प्रशिक्षक र अफिसियललाई भरतले दुईपल्ट बाँदर भनेको भन्दै खेल्न नचाहेको बताएका थिए । पछि साथीहरूले सम्झाइबुझाइ गरेपछि मात्रै उनी खेललाई निरन्तरता दिन तयार भएका थिए ।
रंगभेदी व्यवहार बढ्दै : किक इट आउट
रंगभेद विरोधी संस्था किक इट आउटको तथ्याङ्क अनुसार फुटबलमा हुने भेदभावपूर्ण व्यवहार पछिल्लो समयमा ३२.३ प्रतिशतले वृद्धि भएको छ । तथ्यांक अनुसार २०१८÷१९ मा विश्व फुटबलमा ४२२ वटा भेदभावपुर्ण व्यवहार गरिएको थियो । जुन अघिल्लो बर्ष ३१९ थियो । विश्वासमा आधारित भेदभाव जसमा इस्लामफोविया र दुश्मनी वा यहुदीहरु विरुद्धको पुर्वाग्रहमा ७५ प्रतिशतले बृद्धि भएको छ । यो संख्या ३६ वटा ६३ पुगेको तथ्यांकमा देखाइएको छ ।

विभिन्न अन्तराष्ट्रिय संचामाध्यम एवम खेलाडीहरुको सामाजिक संजालको पोष्टका आधारमा तयार पारिएको सामाग्री

प्रतिक्रिया
सम्बन्धित समाचार