मंगलबारे । इलामकाे देउमाई नगरपालिकाको क्वारेन्टाइनमा बसेका २९ जना व्यक्तिहरुको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण नेगेटिभ देखिएको छ । २३ जना पुरुष र ६ जना महिलामा गरिएको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटी) बाट कोरोनाको जोखिम नरहेको देखिएको हो । महामारी रोग नियन्त्रण इलामका संयोजक विमल बराल र ल्याव टेक्निसियन निलेश ठाकुर सहितको टोलीले देउमाईमा र्यापिड टेस्ट गरेको थियो । नगर प्रमुख सुर्य पोखरेलले कोराना सम्वन्धी परिक्षणपछि देउमाई सुरक्षित रहेको सन्देश प्रवाह गरिने बताए ।लकडाउनको पालनाका लागि सचेतनामुलक कार्यक्रम र राहत वितरणलाई समेत चुस्तदुरुस्त बनाइदै लगेको सुचना अधिकृत गोपाल बास्तोलाले जानकारी दिए ।
उनले अझै पनि विश्वमा कोरोनाका जोखिम उस्तै रहेकाले सरकारले कार्यान्वयनमा ल्याएको लकडाउनलाई पुर्ण पालना गरी सुरक्षित नेपाल बनाउन सवै नागरिकहरुलाई अपिल गरे । देउमाईमा भएको परिक्षणसँगै इलामममा १३७ जनाको र्यापिड टेस्ट सम्पन्न गरिएको हो । प्रदेश नम्बर एक सरकारले इलाममा १२० वटा परिक्षण किट पठाएकोमा अपुग भएपछि पाँचथरबाट ल्याएर थपको परिक्षण गरिएको स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले जानकारी दिए ।
जिल्लाका ६ वटा स्थानिय तहका १०८ जनामा गरिएको र्यापिड डाइगोनोस्टिक टेष्टबाट कसैमा पनि कोरोनाको संक्रमण पोजेटिम नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दास अनुसार रोङ गाउँपालिकामा ६९ जना, माईजोगमाई गाउँपालिकामा १६ जना, माई नगरपालिका ८ जना, सूर्योदय नगरपालिकाका ७ जना, चुलाचुली गाउँपालिकामा ५ जना र इलाम नगरपालिकाका ३ जनामा र्यापिड टेस्ट गरिएको थियो ।