इलाम । प्रदेश नम्बर एकका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले बंगलादेशसँगको व्यपार मात्रै गर्न सके आर्थिक समृद्धि हुने बताए । ‘१६ करोड जनसंख्या रहेको बंगलादेशमा ५ महिना झरीले उत्पादन हुँदैन् । हामीले त्यहाँ हरियो तरकारी मात्र निर्यात गर्न सक्यौ भने पनि एक नम्बर प्रदेशको अर्थतन्त्र बलियो हुन्छ ।’ मगरले भने । प्रदेश सरकारबाट गएका बर्षहरुमा वितरण हुँदै आएको अनुदानलाई परिर्वतन गरी प्रकृति हेरेर लागत सहभागीतालाई समेत ध्यानमा राखिने मगरले बताए ।
उनले अघिल्ला बर्ष लिएका अनुदानहरु फिर्ता गर्नु नपर्ने भएपनि अबबाट अनुदानको प्रकृति हेरेर प्रदेश सरकारको हिस्सा पनि राखिने बताए । उनले भने ‘ ५ लाख भन्द माथीका ५० लाखसम्मको अनुदानलाई आधा चक्रिय हिसाबले समयावधी तोकेर फिर्ता गर्नुपर्नेछ । ५ करोडका अनुदान लागत सहभागीतामा दिने र त्यसको लाभ प्रदेश सरकारले समेत पाउने गरि वितरण गर्ने लक्ष्य छ । यदपी अहिले विवादास्पद भएकाले विचाराधिन छ ।’
उनले एक नम्बर प्रदेशको हिमाली क्षेत्रका ३ जिल्लामा कृषि विशेष कार्यक्रम नभएकोमा चिन्ता व्यक्त गरे । गत साता प्रदेश नम्बर एकको मन्त्रीमण्डलमा राज्यमन्त्री थपिएका मगरले कृषि क्षेत्रमा ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा लक्षित कार्यक्रम आवश्यक रहेको धारणा राखे । उनले भने ‘ पश्मिना बर्को बनाउन प्रयोग गरिने च्याङग्राको रौ, परम्परागत खानाको कच्चा पर्दाथ जौ, कोदो लगायतका सामाग्रीहरु हिमाली क्षेत्रमा उत्पादन हुन्छ त्यसलाई प्रर्वद्धन गर्ने योजना आवश्य देखिन्छ ।’
राज्यमन्त्री बनेपछि गृह जिल्ला इलाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको कार्यक्रममा सम्मान थाप्दै मगरले आफु भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री भएपनि मन्त्री सरह अधिकार पाएको बताए । ‘ राज्यमन्त्री भएपनि आधिकारिक रुपमा लिखित नै मन्त्री सरहको जिम्मेवारी छ ।’ मगरले भने राज्यमन्त्री हुनुपुर्व नै प्रदेश सरकारबाट चालु आर्थिक बर्षको लागी बजेट विनियोजना भइसकेकाले नयाँ योजना छनौट गरेर फेरबदल हुन नसक्ने मगरले बताए । उनले भने ‘प्रदेशमा कृषि तथा सहकारीका लागी करिब १६० योजना रहेका छन् । १४ जिल्ला गरेर करिव १६ सय बढी निवेदन परेका छन् । त्यसम इलाम पनि अगाडी नै छ । ’ प्रदेशका योजनाहरु तराई र पहाडी जिल्लाहरुबाट बढी माग र केन्द्रित भएकाले हिमाली क्षेत्रले फाइदा लिन नसकेको उनले बताए ।

‘ अनुदान र बजेट विनियोजनामा झापा र मोरङपछि इलाम नै छ । इलाममा संभावना पनि छ र बजेट पनि त्यही अनुपातमा विनियोजन हुँदै आएको छ ।’ उनले भने ‘ प्रदेशमा हालको अवस्थामा कृषिको बजेट अनुदानमै मात्र वितरण हुँदै आएको छ । तालिम र कृषकको क्षमता अभिवृद्धिमा खर्च हुन सकेको छैन् ।’ कृषि तथा सहकारी क्षेत्रमा सरकारले दिएको अनुदानको उचित व्यवस्थापन हुन नसकेको मगरले बताए । उनले भुमी व्यवस्थामा हालसम्म केन्द्रिय सरकारले अधिकार नदिएको कारण ऐलानी जग्गा र वन क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनमा चुनौती देखिएको मगरको भनाई छ । उनले सहकारी रजिष्टारको कार्यालय स्थापना हुन नसक्दा प्रदेशमा रहेका सहकारीहरुलाई नियममा बाध्न समस्या रहेको बताए ।
मगरले अहिलेको अवस्थामा सहकारीहरु खुत्रुके व्यवसाय भन्दा माथी उठेर संस्थागत व्यसायिक बन्न नसकेको धारणा राखे । राज्यमन्त्री बनेपछि सहकारी व्यवस्थापन पहिलो प्राथमिकतामा राखेको मगरको भनाई छ । राज्यमन्त्रीसँगै नेकपाको इलाम जिल्ला नेतृत्व समेत काँधमा रहेकाले अनुकुलता मिलाएर पार्टीको कामलाई समेत चुस्त रुपमा अगाडी बढाउने मगरले बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका अध्यक्ष गणेश बरालले कृषि क्षेत्रमा इलाम अग्रणी भएपनि सिचाईको समस्याका कारण अपेक्षिकृत रुपमा सफलता हात पार्न नसकेको बताए ।
उनले इलामको कृषि विकासका निम्ती सिचाईका योजनाहरुलाई अगाडी बढाउन राज्यमन्त्री मगरलाई सुझाव दिए । त्यसैगरी नेकपा प्रदेश नं एककी सदस्य टिका घिमिरेले कृषिमा आधुनिकिकरण, यान्त्रिकरण र व्यवसायिकरणका योजनाहरुलाई प्राथमिकताका रुपमा राख्न सुझाव दिइन् । उनले मन्त्री मगर आफै पनि सहकारी अभियन्त भएकाले सुद्धढ योजना आउनेमा आशावादी रहेको बताइन् । कार्यक्रम नेकपा इलामकी सचिव सोममाया राई सिन्धुको अध्यक्षतामा भएको थियो ।