इलाम । कोरोना भाइरस नियन्त्रणका लागि इलाममा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ । उच्च स्तरीय समितिले १० वटै स्थानिय तहमा एक सय ७० बेडको क्वारेन्टाइन स्थापना गरेर बैदेशिक रोजगारबाट फकिएकाहरुलाई राखिएको छ । जिल्लामा कोरोना भाइरस नियन्त्रणका लागि तयारी तिब्रता दिएपनि स्वास्थ्यकर्मीहरुलाई पर्याप्त सुरक्षा सामाग्री उपलव्ध भएको छैन । व्यक्तिगत सुरक्षा सामाग्रीहरुको अभावमा स्वास्थ्यकर्मीहरु जोखिम मोलेर विरामी चेकजाँच गर्ने गरेका छन् । विभिन्न दाताहरुको सहयोगमा स्वास्थ्यकर्मीहरुलाई मास्क, सेनिटाइजर लगायतका आवश्यक सामाग्रीहरु उपलव्ध भएका छन् ।
स्थानिय स्तरमा नै भएको उपलव्ध सामाग्रीबाट पिपिई
अत्याधुनिक सामाग्रीको अभावमा स्थानिय स्तरमा पाइने सामाग्रीबाट पिपिई सेट निर्माण गरेर संचालन गरिरहेको मेची अञ्चल आयुर्वेद अस्पतालका तिर्थ आचार्यले बताए । ‘ प्रदेश सरकारले आवश्यक बजेट दिएको छैन । स्वास्थ्य कार्यालयबाट सानो सहयोग पाइएको छ । त्यसैले गर्दा अहिले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार गुगलमा हेरेर स्थानिय स्तरमा पाइने सामाग्रीबाट पिपिई सेट बनाएका छौ । बुक बाइन्डिङको कभरलाई फेटा बाधेर भाइजर बनाइएको छ ’ उनले भने ‘ स्थानिय स्तरमा बनाइएको पिपिई सेट प्रमाणित नै त होइन यदपी विरामीसँग सिधा सम्र्पक नहुँदा जोखिम केही कम चाहि हून्छ । ’ डब्लुएचओको गाइलाइनले निर्देशन गरे अनुसार शंका लागेको केसलाई रिफर गर्ने बाहेक अन्य रोगको उपचार आयुर्वेद अस्पतालमा नै हुँदै गरेको आर्चायले बताए ।

अहिले आयुर्वेद अस्पतालमा बिरामीको चाप घटेपनि शुन्य अवस्था नआएको डा रुपेश सुनामले बताए । उनले भने ‘ यो क्षेत्रको मौसम चिसो भएकाले रुघा मर्कीको विरामीहरु दिनमा ४/५ जना आइरहनुभएको छ । हालसम्म कोरोनाको आशंका गर्ने खालका बिरामी भने आउनुभएको छैन । आएको खण्डमा पनि क्षमताले भ्याएसम्म उपचार गर्न तयार छौ ।’ पिपिई नहुँदा स्वास्थ्यकर्मी आफै जोखिममा रहेर उपचार गर्नुपर्ने बाध्यात्म अवस्था सृजना भएको उनले बताए । ‘ अहिलेसम्म सरकारबाट पिपिई पाएको छैन । मास्क पनि कम गुणस्तरको छ । आफै जोखिममा बसेर उपचार गरिरहनुपर्ने अवस्था छ ।’
पिपिई अभाव केही दिनमा समाधान
भारतसँग सिमा जोडिएको क्षेत्रमा स्वास्थ्यकर्मी सहितको टोलीले अहिले चेकजाँच गरिरहेको छ । पशुपतीनगर नाकामा गत फागुन २२ गतेबाट स्थापना गरिएको हेल्थ डेक्समा लकडाउन भएपनि दैनिक १० भन्दा बढिको स्वास्थ्य चेकजाँच हूँदै आएको छ । कोरोनाका जोखिम न्युनिकरण गर्न जिल्लाका ग्रामिण क्षेत्रमा र सिमा क्षेत्रमा स्वास्थ्यकर्मीहरु खटाइएको स्वास्थ्य कार्यालय प्रमुख वृजेशकुमार दासले जानकारी दिए । उनले भने ‘प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा संयन्त्र, स्वास्थ्य कार्यालय लगायत रहने गरी कोरोना नियन्त्रण जिल्ला कार्यदल बनाएको छौ । जसको दिनहुँ बैठक बसेर उच्च सर्तकता अपनाएको छ ।’
जिल्लाभरी राखिएको १७० क्वारेन्टाइन बेड मध्ये अहिले ७० जनालाई राखिएको छ । जिल्लामा उच्च ज्वरोका कारण ८ जनालाई थप चेकअपका लागि कोशी अञ्चल अस्पताल पठाउँदा संक्रमण नदेखिएको दासले बताए । जिल्लामा व्यक्तिगत सुरक्षा सामाग्रीको अभावलाई केही दिनमा समाधान गरिने उनले बताए । ‘ उद्योग वाणिज्य संघ संगको सहकार्यमा स्थानिय स्तरमा नै पिपिई निर्माण गर्ने छलफल भएको छ जसले पिपिई अभावको समस्यालाई केही दिनमा समस्याको समाधान गर्छ । उनले भने ।