इलाम । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य जीवन कार्यक्रम अन्र्तगत इलाममा आइतबार सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनमा कोरोनाको महामारीका बिच सामाजिक दुरी कायम गरेर अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयको सभाहलमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रमलाई भिडभाड नहोस भन्ने उद्धेश्यका साथ .२ चरणमा विभाजन गरिएको थियो ।
पहिलो चरणमा जिल्ला स्थित सरोकारवाला निकाय, सुरक्षा संयन्त्र लगायतसँग अन्तरक्रिया गरिएको थियो भने दोश्रो चरणमा स्थानिय तहका जनप्रतिनिधीहरुसँग अन्तरक्रिया गरिएको थियो । गत बर्षबाट नेपालकै नमुनाको रुपमा प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयले सुरु गरेको स्वास्थ्य जिवन अभियानलाई अहिले विश्व महामारीको रुपमा फैलिएको कोरोनासँग जोडेर इलाममा पहिलो पटक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासले कोरोना विरुद्ध अहिलेको अवस्थामा कार्यालयले गरेको गतिविधीको बारेमा आफनो प्रस्तुती राखेका थिए । इलाममा हालसम्म कोरोनाको एक जना पनि संक्रमित भेटिएका छैनन् ।
जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका ४६ जना पीसीआर टेस्ट गर्दा कसैमा पनि संक्रमण भेटिएको छैन् । जिल्लामा ६३५ जनामा ¥यापिड टेस्ट गरिएको छ । हाल ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कार्यालयले प्रत्येक शुक्रबार इलामका सवै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुखसँग भिडियोको माध्यमबाट छलफल गर्दै आएको दासले बताए । स्वास्थ्य जिवन प्रर्वद्धन अभियानका बारेमा मेची अञ्चल आयुर्वेद अस्पतालका बरिष्ठ कबिराज तिर्थराज आचार्य प्रस्तुत राखेका थिए । उनले अहिले विश्वभरमा दैनिक जसो मृत्यु हुनेमा ६० प्रतिशत भन्दा बढि नसर्ने रोगका कारण भएकाले जिवनशैली परिर्वतन आवश्यक देखिएको बताए । प्रदेश सरकारले स्वास्थ्य जिवन प्रर्वद्धन निर्देशिका २०७५ जारी गरेर स्थानिय सरकार र प्रदेश सरकारका बिच समन्वय गरेर कार्यक्रम अगाडी बढाइरहेको बताए ।
झापा र मोरङमा पाइलटिङ सुरु गरिएको स्वास्थ्य जिवन यस बर्षबाट १४ वटै जिल्लामा बजेटिङ गरेर सुरु गरिने भएपनि कोरोनाका कारण रोकिएको बताए । उनले कार्यपत्र प्रस्तुत गर्दै हाल प्रदेश नम्बर एकमा सुर्तीजन्य पर्दाथको सेवन गर्ने २२.८ प्रतिशत र मध्यपान गर्ने २३ प्रतिशत रहेकाले आगामी सन २००२ भित्रमा यो दरलाई १६ र १५ प्रतिशतमा झार्ने लक्ष्यका साथ कामहरु भइरहेको बताए । कोरोनाको नियन्त्रणका लागि प्रदेश सरकारको गरिरहेको कार्यको बारेमा आयुर्वेद चिकित्सक सरोज विशालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
हाल दैनिक रुपमा ३ सय जनाको ल्याबमा पिसिआर हुँदै आएकोमा केही दिनपछि १ हजार जनाको एकै दिनमा रिर्पोट निकाल्न सक्ने गरि व्यवस्थापन हुँदै गरेको उनले बताए । प्रदेश नम्बर एकको पछिल्लो तथ्यांक अनुसार १४ वटै जिल्लाका ४ हजार ३१६ जनाको पिसीआर टेस्ट गरिएको छ । त्यसैगरी १० हजार २५४ ¥यापिड टेस्ट गरिएको छ । ८६ जनामा कोरोनाका संक्रमण देखिएकोमा ७६ पुरुष र १० महिला रहेका छन् । हाल १ हजार ४६१ जना क्वारेन्टाइनमा, ६० जना आइसोलेसन बेडमा राखिएका छन् । २६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य जीवन अभियानमा १३ वटा इन्डिकेटर राखिएका छन् । ती इन्डिकेटरहरु दिगो विकास लक्ष्यसँग मेल हुने गरी तय गरिएको बताइएको छ । नसर्ने रोगलाई लक्षित गरेर सुरु भएको अभियानलाई कोरोनाका कारण अहिले परिमार्जन गरेर स्वास्थ्य कार्यालयले प्रचारपसारका कार्य तथा आयुर्वेद अस्पतालले क्वारेन्टाइनमा योग गराउने, स्थानिय आयुर्वेदिक पद्धतीको कार्यान्वयन गराउने तय भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कोरोनाको महामारीका बिच न्युनतम सामाग्री परिपुर्तीलाई महत्व साथ राखेर प्रदेश सरकार अगाडी बढेको बताइन् । उनले स्वास्थ्यको दृष्टिकोणले बलिया अब्बल राष्ट्रहरु कोरोना विरुद्धको लडाईमा हार खाइरहँदा प्रदेश सरकार आफनो सार्मथ्य भन्दा माथी उठेर तयारी गरेको बताइन् । संक्रमितहरुको स्वाव संकलनका लागि भिटिएम किटको अभावमा परिक्षण कार्य केही सुस्त भएपनि केही दिनभित्रमा दैनिक १ हजार जनाको परिक्षण रिर्पोट आउन सक्ने गरी तयारीमा लागेको बताइन् । उनले संक्रमित र शंकास्पदको स्वाव परिक्षणका लागि तत्काल प्रवन्ध गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताइन् ।
राज्यमन्त्री गजमेरले कोरोनाको जोखिम नियन्त्रणका लागि स्थानिय सरकारको भुमिकाको तारिफ गरिन् । ‘ लामो समयसम्म जनप्रतिनिधि विहिनताको अवस्था थियो । यो महामारीको बेला स्थानिय सरकार नभएको भए के हुन्थ्यो होला । यति दरिलो हिसाबले खटिरहनुभएको छ । संघिय सरकार परको कुरा भयो यहाँहरु मार्फत जनताका कुरा सुन्छौ ।’ उनले भनिन् ‘ यहाँहरु बोलाउँदा पनि सुन्ने र छुँदा पनि भेट्ने ठाउँमा हुनुहुन्छ । तपाईहरुको भुमिका सराहनिय छ । सक्रिय भुमिकाको कारण सन्त्रासमुक्त वातावरणमा रहन सकेका छौ ।’ उनले स्वास्थ्य क्षेत्रमा सुविधा सम्पन्न मानिएको इटाली, अमेरिका जस्ता देशहरु कोरोना सामु निरिह बनिरहँदा सवै एकजुट हुँदा कोरोना विरुद्धको लडाईमा प्रदेश नम्बर एक बलियो अवस्थामा रहेको धारण राखिन् ।
स्वास्थ्य जीवन प्रर्वद्धन निर्देशक समितिका सदस्य एवम पुर्व संविधानसभा सदस्य प्रेम गिरीले लकडाउन र जिवन सन्तुलन अहिलेको चुनौती रहेको बताए । उनले विकासलाई पुर्वाधारसँग मात्र जोडेर अलमलको अवस्थामा प्रदेश सरकारले स्वास्थ्य जिवन कार्यक्रम ल्याउनु सकारात्मक भएको बताए । भौतिक पुर्वाधारमात्र विकासको आधार नभएकाले स्वास्थ्य जिवनशैली, मानसिक स्वास्थ्य र शारिरिक स्वास्थ्यका लागि अभियान प्रभावकारी रहेको धारणा राखे । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले अहिलेको महामारी र असहज अवस्थामा प्रदेश सरकारले अभिभावकको भुमिका निर्वाह गर्नुपर्ने बताए । सिमा नजिकैको जिल्ला भएकाले कोरोनाको जोखिमबाट चिन्तित भएको बरालले बताए । उनले सिमासँग जोडिएको कारण पशुपतीनगर नाका लगायतका नाकाबाट इलाम प्रवेश गर्नेहरुको व्यवस्थापन नै चुनौती रहेको बताए । ‘ आएकाहरुलाई व्यवस्थित ढंगले राख्ने पिसीआर चेक गर्दै नेगेटिभ भएकाले पठाउने र क्वारेन्टाइन खाली गर्नुपर्ने अवस्था छ ।’ उनले भने ‘ निरन्तर ६÷८ महिना यस्तो क्रम चलिरहँदा ठाउँको समेत अभाव हुने देखिन्छ ।’
स्वास्थ्य जिवन अभियानको जिल्ला संयोजक समेत रहेका बरालले जनप्रतिनिधीहरुलाई पालिका बैठक तथा बजेट सिलिङ बनाउँदा स्वास्थ्य जिवन कार्यक्रमका लागि समेत बजेट व्यवस्थापन गर्न आग्रह गरे । उनले स्थानिय पालिकाहरुले नितिगत रुपमा व्यवस्था गरेर बाँझो जग्गालाई स्थानियसँगको समन्वयमा खेती गरेर भोलीका दिन यस्ता महामारीको अवस्थामा राहत वितरणमा सहयोगी सावित हुन सक्ने बताए । बरालले अहिलेको अव्यवस्थित जिवनशैलीले मानिसहरुको रोगको जोखिम बढ्दै गएकाले जडिबुटी प्रर्वद्धन र उत्पादका लागि मेहनत गर्नुपर्ने आवश्यकता देखिएको बताए ।
प्रदेश स्वास्थ्य जीवन प्रर्वद्धन निर्देशक समितिका निर्मल बरालले अहिलेको महामारीको अवस्थामा आयुर्वेद र क्वारेन्टाइनसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए । उनले स्वास्थ्य जिवनशैली नै कारोना विरुद्ध लड्ने मुख्य हतियार भएकाले खानपान र व्यवहारमा सवैको ध्यान पुग्नुपर्ने बताए । अहिले कोरोनाको लक्षण देखिएकालाई अस्पताल र संक्रमित आशंका गरिएकालाई होम क्वारेन्टाइनमा राख्नुपर्ने सुझाव दिए । कोरोनाको औषधी अहिलेसम्म पत्ता नलागेकाले सुरक्षाको कारण नै प्रदेश एकबाट २६ जना निको भएर घर फर्किएको उनले बताए । ‘अरु देशलाई हेर्ने हो भने हाम्रा पुर्खाको आत्मनिर्भर कृषिकै कारण नेपालमा कोरोनाको जोखिम कम रहेको छ ’ उनले भने ‘ स्वास्थ्य जिवनशैली र दैनिक खानपानको व्यवस्थापनले कोरोना विरुद्ध लड्का लागि मद्धत पु¥याउँछ । ’
कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिकाको उपप्रमुख दुर्गादेवी भट्टराईले समयमा कार्यक्रम र कार्यविधी नआउँदा कार्यान्वयनको पाटोमा जटिलता देखिएको बताइन् । उनले सरकारले बनाउने निति र कार्यक्रममा विवेक पु¥याएर योजना नबनाउँदा त्यसको मारमा स्थानिय तह परेको बताइन् । उनले सरकारको योजनाहरु तल्लो तहसम्म पुग्न सक्दा कोरोना नियन्त्रणमा समेत सहयोगी बन्न सक्ने धारणा राखिन् । नगरमा ४ सय बेडको क्वारेन्टाइन व्यवस्थापन भएपनि पर्याप्त स्वास्थ्य सामाग्रीको अभावमा कोरोना विरुद्ध लड्न केही कठिन भइरहेको बताइन् ।
कार्यक्रममा इलाम नगरपालिका उपप्रमुख शुशिला नेम्वाङ, रोङ गाउँपालिका अध्यक्ष शम्सेर राई, माङ्सेवुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई, विभिन्न स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत, ३ वटै सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्वास्थ्य जीवन अभियानलाई जिल्ला, स्थानिय तह, वडा हुँदै टोल विकास समितिसम्म विस्तार गरिने भएको छ । आइतबार जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको संयोजकत्वम जिल्ला स्तरिय समिति गठन गरिएको थियो ।