Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा भाइरल ज्वरोको प्रकोप बढ्यो

इलाममा भाइरल ज्वरोको प्रकोप बढ्यो

  • सन्देश सम्बाददाता
  • शुक्रबार, साउन १३ २०७४


इलाममा भाइरल ज्वरोको प्रकोप बढ्यो

इलाम ।  भाइरल ज्वरोको प्रकोप जिल्लामा अत्यधिक बढेको छ। बर्खायाममा बर्से्नि फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ। प्रकोप बढेपछि साबिकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि आउने गरेका छन्।

जिल्ला अस्पताललगायत चार प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्रमा दिनहुँ बिरामी थपिँदै गएको सम्बन्धित स्वास्थ्य संस्थाका कर्मचारी बताउँछन्। रोग संक्रमणले छिटो भेट्ने भएकाले उपचारका लागि बालबालिका, महिला तथा वृद्धवृद्धा बढी मात्रामा आउने गरेका हुन्। स्वास्थ्य संस्थामा संख्या थपिँदै गएकाले बिरामी व्यवस्थापन गर्नै धौधौ परेको स्वास्थ्यकर्मीले बताए।
जिल्ला अस्पतालमा मात्र उपचारका लागि दैनिक डेढ सय बिरामी आएको हेल्थ असिस्टेन्ट गणेश रिजालले जानकारी गराए। ‘आकस्मिक उपचारका लागि मात्र दैनिक ५०र६० जना आइरहेका छन्,’ उनले भने, ‘ओपीडीमा दोब्बर बिरामी आउँछन्। स्वास्थयकर्मी र औषधिको अभाव नभए पनि बिरामी राख्ने बेडको समस्याले सबैको उपचार सम्भव छैन।

‘५० शय्याको अस्पताल भए पनि बिरामीलाई बेड र्पुयाउनै मुस्किल छ,’ मेडिकल अफिसर विजय फुयालले भने, ‘प्रसूतिका बिरामी पनि उत्तिकै हुने र बाँकी बेड भरिएकाले धेरैलाई उपचार गरेर आराम गर्न घरमै पठाउने गरेका छौं।’

मौसम परिवर्तन, अव्यवस्थित खानपान र दूषित पानीका कारण रोग लाग्ने चिकित्सकको भनाइ छ। हावा, पानीलगायत खानेकुराबाट रोग सर्ने भएकाले एउटा परिवार वा समूहमा बस्ने एक जनामा रोग देखा परे अरूलाई पनि सर्छ। यस्ता बिरामीले पानी उमालेर मात्र पिउनुपर्ने, मास्क प्रयोग र झोल पदार्थ धेरै खानुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

इलाम अस्पतालसहित प्याङ, मंगलबारे, फिक्कल र पशुपतिनगरका प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीको चाप छ। असारको दोस्रो सातादेखि नै यो रोगको प्रकोप बढेको हो। सरकारी स्वास्थ्य संस्थाबाहेक निजी क्लिनिकमा पनि बिरामीे उत्तिकै छन्। गाउँदेखि बजारसम्मका बाक्लो बस्ती भएका क्षेत्रमा रोग छिटो फैलिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार