विश्वका १९५ भन्दा बढी देशमा फैलिएको कोरोना (कोभिड–१९) बाट बच्न इलामका १० वटै स्थानिय तहले उच्च सतर्कता अपनाएका छन् । स्थानिय सरकारले आफनो क्षेत्रका विभिन्न ठाउँमा क्वारेन्टाइन स्थापना र विदेशबाट आएकाहरुको लगत संकलनको कार्यलाई तिव्र रुपमा अघि बढाएको जनाएका छन् । स्थानिय सरकारले न्युनतम ३ वेड देखी १५ बेडसम्मको क्वारेन्टाइन स्थापना गरेका छन् ।
कुन स्थानिय तहमा कस्ताे तयारी
सूर्योदय नगरपालिकामा १५ शैय्याको क्वारेन्टाइन : भारतसँग सिमा जोडिएको सूर्योदय नगरपालिकाले कोरोना नियन्त्रणका लागि उच्च सर्तकताका साथ तयारी अगाडी बढाएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए । फागनु २२ गतेबाट नेपाल–भारत सिमाको पशुपतीनगरमा हेल्थ डेक्स संचालन गरेको नगरले अहिले पशुपतीनगर स्वास्थ्य केन्द्रमा १५ शैय्याको क्वारेन्टाइन स्थापना गरेको छ । आवश्यक स्वास्थ्यकर्मी र सामानहरुको साथ स्थापना भएको क्वारेन्टाइनमा भारत लगायत तेस्रो मुलुकबाट स्वदेश फर्केका व्यक्तिहरु आवश्यकता वा शंका लागेमा क्वारेनटाईनमा बस्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले १४ वटै वडामा निम्न विभिन्न ठाउँहरुबाट आफ्नो घर फर्किएकाहरुको लगत समेत संकलन गरी जानकारी लिई रहेको जनाएको छ । हालसम्म नगरमा ७५ जना विभिन्न देशमा आएकाहरुको लगत संकलन भइसकेको छ । अहिले पशुपतीनगरमा क्वारेन्टाइनमा राखिएको २ जनामा संक्रमणको आशंकामा रेफर गर्ने तयारी भइरहेको वडा नं १० का अध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।
इलाम नगरपालिकामा ६ जना क्वारेन्टाइनमा : जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकाले सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा क्वारेन्टाइन बनाएको छ । हाल संचालनमा नरहेको सो अस्पतालमा रहेको क्वारेन्टाइनमा भारतबाट आएका ६ जनालाई राखेर नियमित फलोअपमा राखिएको नगर प्रमुख महेश बस्नेतले बताए । नगरले मुख्य बजारमा लकडाउन कार्यान्वयका लागि आग्रह गरेको छ । तुलनात्मक रुपमा बजारमा अहिले मानिसहरुको चाप कम देखिएको बस्नेतले बताए । कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी युवतीसँगै दोहा कतारबाट जहाजबाट आएका इलाम नगरपालिका वडा नं. ४ का एक युवा इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
देउमाई नगरपालिकामा १० बेडको क्वारेन्टाइन : जिल्लाको पश्चिमी नगरपालिकाले देउमाईले अहिले वडा नं ४ को भानुभक्त माविमा १० वेडको क्वारेन्टाइन बनाउदै गरेको नगरका सुचना अधिकारी गोविन्दराज बास्तोलाले बताए । शौचालय, बाथरुम, खानेपानी सुविधा सम्पन्न रहेको क्वारेन्टाइनमा आवश्यक परे वेड थप्दै जाने उनले बताए । नगरभित्र हालसम्म बैदेशिक रोजगारीबाट आएका २० जनालाई होम क्वारेन्टाइनमा बसिरहेको बास्तोलाले जानकारी दिए । नगरभित्र लकडाउन कार्यान्वयका नेपाल प्रहरीसँग सहकार्यमा काम भइरहेको छ । नगरको आग्रह नमाने बल प्रयोग गरेर भएपनि लकडाउन कार्यान्वयन गराइने बास्तोलाले जानकारी दिए ।
रोङमा उच्च सर्तकता : भारतसग १२ किलोमिटर खुल्ला सिमाना रहेको रोङ गाँउपालिकामा अहिलेसम्म भारत र अन्य मुलुकबाट घर फर्किएका नागरिकहरुको तथ्याङ्क संकलन गरि ६२ जनालाई स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानी रहने गरि सुरक्षित बासको ब्यवस्था गरिएको छ । यसरी सरक्षित निगरानी केन्द्रमा बसेकाहरुको लागि भोजन, बत्ती , पानी , टेलिफोन र इन्टरनेटको ब्यवस्था गाँउपालिकाले मिलाएको र दैनिक २ पटक स्वास्थ्य परिक्षाण र सरसफाइको समेत ब्यवस्था मिलाइएको अध्यक्ष शम्सेर राईले बताए ।
माईजोगमाई गाउँपालिकामा २ स्थानमा क्वारेन्टाइन : भारतसँग सिमा जोडिएको उत्तरी गाउँपालिका माईजोगमाईले २ स्थानमा १३ बेडको क्वारेन्टाइन स्थापना गरेको छ । गाउँपालिकाले नयाँबजारको अमरकल्याण माविमा १० बेड र नेपाल ज्योती माविमा ३ बेडको क्वारेन्टाइन बनाइको अध्यक्ष जितबहादुर राईले जानकारी दिए । क्वारेन्टाइनमा हालसम्म कसैलाई पनि राखिएको छैन् । भारतबाट आएकाहरुलाई होम क्वारेन्टाइनको सल्लाह दिएर कार्यान्वयन भएको उनले बताए । अत्यावश्यक सामाग्रीका लागि भिडभाड नहुने गरी आज खरिद गर्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ । १४ किलोमिटर भारतसँग सिमा जोडिएको गाउँपालिकाको बाटो हुँदै मानिसहरु प्रवेश गरेका थिए । उनीहरु सबै क्वारेन्टाइनमा रहेको राईले बताए ।
माङसेवुङको सिङफेरेमा क्वारेन्टाइन : झापाको दमकसँग नजिकै रहेको सिङफेरेको जनता आधारभुत विद्यालयमा माङसेवुङ गाउँपालिकाले १० बेडको क्वारेन्टाइन स्थापना गरेको छ । गाउँपालिका प्रवेश गर्ने मुख्य बाटोहरुमा चेकजाँचका साथै दैनिक खाध्य बस्तुहरु स्टकका लागि दमकबाट आयात गरिएको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सुवेदीले बताए । आज बेलुकासम्म आवश्यक सामाग्री गाउँपालिका आइपुग्ने उनले बताए । क्वारेन्टाइनमा आवश्यक खानेपानी, शौचालय र बाथरुमको व्यवस्थापन गरिएको उनले बताए ।
चुलाचुली गाउँपालिकामा २२ बेडको क्वारेन्टाइन : झापासँगै सिमा जोडिएको चुलाचुली गाउँपालिकाले २२ बेडको क्वारेन्टाइन स्थापना गर्ने तयारी गरेको छ । गाउँपालिकाले कमलको जनता माविमा ७ बेडको स्थापन गरेको छ । बाह्रगोठेको जनता माविमा १५ बेडको स्थापना गर्न छलफल भइरहेको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिए । विभिन्न देशबाट आएकाहरुको बारेमा टोल विकास संस्थाका प्रतिनिधिहरुलाई लगत संकलन गर्न खटाइएको उनले बताए । विदेशबाट आएकाहरुको स्वास्थ्य परिक्षणपछि सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिएको राईले बताए । दैीनक उपभोग बस्तु आपुर्तिका लागि जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा दमकबाट ल्याउने तयारी भइरहेको उनले बताए । लकडाउन कडाइका साथ कार्यान्वय भएपनि रातको समयमा माङसेवुङ क्षेत्र तर्फ मानिसहरु आवतजावत भइरहेकाले आजबाट प्रहरी टोली परिचालन गरिने उनले बताए ।
माई नगरपालिकामा क्वारेन्टाइन स्थापना गरिदै : जिल्लाको कान्छो नगरपालिकाका माईमा ४ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ । नगरले स्थानिय गरुवा बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापन गरेपनि हालसम्म कसैलाई पनि राख्नुपर्ने अवस्था नदेखिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । भारत सहित बैदेशिक रोजगारीबाट आएका १ सय बढिको स्वास्थ्य चेक जाँच गर्दा शंकास्पद लागेको एक जनालाई मेची अञ्चल अस्पताल पठाएको थियो । यदपी संक्रमण नदेखिएकाले सवैलाई होम क्वारेन्टाइनमा राखिएको कट्टेलले बताए । नगरले आपतकालिन बैठक बोलाएर दैनिक खाध्यबस्तुको अभाव हुन नदिने उद्योग वाणिज्य संघसंग समन्वय गरेर काम अगाडी बढाउने तयारी गरेको नगरपालिकाा शाखा अधिकृत नविन पौडेलले जानकारी दिए ।
सन्दकपुर गाउँपालिकामा आजबाट क्वारेन्टाइन : सन्दकपुर गाउँपालिकाले आजबाट क्वारेन्टाइन स्थापना गर्न सुरु गर्ने भएको छ । गाउँपालिका भित्र रहेको ६ वटा माध्यमिक विद्यालयमा ५० वटा बेड सहितको क्वारेन्टाइनका लागि सामाग्रीहरु प्राप्त भएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । प्राप्त सामाग्रीहरु सम्वन्धित स्थानमा पठाउने तयारी भइरहेको उनले बताए । सन्दकपुर गाउँपालिकामा कोरोनाका आशंकामा २ जना विराटनगर रेफर भएका छन् । सन्दकपुर गाउँपालिका वडा नं ३ का एक युवक र उनकी आमालाई इलाम अस्पतालले कोशी अञ्चल अस्पताल बिराटनगर रिफर गरेको हो । थप परीक्षण र उपचारका लागि कोशी अंञ्चल अस्पताल पठाईएको इलाम अस्पतालले जनाएको छ ।
फाकफोकथुम गाउँपालिकामा जनप्रतिनिधिको एक महिनाको भत्ता कोरानो नियन्त्रणमा : इलामको कर्णाली भनेर चिनिएको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिकाले जनप्रतिनिधिहरुको एक महिनाको तलव र भत्ता कोरोना नियन्त्रणमा खर्च गर्ने भएको छ । गाँउपालिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार जनप्रतिनिधिको तलब र भत्ताबाट सेनिटाइजर, डिटोल, सावुन मास्क लगायतको खरिद गरिनेछ । गाउँपालिकाले प्रत्येक वडामा २ हजारको दरले मास्क वितरण गरेको श्रेष्ठले जानकारी दिए । गाउँपालिका केन्द्र नजिकैको सिंहदेवी माविमा २० शैय्याको क्वारेन्टाइन बनाइदै गरेको छ । बैदेशिक रोजगारीबाट आएकाहरुको स्वास्थ्य परिक्षण गरि हाल होम क्वारेन्टाइनमा राखिएको छ ।