इलाम, । इलामको इतिहास बोकेको सेनाको निसानी माइस्थानमा फर्किन भएको छ । आगामी असार २३ गते बैदिक विधी अनुसार निसानलाई माइस्थानमा मन्दिरमा पुर्नस्थापित गरिने भएको छ । सुगौली सन्धीपछि नेपाल पक्षले जितेको भु–भाग छाडदै आउने क्रममा वि.स १८७५ मा इलाममा बसेको श्री नाथ गुल्मको पल्टनको निसान वि.स २०५९ साल बैशाख २६ गते सुरक्षाको कारणले तत्कालिन भवानी दल गणको सरुवा हुँदा काठमाण्डौ लगेको थियो ।
निसानी इलाममै पुर्नस्थापनाको माग गर्दै इलामे जनताहरुले सेनालाई आग्रह गरेपछि निसान पुनः माइस्थानमा नै स्थापना गरिने भएको हो । निसानी राख्नका लागी माइस्थान धार्मिक विकास क्षेत्रले १३ लाख रुपैया बढी खर्चमा निसान घरका पुर्ननिर्माण गरेको छ । सगौली सन्धी अघि टिस्टासम्मको एकिकरण गरेको भु– भाग हेर्नका लागी नागरीमा श्रीनाथ गणले झन्डै ४० बर्ष गढी स्थापना गरेको इतिहासविद युद्धप्रसाद बैद्यले बताए । उनले भने ‘सन १८१६ मा सुगौली सन्धीको धारा ३ बमोजिम नेपालको सिमाना मेची नदिसम्म कायम भएपछि हाल भारतको मिरिकमा पर्ने नागरी गढी छाडेपछि श्रीनाथ गण (पुरानो) ले वि.स १८७२ मा करफोकको पुर्णे डाँडामा केही समय बसेपछि उपयुक्त स्थान खोज्दै वि.स १८७५ मा इलाम सदरमुकाममा गढी स्थापना गरी बसेको प्रमाण भेटिन्छ’ ।
आगामी २०७५ सालमा इलाममा निसान स्थापनाको २ सय बर्ष पुग्ने बैद्यले बताए । उनले भने ‘ नेपालले टिस्टासम्म जितेको प्रमाण नै निसानी भएकाले आगामी सन्ततीलाई प्रमाणको रुपमा देखाउनका लागी निसानी इलाममा पुनः स्थापनाका लागी पहल गरिएको हो ।’
निसान असार २३ गते १ बजेर ५ मिनेटमा काठमाण्डौबाट हेलिकोप्टर मार्फत ३ बजेर १५ मिनेटमा इलामको टुडिखेलमा ल्याइ विधि विधानका साथ माइस्थानमा भित्र्याइने साइत रहेको धार्मिक विकास समितीका सहसचिव टेकप्रसाद रञ्जितकारले बताए । निसानपछि टिस्टासम्म किल्ला पु¥याउदाँको समयको तोप समेत ल्याइने भएको छ । निसानसँग ल्याइने ऐतिहासिक सामाग्री सुरक्षाको लागी १२ जना सैनिक टुकडी समेत रहनेछ ।