क्रिकेटमा अमेरिका र नेपाल परिचित प्रतिद्वन्द्वी थिए। यि दुईबीच कुनै समय नियमित भेट हुन्थ्यो। तर नेपालले अमेरिकालाई पाँच वर्ष अगाडी नै पछि छाडिदियो। पाँच वर्षपछि नेपाल एक स्टेप पछि फर्कंदा अहिले विश्वकप लिग २ मा पुन अमेरिकासँग शनिबार (आज) टियु क्रिकेट मैदानमा प्रतिष्पर्धा गर्दै छ। १० वर्षअघिबाट यी दुई टिमले एक अर्का विरुद्ध खेलेका थिए। अर्थात, सन् २००८ देखि यी दुई टोली विश्व क्रिकेट लिगको डिभिजन संरचनामा एकअर्का विरुद्ध खुबै खेले। त्यतिखेर नेपालको पल्ला भारी रहँदै आएको थियो।
समस्याबाटै उठेका दुई देश
नेपाल र अमेरिकाको क्रिकेट विगत उस्तै छ। नेपाल पनि केहि समयअघि मात्र आईसीसीको प्रतिबन्धबाट मुक्त भयो। अमेरिकापनि २०१५ मा सरकारले हस्तक्षेप गरेको भन्दै आईसीसीको प्रतिबन्धमा पर्यो, तर उसले पनि नेपालका खेलाडीले जस्तै खेल्ने अवसर भने नियमित पाइरह्यो। विगत उस्तै भएपनि नेपालले एकदिवसीय मान्यता पाएर आफूलाई अघि बढाइरहँदा डिभिजन स्तरमा अमेरिकाले पनि आफुलाई बलियो बनाउँदै अघि बढायो। शिक्षक पुवुदु दशानायकेले नेपाललाई डिभिजन स्तरमा सफलता दिलाएर बाहिरिए। त्यसपछि उनै पुवुदुले अमेरिकाको राष्ट्रिय क्रिकेट टिम सम्हाले।
दशानायकेले डिभिजन चारमा रहेको अमेरिकालाई डिभिजन दुईसम्म पुर्याएर छाडे। जारी त्रिकोणात्मक प्रतिष्पर्धामा अमेरिका र नेपालबीच खेल हुँदै गर्दा दुवैलाई आफ्नो प्रतिष्ठाको चिन्ता हुनेछ। दुवै टिमले आफ्नो पहिलो खेलमा ओमानविरुद्ध पराजय भोगिसकेकाले पनि अब शनिबार दुबैको लक्ष्य पहिलो जितका लागि हुने छ।
अमेरिकाले भोगेको त्यो तितो विगत
नेपालले सन् २०१० मा काठमाडौंमा नै अमेरिकाविरुद्ध डिभिजन ५ मा प्रतिष्पर्धा गर्दैथियो। नेपालका लागि त्यो भीडन्त यति धेरै महत्वपुर्ण थियो की, उक्त खेल जिते नेपालले आईसीसीको प्रतियोगितात्मक खेलमा पहिलो उपाधि जित्न सक्थ्यो। अर्थात डिभिजन पाँचको च्याम्पियन बन्न१ त्यो नेपालको पहिलो ठुलो उपाधि हुने थियो। नेपाल र अमेरिका लिग चरणको अन्तिम खेलमा भिड्दै थिए । जित्ने टोली फाइनलमा पुग्ने निश्चित थियो। नेपालको घरेलु मैदानमा अमेरिकी बलर हाबी हुँदा उसको पक्षमा नतिजा आउने आंकलन थियो।
पहिलो ब्याटिङ गरेको नेपालले केवल १ सय ६२ रन मात्र बनायो। अर्थात अमेरिकाले जितका लागि सहज लक्ष्य पायो। खेल अमेरिकाको पोल्टोमा पर्ने देखेपछि भरिएको टियु क्रिकेट मैदानका दर्शकहरु यसरी भड्किए कि उनीहरुले कीर्तिपुरस्थित मैदानमा बोतल र ढुंगा प्रहार गर्न थाले। दर्शकको अभद्र व्यवहारका कारण खेल नै अवरुद्ध भयो। तर त्यहि खेल अवरुद्ध भएर दर्शक घर नपुग्दै एक समाचार आयो नेपाल फाइनलमा। आश्चर्य यो रह्यो की दर्शकको त्यहि हुल्याहा व्यवहार नै नेपाललाई फाइनल पुर्याउने कडी बन्यो।
अवरुद्ध ओभर घटाउँदा हार निश्चित भएको नेपाल फाइनल पुग्यो। अमेरिकाले ३३।३ ओभरमा लक्ष्य पूरा गरेपनि पराजित भयो। अमेरिकाका लागि नबिर्सने खेलका रुपमा रहँदा नेपालका लागि पनि ऐतिहासिक प्रतियोगिताका रुपमा यो खेल दर्ज भयो। नेपालले यहि प्रतियोगितामा इतिहास बनायो। यो प्रतियोगिता नै नेपालले आईसीसीको आधिकारीक प्रतियोगितामा उपाधि जितेको पहिलो प्रतियोगिताको रुपमा रह्यो।
दोहोरिएला विगत
अब शनिबार हुने खेलपनि नेपालका लागि इतिहास बनाउने अर्को अवसरका रुपमा रहेको छ। किनकि, नेपाल पहिलो पटक आफ्नो घरेलु मैदानमा एकदिवसीय मान्यताप्राप्त खेलमा प्रतिष्पर्धा गर्दैछ। त्यसैले, अमेरिकालाई हराएर घरेलु मैदानमा पहिलो एकदिवसीय जितको खोजीमा नेपाल रहेको छ। शनिबार हुने यो प्रतियोगिताले २०१० जस्तो तितो विगत नदोहोर्याएर नै जित आत्मसात गर्दै नयाँ इतिहास रच्ने विश्वास गर्न सकिन्छ। (थाहाखबरबाट)