इलाम । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलामको नाम परिवर्तन गरिएको छ । नेपाल सरकार उद्योग मन्त्रालयको निर्णय अनुसार घरेलु तथा साना उद्योग विकास समितिको नाम इलाम नगरपालिका उद्योग विकास शाखा नामाकरण गरिएको हो ।
उद्योग विकास शाखा नामाकरण गरिएको बोर्डको इलाम नगरपालिका इलामका मेयर महेश बस्नेतले उद्घाटन गरेका थिए । उद्योग

विकास शाखाको कार्यालय हाल इलाम नगरपालिका क्षेत्रमै राखिने भएपनि इलामका १० वटै तहको समन्वयमा काम गर्ने कार्यलय प्रमुख नविनकुमार पौडेलले बताए ।
इलामका सबै स्थानीय तहमा उद्योग विकास शाखा स्थापना नहुन्जेलसम्मका लागि इलाम नगरपालिका क्षेत्रको उद्योग विकास शाखाबाटै सबै काम हुने उनले बताए । यसैगरि इलाम नगरपालिका उद्योग विकास शाखा कार्यालयले नव निर्वाचित मेयर महेस बस्नेतलाई बधाई तथा सफल कार्यकालको सुभकामना दिएको छ ।
कार्यलय प्रमुख नविनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका मेयर महेस बस्नेतले राज्यको पुनःसंरचना अनुसार सरकारी कार्यालयहरुको कार्यक्षेत्र परिवर्तन भएर आएपछि जनताले घरदैलोमा सेवा पुर्याउन सबैको सहकार्य जरुरी रहेको बताए ।