इलाम । माईभगवती बृद्धाश्रममा आश्रय लिईरहेका जेष्ठ नागरिकहरुलाई हेलिकप्टरबाट पाथिभराको तिर्थयात्रा गराएका समाजसेवी सुमन श्रेष्ठले पुन जेष्ठ नागरिकहरुलाई पशुपती दर्शनका लागी लगेका छन । यस बर्षको साउन महिनाको पहिलो सोमाबार पशुपतिनाथ दर्शन गराउने हेतुले उनले शनिबार नै जेष्ठ नागरिकहरुलाई लिएर काठमाण्डौ गएका हुन । ८ जना जेष्ठ नागरिक र २ जना सहयोगी र उनी आफै गरि ११ जनाको टोली शनिबार काठमाण्डौं प्रस्थान गरेको छ ।
पशुपतिनाथ दर्शन गर्न जानुअघि जेष्ठ नागरिकहरु उत्साहि देखिएका थिए । जेष्ठ नागरिकहरुलाई पाथिभरा दर्शन पछि पशुपतिनाथ दर्शन गराउने उनले यस अघि प्रतिबद्धता जनाएका थिए । पुन पशुपतीनाथ दर्शन जान पाउदा सीमाविहिन हर्ष छाएको १२ वर्षदेखि आश्रममा बस्दै आएकी वर्ष ७९ की देवकुमारी घिमिरेले बताइन् । यो जुनीमा पशुपतिनाथ दर्शन गर्न जाने कल्पना पनि नगरेका धेरै जसो जेष्ठ नागरिकले दर्शन गर्न जान पाउनु अहोभाग्य भएको प्रतिक्रिया दिए । समाजसेवी श्रेष्ठले यसपटकको यात्राको लागि एकलाख २० हजार रकम खर्च हुने अनुमान गरेको बताए ।
जेष्ठ नागरिकको सेवामा आफुलाई आत्मासन्तुष्टि मिल्ने बताउदै श्रेष्ठले भने, ‘जेष्ठ नागरिकको सेवामा जीवन समर्पण गर्नुपरे नि पछि हट्दिन ।’ स्थानीय निकायको निर्वाचनमा इलाम नगरपालिकाको वडा नं. ७ को अध्यक्ष पदको उम्मेद्वारी दिएका श्रेष्ठले यस्ता सामाजिक कामले चुनावलाई प्रभावित नगरोस् भनेर नै चुनाव सम्पन्न भएपछि यात्राको आयोजना गरेको बताए ।