इलाम जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्डको उपाधि जुविलेन्ट इलाइट एकाडेमीले जितेको छ । सूर्योदय नगरपालिका ११ करफोक माविको खेल मैदानमा भएको प्रतियोगितामा जुविलेन्टले ८ स्वर्ण सहित उपाधि आफनो पक्षमा पारेको हो । जुविलेन्टको जितसंगै पहिलो पटक संस्थागत विद्यालयले उपाधि आफनो पक्षमा पारेको हो । ४ स्वर्ण र ३ रजत सहित शान्ति निकेतन मावि कुटिडाँडाले दोश्रो स्थान हासिल गरेको छ ।

४ स्वर्ण र १ रजत सहित भानुभक्त माविले तेश्रो स्थान हासिल ग¥यो । मेडल पाउने खेलाडीहरुलाई सूर्योदय नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई लगायतले पुरस्कार दिए । सोही अवसरमा नेपालबाट प्रतिनिधित्व गरेर १३ औ दक्षिण एसियाली खेलकुद सागमा मेडल जित्ने इलामेली खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा उसुमा स्वर्ण विजेता जुनि राई, फुटबलका स्वर्ण विजेता छिरिङ गुरुङ, महिला फुटबलमा रजत विजेता एन्जिला सुव्वा, विच भलिबलमा कास्य विजेता विनिता बुढाथोकी, जुडोकी कास्य विजेता सुमित्रा राई र बास्केटबलका कास्य विजेता विजय बुर्जालाई नगद सहित सम्मान गरिएको थियो ।