इलाम । चियाको राजधानी सूर्योदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिकाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा भएको समझदारीमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन । देशकै सुविधासम्पन्न र नमूना केन्द्रको रुपमा स्थापना हुने यसले देशकै चिया विकासमा ठुलो टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा पनि भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार कृषि क्षेत्रको विकासमा लागेको सन्देश प्रवाहित भएको समेत उल्लेख गरे । कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ७० प्रतिशत अर्थोडक्स चिया उत्पादन गर्दै आएको टि टेस्टिङ सेन्टर निर्माणपछि चियाको बजारिकरण प्रवद्र्धनमा उल्लेख्य उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । सूर्योदय नगरपालिकामा वार्षिक करिब ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ । केन्द्र स्थापना गर्न करिब २३ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ । यसको विस्तृत परियोजना पछि सार्वजनिक गरिने सचिव निर्मलले बताए । २ बर्षभित्रमा केन्द्र निर्माण हुने छ ।भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक बर्षमा चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र स्थापनाका ५ करोड रुपैया उपलव्ध हुनेछ ।