इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा कृषि तथा पशु बिज्ञान (वागवानी संकाय) मा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीले आफना मागको सुनुवाई नभएको भन्दै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेका छन । पटक पटक आफना समस्या समाधान गर्न माग गर्दा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै उक्त संकायका बिद्यार्थीले आज दिउसो क्याम्पस प्रमुख राम प्रसाद गुरागाई र सहायक क्याम्पस प्रमुख पुर्ण ढुङगाना र पुष्प ढुङगानालाई कार्यकक्षमा थुनेका हुन ।
उक्त संकायको तेस्रो बर्ष उर्तिण पश्चात कृषि तथा पशु बिज्ञानमा स्नातकोत्तर तह पढन पाउनु पर्ने र लोक सेवाको परिक्षामा समावेस हुन पाउनु पर्ने अधिकारबाट क्याम्पसले बञ्चित गराएको भन्दै बिद्यार्थी आन्दोलित बनेका हुन । क्याम्पस प्रशासनले बिभिन्न बहानामा पटक पटक अध्ययन संस्थानलाई देखाउदै अनाधीकृत रुपमा बिद्यार्थीबाट शुल्क असुलेको आरोप समेत बिद्यार्थीले लगाएका छन । परिक्षा शुल्क बापत हरेक शैक्षिक सत्रमा ८ हजार ५ सय तिर्दै आएको भए पनि हाल आएर परीक्षा शुल्कमा ५ सय बृद्धि गरिएको बिद्यार्थीले जनाएका छन ।
क्याम्पसले मौका परीक्षामा ३ हजार ५ सय बाट बढाएर ४ हजार पु¥याएको छ । बिद्यार्थीले उक्त संकायको पाठयक्रम राजपत्र अनंकीत हुनु पर्ने, रामपुर क्याम्पसमा स्नातकोत्तरमा प्रवेश परिक्षा दिन पाउनु पर्ने , लोक सेवाको परीक्षामा सहभागी बन्न पाउनु पर्ने माग गरेका छन । क्याम्पसको पहल नहुँदा उक्त संकाय उर्तिण बिद्यार्थीले प्रदेश तथा स्थानीय तहका बिभिन्न कोटाका परीक्षामा बञ्चित भएको विद्यार्थीहरुको आरोप छ ।
बिद्यार्थी किशोर आचार्यले आफना माग पुरा नभए सम्म आन्दोलन नरोक्ने बताए । उनले पहिला ५ वटा बिषयमा लोकसेवा र स्नातकोत्तरमा अध्ययन पाउने भएपनि क्याम्पसको पहल नहुँदा बागवानी बाहेक अन्यमा बञ्चित भएको बताए । यता क्याम्पस प्रमुख गुरागाईले आफुहरु थुनिएको पुष्टि गर्दै बाहिर छलफल भइरहेको र छलफलबाटै समस्याको समाधान खोजिने लाेकल सन्देशलाइ बताए ।