फिक्कल । प्रदेश १ मा पर्यटन प्रबर्द्धनका लागि पर्यटन नीति निर्माण गर्न प्रदेश सरकारले पहल थालेको छ। भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रदेश १ संसदीय समिति अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको पहलमा प्रदेश १ का १४ वटै जिल्लाका सरोकारवालासँग राय सुझाव लिई पर्यटन नीति निर्माण गर्ने कामको थालनी गरेको हो। समितिले प्रदेश १ का १४ वटै जिल्लाका स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख सहित पर्यटन सँग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधि र इलामका प्रदेश सांसदसँग अन्तरक्रिया गरी सुझाव लिने काम गरेको छ।
प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले प्रदेश सरकार पर्यटन र कृषि क्षेत्रको विकासमा केन्द्रित भएको बताइन्। ‘अब बन्ने कार्यक्रममा आवश्यकता के हो तरु पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नका निम्ती पहिले कुन कानुन अथवा विधेयक बनाउदा उपयुक्त हुन्छ। त्यसको आधारमा हामी हिडने हो ? ’ उनले भनिन्। उक्त कार्यक्रममा अधिकांश सरोकारवालाले प्रदेश सरकारले पर्यटन नीति नबनाउदा पर्यटन प्रबर्द्धनमा समस्या भएकाले चाडो पर्यटन नीति निर्माण गर्न सुझाव दिएका थिए। क्रस बोर्डरका कारण पर्यटक समस्यामा पर्ने गरेकाले क्रस बोर्डर नीति आवश्यक रहेको सहभागीको जोड थियो।
झापाका पर्यटन व्यवसायी अजुर्न कार्कीले क्रस बोडर समस्याका कारण प्रदेश १ मा अपेक्षाकृत रुपमा पर्यटन विकासले गति लिन नसकेको बताए। उनले प्रदेश १ मा मुख्य नाका पशुपतीनगर, काँकडभिट्टा र जोगवनी भएर आउने पर्यटक क्रम बोर्डर नीतिको अभावमा सास्ती व्योहोर्नुको विकल्प नरहेको बताए। कार्यक्रममा सुझाव राख्दै कोशी एड्भेन्चर प्रालिका राम श्रेष्ठले भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न प्रदेश सरकारले नीति बनाएर तमोरमा र्याफटिङ संचालनको वातावरण बनाउन आग्रह गरे। मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन विकास समिति इलामका निवर्तमान कार्यकारी प्रमुख केशव धौरालीले स्थानीय सरकारले उच्च पहाडी क्षेत्रमा निर्माण गरिएका पदमार्गमा समेत डोजर लगाएर समस्या निम्त्याएको बताए।
रोङ गाउँपालिका अध्यक्ष शम्शेर राईले स्थानीय तहबिचको समन्वय अभाव रहेको बताए। उनले भने, ‘एक स्थानीय तह र अर्कोको नीति फरक फरक हुँदा पर्यटनमा समेत असर परेको छ।’ उनले प्रदेश एक भरीको पर्यटन नीति एकै प्रकारको बनाउन आग्रह गरे। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले सरकारको अर्थ नीति स्पष्ट नहुँदा नेपाली अर्थतन्त्र धरासायी बन्दै गएको बताए। उनले सीमा क्षेत्रमा अवैध रुपमा सामग्री आयात गर्दै बजार फस्दाउँदै गएकाले अब भन्सार दर घटाएर सहज रुपमा व्यापार व्यवसाय संचालनका लागि सरकारले चासो दिनुपर्ने बताए।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख भगी चाम्लिङले पर्यटन प्रवर्द्धनको नीति निर्माणमा ढिलाई हुँदा पर्यटन शीर्षकको बजेट आनावश्यक क्षेत्रमा खर्च भइरहेको बताए। उनले एकीकृत नीति बनाएर हिमालय पर्यटनलाई प्राथमिकतामा राख्न सुझाव दिए। ‘ तेश्रो मुलुको पर्यटक एडभेन्चर टुरिजम रुचाउँछन्। त्यसमा हाम्रो जोड हुनुपर्छ’ उनले भने। छलफलमा सुझा राख्दै होटल ब्यवसायी संघ इलामका अध्यक्ष देवि पौडेलले हवाई मार्गमा आउनेलाई मात्र पर्यटकको रुपमा गणना नगरी इलामसहित पूर्वी पहाड जिल्लाका सीमा हुँदै आउनेलाई पनि भ्रमण वर्षको लक्ष्यमा समावेश गर्नुपर्ने माग गरे। उनले भने, ‘ २४ घण्टा बिताउने गरी आएका ब्यक्तिलाई पर्यटकमा गणना गरिनुपर्छ।’
सरकारसँग होमस्टे संचालनको नीति अभावमा होटल र होम स्टेमा कुनै फरक नदेखिएको बताए। उनले होम स्टे संचालन कार्यविधि २०६७ लाई हुवहु नै मस्यौदा बनाएकोले त्यसमा परिमार्जन गर्नुपर्ने बताए। ‘समय अनुसार परिमार्जन गर्दै केही थपघट गर्नुपर्नेमा प्रदेश सरकारले जस्ताको तस्तै मस्यौदा बनाएको छ।’ प्रदेश १ मा रहेका २२३ वटा होम स्टेमा एक पटकमा ४ हजार बढी पर्यटकलाई सेवा दिने क्षमता भए पनि नीति अभावमा समस्या भइरहेको बताए। कार्यक्रममा प्रदेश सांसद राम रानाले पर्यटन नीति बनाउने बेला सम्ममा कार्यविधिसम्म बन्न नसकेको बताए। उनले विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि मौलिक संस्कृति र परम्परालाई संस्थागत गरेर संरक्षण गर्नुपर्नेमा जोड दिए।
प्रदेश १ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका सचिव संजिव राईले सरोकारवालाले राखेका जिज्ञासामाथि टिप्पणी गर्दै आगामी दिनमा प्रदेश सरकारले नीति निर्माण गरेर पर्यटन क्षेत्रको विकासमा लाग्ने बताए। उनले प्रदेश १ का १४ जिल्लामा चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक अर्व ५१ करोड रुपैयाँ रकम पर्यटन क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि विनियोजना गरेर काम अगाडि बढाइरहेको जानकारी दिए। कार्यक्रममा आएका सुझावमाथि टिप्पणी गर्दै उच्च स्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष कासीराज दाहालले पर्यटनको बिकास गर्न सौन्दर्यता जोगाउनु पर्ने बताए। इलामपछि प्रदेश सरकार मातहतको उद्योग, पर्यटन तथा वातावरण समितिले धनकुटा उदयपुर, सोलुखुम्बु लगायतका जिल्लामा पनि पर्यटन नीति निर्माणका लागि छलफल गर्ने समितिका सचिव जय अधिकारीले जानकारी दिए। संघीय सरकारले भ्रमण वर्ष २०२० का लागी घोषणा गरेको १ सय गन्तव्य मध्ये प्रदेश १ मा १६ वटा रहेका छन्। इलाममा कन्याम–फिक्कल–अन्तु र सन्दकपुर गरी २ वटा गन्तव्य समेटिएका छन्।