इलाम, । सरकारी कार्यालयका सुचना अधिकारी कार्यालय प्रमुखप्रति निर्भर हुनुपरेकाले इलामका सुचनाको हक पुर्ण कार्यान्वयन हुन सकेको छैन । कार्यालयहरुले सुचना अधिकारी तोकेपनि अधिकाँश सुचना कार्यालय प्रमुखको अनुमती पछि मात्र दिनुपरेको कार्यक्रमका सहभागीहरुले बताएका छन । नेपाल पत्रकार महासंघको आयोजना र राष्ट्रिय सुचना आयोगको सहयोगमा भएको सुचनाको हक संरक्षण र प्रचलन बिषयक अन्तरक्रियामा सहभागी विभिन्न कार्यालयका सुचना अधिकारीहरुले सुचनाको हक पत्रकार बाहेक अन्य सर्वसाधारणले प्रयोगमा नल्याएको बताए ।
सिचाइ डिभिजन कार्यालय इलाममा पत्रकार बाहेक एक जनाले मात्र सुचनाको हक प्रयोग गरेर निवेदन दिएको कार्यालय प्रमुख बद्री कार्कीले बताए । सर्वसाधारणलाई जानकारीका लागी सिचाइका योजना स्थलमा नै सार्वजनिक सुनवाइ गरिदै आएको कार्कीले बताए ।
गोप्य सुचनाहरु ३० बर्षसम्म राख्नुपर्ने र प्रत्येक १० बर्षमा पुनरावलोकन गर्नुपर्ने प्रावधान रहेको पनि इलाममा कार्यान्वयन हुन सकेको छैन । अघिल्लो सुचना अधिकारीहरुले पुरानो तथ्याङक डिलिट गरिदिने परिपार्टी अधिकाँश कार्यालयमा रहेकाले पुरानो सुचना दिन असहज भएको कृषि विकास कार्यालयका योजना अधिकृत प्रकाशमणी काफलेले बताए । कतिपय सुचनाहरु कार्यालय प्रमुखको अनुमतीपछि मात्र दिनुपर्ने जटिल परिस्थिती रहेको उनले बताए ।
शाखाहरुले कार्यसम्पादन गतिविधीहरु सुचना अधिकारीलाई नदिने गर्नाले चाहेको समयमा सवै सुचना दिन समस्या रहेको इलाम नगरपालिकाका सुचना अधिकारी राम शाहले बताए । उनले कर्मचारीहरुमा सुचनाको हकको ज्ञान नहुँदा प्रभावकारी रुपमा कार्यान्वय हुन नसकेको औल्याए ।
स्थानिय विकास अधिकारी ध्रुवबहादुर खडकाले कानुनमा सरुवा हुँदा नयाँ आउने कर्मचारीलाई पद बुझ–बुझारथ गर्नुपर्ने उल्लेख भएपनि कर्मचारीहरु भेटघाट नै नगरी हिडने प्रचलन रहेको बताए । हरेक ३ महिनामा कार्य प्रगतीको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भएपनि चौमासिक रुपमा सार्वजनिक सुनवाइ गर्ने गरिएको खड्काले बताए ।
हालसम्म जिल्ला प्रशासन कार्यालयमा सुचना नपाएको उजुरी नआएका प्रशासकिय अधिकृत सफल पोर्तेलले बताए । उनले जिल्ला प्रशासनले सवैको सहजताको लागी नियमित रुपमा वेवसाइट अपडेट गर्ने गरिएको बताए ।
अधिकाँश कार्यालयहरुमा लिखित रुपमा सुचना माग्ने आउनेको संख्या निकै कम छ । जिल्ला शिक्षा कार्यालयमा गत बर्ष २ जनाले मात्र लिखित रुपमा सुचना मागेको सुचना अधिकारी निर्मल ढुङगेलले बताए । अधिकाँशले मौखिम रुपमा नै सुचना माग्ने गरेका छन । कार्यक्रममा पत्रकार धर्म गौतमले सुचनाको हक संरक्षण र प्रचलनका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागीहरुले स्थानिय तहमा सुचनाको हक सम्वन्धि जनचेतनामुलक अभियान संचालन गर्नु पर्नेमा जोड दिए ।