Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एकै दिन ५७ जना कोरोना संक्रमित भेटिए, कुल संख्या १९१ पुग्यो

एकै दिन ५७ जना कोरोना संक्रमित भेटिए, कुल संख्या १९१ पुग्यो

  • लोकल सन्देश
  • मंगलबार, बैशाख ३० २०७७


एकै दिन ५७ जना कोरोना संक्रमित भेटिए, कुल संख्या १९१ पुग्यो

नेपालमा एकै दिन मंगलबार ५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु जिल्लामा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना थपिएका थिए। सोमबार २४ जना कोरोना संक्रमित थपिएका थिए । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९१ रहेको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध
एकै दिन ५७ जना कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले मंगलबार एक निर्णय गर्दै जेठ १ गतेदेखि लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लाम जानका लागि यसअघि जारी गरिएका सबै किसिमका पास रद्द गर्ने निर्णय गरेको छ । ’कोरोना संक्रमित तीव्र गतिमा बढेपछि जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो’, गृहका सूचना अधिकारी एवम् उपसचिव उमाकान्त अधिकारीले भने, ’एक जिल्लाबाट अर्को जिल्लामा आवागमन रोक्न यसअघि जारी गरिएका ई–पाससहितका सम्पूर्ण पास रद्द गरिएको छ।’ गृहले एउटै जिल्लाभित्र आवतजावतका लागि पनि अनिवार्य सवारी पास चाहिने नियम लागू गर्ने निर्णय लिएको छ ।
अधिकारीका अनुसार अब परिचय पत्र मात्रै देखाएर सडकमा निस्कन पाइँदैन। सरकारले सातअघि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग र निर्माण क्षेत्रसहितका मानिसहरुले आफू कार्यरत कार्यालयको परिचय पत्रका आधारमा सवारीसाधन चलाइरहेका थिए । तर अब परिचयपत्र देखाएर सडकमा निस्कन पाइनेछैन। अधिकारीका अनुसार अनिवार्य स्थानीय प्रशासनबाट जारी गरिएको सवारी पास देखाउनै पर्ने हुन्छ । काठमाडौं उपत्यकामा तीन जिल्लामा आवतजावतका लागि यसअघि नै जारी पास नै प्रयोग गर्न पाइने छ ।
४ जना पत्रकारलाई कोरोना
पर्सामा एकैपटक भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड( १९) संक्रमितमध्ये ४ जना पत्रकार पनि रहेको पुष्टि भएको छ । उनीहरु पर्सा जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी रहेको बुझिएको छ । रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस गरेछि उनीहरुले नै स्वाब संकलन गरी परीक्षण गर्न लगाएका थिए । मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई पर्सामा सक्रिय चार पत्रकारलाई कोरोना देखिएको पुष्टि गरेका छन् । ‘हो, चारभन्दा धेरै पत्रकारलाई कोरोना देखिएको छ’, उनले भने, ‘मंगलबार भेटिएका सबै संक्रमितको विवरण संकलन भइरहेको छ । विस्तृत विवरण पछि भन्छौं ।’
नर्समा पनि कोरोना
कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । मंगलबार संक्रमण देखिएका ८ जनामध्ये २५ वर्षीया स्टाफ नर्स रहेकी कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको नेपालीले जानकारी दिए । अस्पतालका अन्य कर्मचारीको परीक्षणको तयारी भइरहेको उनले बताएका छन्। कपिलवस्तुमा मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिललवस्तु नगरबासी हुन् ।
संक्रमितहरु वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १–१ जना रहेका छन् । उनीहरु १९ वर्षदेखि ३६ वर्षसम्मका छन् । मंगलबारै थपिएका रुपन्देहीका ९ जना संक्रमितहरु लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन् । उनीहरु भारतको मुम्बईबाट आएर लुम्बिनीमै क्वारेन्टाइनमा बसिरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार