Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

 इलाममा भारतीय पर्यटक टिकाउनै चुनौती

 इलाममा भारतीय पर्यटक टिकाउनै चुनौती

  • नमीन ढकाल
  • बिहिबार, पौस १७ २०७६


 इलाममा भारतीय पर्यटक टिकाउनै चुनौती

इलाम । इलाममा सबैभन्दा बढी पर्यटक छिमेकी मुलुक भारतबाट आउँछन्। दैनिक जसो पशुपतीनगर नाका हुँदै १ हजारको संख्या पर्यटकहरु नेपाल भित्र्ने गरेका छन्। तर उनीहरुलाई टिकाउनु मुख्य चुनौती देखिएको छ। नेपाली नम्बर प्लेटका भन्दा पनि बढी भारतिय नम्बर प्लेटका गाडी पशुपतीनगर बजारमा बढी भेटिन्छन्।
यातायात व्यवसायी समेत रहेका पशुपतीनगरका स्थानीय मिलन क्षेत्री औषत १ हजार आएपनि लामो समय टिकाउन समस्या रहेको बताउँछन्। ‘दार्जिलिङ भ्रमणमा आउने पर्यटकहरुको एउटा पोइन्ट नेपाल–भारत सिमाना र पशुपतीनगर बजार हो। तर उनीहरुले एक घण्टा भन्दा बढी यहाँ बिताउन पाउँदैनन्।’ नेपालबाट पहल गरेर कम्तिमा एक दिन नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउन सके भ्रमण बर्षमा ५ लाख बढी पर्यटक पशुपतीनगर हुँदै फिक्कल र कन्यामसम्म घुम्न सक्ने क्षेत्री बताउँछन्।
नेपालको तर्फबाट प्याकेज बनाएर नै पर्यटकहरुलाई आर्कषित गर्नुपर्ने उनको तर्क छ। ‘प्याकेज बनाएर पर्यटकहरु ल्याउन सक्नुपर्छ। बंगालीहरु चिसो र हुस्सु मनपराउने भएकाले उनीहरुको लागी इलामको मौसम एकदम उपयुक्त छ। ’ उनी भन्छन् ‘हुस्सु लागेको बेला पशुपतीनगरका जताजतै फोटो खिच्दै गरेको भेटिन्छ।’ पहिलो दिन भारतीय पर्यटकको चाप भ्रमण वर्षको पहिलो दिन तुलनात्मक रुपमा पशुपतीनगर बजार र कन्याम क्षेत्रमा भारतीय पर्यटकको चाप बढी थियो। व्यवस्थित पार्किङस्थल नहुँदा सडकका दायाँ बायाँ भारतिय नम्बर प्लेटका गाडीहरु राखिएका थिए।


बिहानैदेखि पशुपतीनगर भन्सारमा गाडीको भन्सार काट्नेहरुको लर्को थियो। कर्मचारीहरु समेत विहान ८ बजेबाट भ्याई नभ्याई रसिद काटेर दिँदै थिए। कोही भन्सार काट्नेहरुलाई लाइनमा मिलाउनमै व्यस्त भेटिए। प्रदेश नम्बर एकको एक मात्र पर्यटकिय नगरी सूर्योदयको कन्याम र नेपाल– भारत सीमा बजार पशुपतीनगरमा भ्रमण वर्षको पहिलो दिन ५ हजार बढी पर्यटकले भ्रमण गरे। कन्यामको हरियो चिया बगानलाई चिरेर गएको मेची राजमार्गको दायाँ बायाँ वनभोज र घोडचढीका साथै जातिय पहिरनमा रमाउन भारतीय पर्यटक पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गरेका हुन्। पशुपतीनगर बजारमा भेटिएकी मुम्वईकी ममता घोष साच्चै नेपाल सुन्दर रहेको बताउँछिन् । ‘नेपालको चिया बगान राम्रो छ। यहाँको चिसो मौसमले मलाई आर्कषित गर्‍यो।’ भ्रमणको लागि सिक्किम हिडेकी उनी नेपालमा स्वर्गिय आनन्द रहेको बताउँछिन्।
उदाउँदो सूर्योदयको दृश्य हेर्न अन्तु पर्यटकीय क्षेत्रमा पनि प्रायः भारतीय पर्यटककै भीड रहेको थियो। भारतमा नयाँ वर्ष पर्वकै रुपमा मानिने भएकाले पर्यटकहरु ‘ह्याप्पी न्यू इयर २०२०’ को व्यानर टासेरै आफ्नै सवारी लिएर भ्रमणमा आएका हुन्। नेपाल– भारत सीमाको क्षेत्र गुफापातलमा भ्रमण वर्षको स्वागतका लागि आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी धेरै जसो भारतीय नै थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार