इलाम । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश विकासका लागी कृषि, पर्यटन र जलश्रोतलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए । प्रदेश एक कृषि, पर्यटन र औधोगिक क्षेत्रको हिसाबले अथाह संभावना रहेकाले सो क्षेत्र लगानीको पहिलो प्राथमिकतामा राखिएको बताए । उनले प्रदेश नम्बर एक चियामा मात्र नभई अलैची र रुद्राक्ष जस्ता कृषिजन्य बस्तुको समेत राजधानी भएको बताए ।
सुर्योदय नगरपालिकाको आयोजनामा भएको प्रथम सुर्योदय नगर पर्यटन महोत्सव उद्धघाटन समारोहलाई सम्वोधन गर्दै राईले ओलाङचुङगोला र किमाथाङका नाका प्रदेश नम्बर एकको मेरुदण्ड भएको बताए । भारतको ३ वटा प्रदेश र चीनसंग समेत प्रदेश नम्बर एक जोडिएकोले उत्तर– दक्षिणको सम्वन्धलाई समेत सहयोग पुग्ने राईले बताए । उनले गाउँमा बस्ने तल्लो तहका जनताको अधिकार र मागलाई सिंहदरबारले सम्वोधन गर्न नसकेको कारण संघियताको परिकल्पना गरिएको बताए ।
प्रदेश विकास समृद्धिको ५ बर्षे योजना र निती निर्माण गरिएको उल्लेख गर्दै उनले हिमाल पहाड र तराई जोडिएको यो प्रदेश सवै क्षेत्रबाट सम्भाव्यता खोजिका लागी महत्वपुर्ण हुने बताए । लामो समयको प्रयासपछि मुलुक संघियतामा प्रवेश गरेर स्थायी सरकार आएकाले विकास र समृद्धिमा फडर्को मार्ने बताए । ४ दिनसम्म चल्ने महोत्सवमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । नगरका ६ स्थानमा चल्ने महोत्सवमा स्थानिय परिकार र कला संस्कृतिको प्रर्वद्धन गरिने छ । महोत्सव उद्धघाटनको पुर्वसन्ध्यामा मुख्यमन्त्री राईले श्रीअन्तुमा रहेको अन्तु पोखरीमा फिसिङका साथै लोपोन्मुख लेप्चा जातीको संग्राहलय पनि उद्धघाटन गरे ।