Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सताक्षी गोल्डकप : थ्रीस्टारमाथी संर्घषपुर्ण जित निकाल्दै मछिन्द्रलाई उपाधि

सताक्षी गोल्डकप : थ्रीस्टारमाथी संर्घषपुर्ण जित निकाल्दै मछिन्द्रलाई उपाधि

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन ११ २०७६


सताक्षी गोल्डकप : थ्रीस्टारमाथी संर्घषपुर्ण जित निकाल्दै मछिन्द्रलाई उपाधि

इलाम । चिर प्रतिद्धन्द्धी थ्रीस्टारमाथी संर्घषपुर्ण जित निकाल्दै लिग विजेता मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि जितेको छ । आइतबार झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा थ्रि स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्रले लिगपछि सिजनको पहिलो उपाधी हात पारेको हो । उसले उपाधिसँगै नगद ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सिमित बनेको थ्री स्टारले ३ लाख रुपैया प्राप्त ग¥यो ।
खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रलाई जितका लागि निर्णायक बन्यो । एडिलेजा सोमिडेलाई पेनाल्टी एरियाभित्र थ्रि स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । विमल घर्ती मगरले गोल गर्दै टिमको जित निश्चित गराए । त्यसपछिको समयमा दुवै टिमले केही राम्रा अवसरहरुलाई सदुपयोग गर्न सकेनन् । नवौँ मिनेटमा विशाल राई ‘बि’ को प्रहार थ्रि स्टारका गोलरक्षक पूर्ण चेम्जोङले बचाए । २३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्रि स्टारका लालरामको प्रहार बार छेवैबाट बाहिरियो । ३९ औँ मिनेटमा अशोक खवासको पासमा लालरामको हेडर बाहिरियो । ४३ औँ मिनेटमा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ बिट भएको मौका लालरामले गरेको प्रहार रक्षक देवेन्द्र तामाङले गोल लाइन नजिकबाट उत्कृष्ट क्लियर गर्दै बराबरी हुनबाट जोगाए ।
खेलको ४६ औँ मिनेटमा रेजिन सुब्बाको पासमा विमल घर्ती मगरको प्रहार आकाशियो । ६१ औँ मिनेटमा दिपेश घलेको प्रहार आकाशियो । ६६ औँ मिनेटमा आन्द्रेसको हेडर रिबाउन्ड हुँदा विशाल राई ‘बि’ को प्रहार थ्रीस्टारका गोलरक्षक चेम्जोङले पञ्च गरेर बचाए । ७४ औँ मिनेटमा मिक्छेन तामाङको फ्रिकिक प्रहार मच्छिन्द्रका खेलाडीको बारमा लागर फर्कियो । फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए ।
त्यस्तै, प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्ट थ्रि स्टारका कप्तान विक्रम लामा भए । उनले नगद ५० हजार प्राप्त गरे । हाइ स्कोरर थ्रि स्टारकै सञ्जोग राई भए । प्रतियोगिताभरि दुई गोल गरेका उनले नगद २५ हजार पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्रि स्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ पाए । उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका कप्तान सञ्जीत राईलाई नगद २० हजार रुपैयाँ प्रदान गरियो ।
उनीहरुलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक अध्यक्ष रमेश लावती लगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।
कार्यक्रममा (एन्फा) अध्यक्ष शेर्पाले सताक्षी गोल्डकपको मुख्य प्रायोजक आफूले व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गरे । उनले शिवसताक्षी नगरपालिका र एन्फाले सताक्षी गोल्डकपलाई अझ भव्य र व्यवस्थित बनाउने जिकिर गरे । उपाध्यक्ष नेम्वाङले मोफसलका गोल्डकपलाई आगामी दिनमा एन्फाले परिस्कृत गर्दै लैजाने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार