अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर फर्किएका ब्राजिलियन राष्ट्रपति जायर बोल्सोनारोका प्रेस सेक्रेटरी फाबियो वेनगार्टेनमा कोरानाको संक्रमण देखिएको छ । गत शनिबार फ्लोरिडामा राष्ट्रपति ट्रम्पलाई भेटेर वेनगार्टेन ब्राजिल फर्किएका थिए । ट्रम्पलाई भेटेपछि उनले आफनो इन्स्टाग्राममा फोटो पोष्ट गरेका थिए । वेनागार्टेनले पोष्ट गरेको फोटोमा ट्रम्पले ब्राजिलको सर्मथन लेखिएको टोपी समेत बोकेका छन् । प्रेस सेक्रेटरी संक्रमित भएपछि राष्ट्रपति बोल्सोनारोको स्वास्थ्य निगरानी गर्न थालिएको छ । राष्ट्रपति बोल्सोनारोलाई पनि संक्रमणको आशंका गरिएको छ । बोल्सोनारो बिहीबार आफ्नो आधिकारिक एजेन्डा रद्द गर्दै राष्ट्रपति महलमै रहेको विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । उनी मेडिकल चेकजाँचमा नै रहेको हुँदा जानकारीहरु सार्वजनिक गरिएको छैन।
ट्रम्प भन्छन् ‘मलाई कुनै चिन्ता छैन’
वेनगार्टेनमा संक्रमण पोजेटिभ देखिएको रिर्पोट बाहिर आएपछि ट्रम्पले कोरोना भाइसरको बारेमा चिन्ता नरहेको बताए । ट्रम्पले चिन्तित नरहेको र ‘प्रेस सेक्रेटरी’ सँगको सम्पर्कलाई अस्वीकार गरे । जुन सायद वेनगार्टेनलाई जनाउँदै गरेको समाचार अल जजिराले प्रकाशन गरेको छ । ओभल अफिसमा आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरसँग भेट गर्दा ट्रम्पले पत्रकारहरूलाई भने, ‘हामी यसलाई यस्तै तरिकाले राख्छौं : मलाई कुनै चिन्ता छैन ।’
ह्वाइट हाउसले बिहीबार ट्रम्प, उपराष्ट्रपती माइक पेन्स र फाबियो वेनगार्टेनबिच “लगभग कुनै अन्तरक्रिया“ नभएकाले खतरा नरहेको बताएको छ । “राष्ट्रपति र उपराष्ट्रपति दुबैको सकारात्मक परीक्षण गर्ने व्यक्तिसँग लगभग कुनै अन्तरक्रिया थिएन र यस समयमा परीक्षणको आवश्यकता पर्दैन,“ व्हाइट हाउसका प्रवक्ता स्टेफनी ग्रिसमले एक विज्ञप्तिमा भनिन् ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सम्ममा देशमा भाइरसको ५२ वटा घटनाहरू पुष्टि गरेको छ । ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेनरिक मन्डेटाले वेनगार्टेनको बारेमा रिपोर्ट आउनु भन्दा अघि रोयटर्स समाचार एजेन्सीले सोधेको प्रश्नमा बोल्सोनारोलाई अनुगमन गर्ने भनेका थिए ।
एक महिना युरोप–अमेरिका यात्रा प्रतिवन्ध
कोरोना भाइरस रोकथामका लागि भन्दै युरोप र अमेरिकाबीच यात्रा प्रतिबन्ध लागेको छ । ट्रम्पले एक महिनाका लागि युरोपका यात्रुलाई अमेरिका प्रवेश निषेध गर्ने योजना सार्वजनिक गरेको समाचार द टेलिग्राफले प्रकाशन गरेको छ । ट्रम्पले एक महिनाका लागि युरोपका यात्रुलाई अमेरिका प्रवेश निषेध गर्ने योजना सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ ।
Hoping to get the payroll tax cut approved by both Republicans and Democrats, and please remember, very important for all countries & businesses to know that trade will in no way be affected by the 30-day restriction on travel from Europe. The restriction stops people not goods.
— Donald J. Trump (@realDonaldTrump) March 12, 2020
विरोध पछि ट्रम्पले गरेको ट्विटमा भनिएको छ ‘रिपब्लिकन र डेमोक्रेटस दुबै द्वारा अनुमोदित पेरोल कर प्राप्त गर्ने सबै देशहरू र व्यवसायहरूलाई यो जान्न एकदमै महत्वपूर्ण छ कि यूरोपबाट यात्रामा ३० दिने प्रतिबन्धले कुनै पनि हिसाबले व्यापार प्रभावित हुने छैन । प्रतिबन्धले मान्छे रोक्छ सामान रोक्दैन ।’
( न्युज एजेन्सी र अन्तराष्ट्रिय संचारमाध्यमको समाचारको आधारमा)