Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल

सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक २४ २०७६


सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल

काठमाण्डाै ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताए। नेकपा काठमाडौं महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर शनिबार वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताए।
हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उनले नेपाली भूमिको अतिक्रमण कुनै पनि नेपालीले सहन नसक्ने उल्लेख गरे। ‘लिम्पियाधुराबाट शुरु भएको महाकाली नदी नेपालको पश्चिमी सिमाना हो’ उनले भने, ‘यसलाई एकपक्षीयरूपमा परिवर्तन गर्ने अधिकार भारत सरकारलाई छैन।’ भारतको एक इन्च भूमि नेपाललाई नचाहिने र नेपालको एक इन्च भूमि पनि नछाडिने उनले प्रष्ट पारे।
नयाँ सरकार बनेको एक वर्षको अवधिमा संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्दा जनताको आकांक्षाअनुसार काम हुन नसकेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे। उनले कमीकमजोरीलाई सच्याएर प्रभावकारी ढंगबाट सरकारका काम कारवाही अगाडि बढाउन सुझाव दिए। नेपाल संवत् सिंगो देशको संवत् भएको उल्लेख गर्दै नेता खनालले नेपाल संवत् नेपाली जनताको साझा सम्पत्तिका रुपमा रहेको बताए। ‘नेपाल संवतलाई सरकारले राष्ट्रिय संवतका रुपमा मानेको छ’ उनले भने, ‘यसलाई दैनिक जनजीवनमा प्रयोगमा ल्याउने अभियान चलाउनुपर्छ।’
कार्यक्रममा महानगर कमिटी इन्चार्ज जीवनराम श्रेष्ठले नेपाल संवत्को व्यवहारिक कार्यान्वयनमा वर्तमान सरकार र नेकपाको पूर्ण साथ तथा सहयोग रहेको बताए। नेकपाका सचिवालय सदस्य वामदेव गौतम, कामपाका प्रमुख विद्यासुन्दर शाक्यलगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो। सो अवसरमा नेपाली कला, संस्कृति झल्कने बाजागाजा, नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार