Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका उत्तरी पर्यटकीयस्थल हिमपातले सेताम्य,हिउँ खेल्नेको भिड

इलामका उत्तरी पर्यटकीयस्थल हिमपातले सेताम्य,हिउँ खेल्नेको भिड

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन १५ २०७६


इलामका उत्तरी पर्यटकीयस्थल  हिमपातले सेताम्य,हिउँ खेल्नेको भिड

इलाम । फागुन दोस्रो साता पनि जिल्लाका लेकाली डाँडा हिउँले सेताम्य बनेका छन् । पुसयता यो क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ । २ हजार ५ सय मिटर आसपास र माथिल्लो क्षेत्र हिउँले ढाकिएको छ । त्यस क्षेत्रको जनजीवन चिसोका कारण प्रभावित बनेको छ ।

समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटरको सन्दकपुरसहित आसपासका आहालटार, बिखे भन्ज्याङ, कालपोखरी, छिन्टापु, जौवारी, कैयाकट्टा, मावु थामलगायत क्षेत्रमा व्यापक हिमपात भएको हो ।

स्थानीयका अनुसार यो पटक कम उचाईसम्म हिउ झरेको छ भने अघिल्ला वर्षभन्दा बाक्लो गरी हिउँ जमेको छ । ‘कुनै कुनै स्थानमा त हिउँमा खुट्टा पूरै भासिने गरी बाक्लो छ,’ जौबारीका पासाङ शेर्पाले भने, ‘हिउँदभर यो वर्ष पटकपटक हिमपात भएको हो ।’

यसअघि कमै मात्र हिउँ खस्ने मावुथाम पनि सेताम्ये देखिएको छ । पाँचथर सीमावर्ती कुहिभीर, पाँचथरको पौवा, सिलौटी, साधुटारलगायतका क्षेत्रमा पनि यो पटक बाक्लो हिमपात भएको हो । हिउँमा रमाउने राँके पौवा क्षेत्रमा इलाम र पाँचथरबाट मात्र नभएर तराईका जिल्लाबाट पनि बाक्लो उपस्थिति हुने गरेको राँकेका व्यवसायी तथा इलाम उद्योग वाणिज्य संघका सचिव शिरी विष्टले जानकारी दिए ।

यस क्षेत्रमा टाढाबाट पनि हिउँ खेल्दै रमाउने पुग्ने क्रम बढेको छ । हिमपातका कारण जिल्लाकै अग्लो सन्दकपुरतर्फ जाने सवारी आवागमन बन्द भएको छ । नेपाल र भारत दुवैतर्फबाट सन्दकपुर जाने सडक अवरुद्ध भएका हुन् । नियमित सवारी आवागमन हुने सीमावर्ती क्षेत्रका अधिकांश सडकमा सवारी साधन चल्न सकेका छैनन् ।

हिमपातले भारतको दार्जिलिङ सीमावर्ती मेघमा, तुम्लिङ, जौबारी, कालपोखरीलगायत बजार बन्द छन् । पुसको पहिलो साता पनि उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको थियो । हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन् ।

हिमपातले मानेभन्ज्याङदेखि ३२ किलोमिटरको दूरीमा रहेको सन्दकपुरसम्मका सडकमा कतिपय स्थानमा अवरोध छ । बाक्लो हिउँ जमेकाले सवारीका साधन चल्न कठिन हुने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार